Comments Add Comment

रामेछापमा जगदीश घिमिरेको स्मृति

रामेछाप । वरिष्ठ साहित्यकार तथा समाजसेवी जगदीश घिमिरेको पाँचौँ वार्षिक स्मृति दिवस उनको जन्मथलो रामेछापको मन्थलीमा मनाइएको छ ।

नेपाली साहित्यमा आख्यान विधामा ख्यातिप्राप्त घिमिरेको २०७० साल कात्तिक १४ गते माइलोमा क्यान्सरको कारण ६८ वर्षको उमेरमा मृत्यु भएको थियो । उनको कृति अन्तरमनको कथाले मदन पुरस्कार प्राप्त गरेको थियो । यसैगरी सकस उनको अर्को बहुचर्चित आख्यान हो । यस बाहेका लिलाम लगायतका उपन्यासहरु पनि त्यतिकै चर्चित थिए ।

तत्कालीन समयमा घिमिरे विभिन्न पत्रिकाहरुको स्तम्भकारको रुपमा समेत चर्चित थिए ।

साहित्यको क्षेत्रमा मात्र नभई उनको सामाजिक क्षेत्रमा पनि ठूलो योगदान रहेको छ । गैरसरकारी संस्था महासंघ नेपालका संस्थापक अध्यक्ष रहेका घिमिरेले रामेछापको मन्थलीमा २०४५ सालमा तामाकोसी सेवा समिति नामको गैरसरकारी संस्था स्थापना गरी रामेछाप जिल्लामा स्वास्थ्य, खानेपानी, शौचालय निर्माण, शिक्षा र सिंचाइमा उल्लेख काम गरेका थिए ।

आयआर्जनको लागि टेवा पुर्याउन उनले सुरु गरेको गाउँगाउँमा समूह निर्माण र बचत संकलनको कामले सहकारीको विकास भई रामेछापको सहकारीको क्षेत्रमा क्रान्ति नै भएको छ । उनले मन्थलीमा स्थापना गरेको मन्थलीको तामाकोसी सहकारी अस्पताल अहिले यो क्षेत्रका राम्रो सेवा प्रदान गर्ने संस्था भएको छ ।

घिमिरेले नै सुरु गरेको मन्थली बचत तथा ऋण सहकारी संस्था नेपालका १० वटा ठूला सहकारी मध्यमा पर्दछ । जसका शेयर सदस्य १२ हजार भन्दा बढी पुगेका छन् ।

घिमिरेले स्थापना गरेको तामाकोसी सेवा समितिले आयोजना गरेको स्मृति सभा संस्थाका उपाध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा भएको थियो । जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, राजनीतिक दलका नेताहरु तथा सामाजिक अगुवाले रामेछाप र नेपालको सामाजिक तथा साहित्यिक क्षेत्रमा घिमिरेको योगदानको चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment