Comments Add Comment

मन्त्रीको मनपरीः सरकारी खर्चमा साथीको छोरीको जन्मदिन

१७ कात्तिक, काठमाडौं । शनिबार प्रकाशित पत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएको, प्रदेश ३ का मन्त्री केशव स्थापित बर्खास्त भएको, नेपाली कांग्रेसको चियापान कार्यक्रम लगायतलाई नै प्राथमिकताका साथ छापेका छन् । यस बाहेक शनिबारीय अंकसहित अन्य विषयका समाचारहरु प्रमुख हेडलाइन बनेका छन् ।

कान्तिपुर दैनिकले संविधानविपरीत नागरिकता विधेयकमा संशोधन प्रस्ताव ल्याइएको विषयलाई मुख्य समाचार बनाएर छापेको छ । संघीय संसदमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रमा बसोबास गर्ने गैरआवासीय नेपालीलाई समेत ‘गैरआवासीय नेपाली नागरिकता’ दिनुपर्ने संशोधन प्रस्ताव परेको छ ।

सांसदहरु प्रमोद शाह र एकवाल मियाँले राज्यव्यवस्था समितिमा संशोधन प्रस्ताव दर्ता गरेका हुन् । उक्त प्रस्ताव पारित भए भारतमा ठूलो संख्यामा रहेका नेपाली मूलका भारतीयले समेत त्यस्तो नागरिकता दाबी गर्न सक्ने र त्यसले मुलुकमा संकट ल्याउन सक्ने समाचारमा उल्लेख छ ।

‘सार्क राष्ट्रभित्र भारत पनि पर्छ र भारतमा नेपाली मूलका लाखौं मानिस बसोबास गरिरहेका छन्, तिनले भारतीय नागरिकताका साथै नेपालमा पनि गैरआवासीय नेपाली नागरिकताको सुविधा पाए भने यहाँको आर्थिक, सामाजिक र राजनीतिक सबै क्षेत्रमा ठूलो उथलपुथल आउँछ,’ कानुनसेवाका एक उच्च अधिकारीले कान्तिपुरसँग भनेका छन्, ‘संविधानले नै यस्तो परिकल्पना नगरेको हुनाले उक्त प्रस्ताव असंवैधानिक छ ।’

सरकारी खर्चमा साथीको छोरीको जन्मदिन

राजधानी दैनिकले कर्मचारीको वेथितीलाई मुख्य समाचार बनाएर छापेको छ । अनुगमनको बहानामा मन्त्रीहरुले चार महिनामा ४० लाख रुपैयाँ व्यक्तिगत घुमघाममै सकेका छन् । त्यतिमात्रै होइन मन्त्रीले सरकारी खर्च लिएर साथीको छोरीको जन्मदिनसमेत मनाउने गरेको पाइएको छ ।

‘कतिपय मन्त्रीले जिल्ला अनुगमनको नाममा रकम लिएर साथीको छोरीको जन्मदिन मनाउन जिल्ला गएको समेत भेटिएको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतलाई उद्धृत गर्दै राजधानी दैनिकले समाचार लेखेको छ ।

तर सरकारी खर्चबाट साथीको जन्मदिन मनाउने मन्त्री को हुन् भन्नेबारे भने समाचार मौन छ ।

सबैभन्दा बढी जिल्ला भ्रमणमा जाने र बढी खर्च गर्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ छन् । उनले चार महिनामा ४ लाख ५७ हजार ३१० रुपैयाँ सरकारी कोषबाट खर्च गरेका छन् ।

यसैगरी पर्यटन मन्त्री रवीन्द्र अधिकारीले जिल्ला भ्रमणमा २ लाख ९६ हजार ९७०, उद्योगमन्त्री मातृका यादवले २ लाख ५ हजार ४ सय, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले २ लाख १० हजार २५० रुपैयाँ, शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले २ लाख २४ हजार ८५ रुपैयाँ, कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनालले ९८ हजार २५० रुपैयाँ र महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले ८८ हजार ६५० रुपैयाँ सकेका छन् ।

यसैगरी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ९० हजार १ सय, श्रममन्त्री गोकर्ण विष्टले ६२ हजार १ सय रुपैयाँ सरकारी कोषबाट रकम खर्चेका छन् ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीको जिल्ला भ्रमणमा हवाई खर्च र सुरक्षाकर्मीको दैनिक भ्रमण भत्तामा ७ लाख ९१ हजार ६३२ रुपैयाँ खर्च भएको राजधानी दैनिकको समाचारमा उल्लेख छ ।

कांग्रेस महासमिति बैठक सर्ने

नागरिक दैनिकले कांग्रेस महासमिति बैठक सर्ने समाचार पहिलो पृष्ठमा छापेको छ । आवश्यक तयारी न पुगेको जनाउँदै कांग्रेसले महासमिति बैठक कम्तिमा मंसिर अन्तिम साताका लागि सार्ने तयारी गरेको समाचारमा उल्लेख छ ।

‘तिहारअघि बस्ने कांग्रेस केन्द्रीय समिति बैठकले मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंमा गर्ने तय भएको महासमिति बैठक सार्दै नयाँ मिति घोषणा गर्नेछ,’ समाचारमा लेखिएको छ, ‘महासमिति बैठकमा पेस गर्ने प्रस्तावहरु केन्द्रीय समितिबाट पारित गर्न केही समय लाग्ने र बीचमा तिहारसहितका महत्वपूर्ण पर्व परेकाले बैठक केही साता सर्ने नेताहरुले बताएका छन् ।’

६८ वर्षमा ७२ महिला मन्त्री

नयाँ पत्रिका दैनिकले ६८ वर्षको अवधिमा को-को महिला मन्त्री बने भनेर समाचार छापेको छ । समाचारमा लेखिएअनुसार नेपालमा ६८ वर्षको अवधिमा ७२ जना महिला मन्त्री बनेका छन् ।

नेपालको पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी हुन् । उनी २०१६ साल जेठ १३ गते वीपी कोइराला नेतृत्वको सरकारमा स्वास्थ्य तथा स्वायत्त शासन उपमन्त्री बनेकी थिइन् ।

तीन पटकसम्म मन्त्री बन्न पाउनेमा पाँच जना महिलामा सहाना प्रधान, हिसिला यमी, राधा ज्ञवाली र कमला पन्त छन् । यस्तै शैलजा आचार्य र सुजाता कोइराला उपप्रधानमन्त्री बन्ने दिदीबहिनी हुन् ।

विद्यादेवी भण्डारी भने नेपालकै पहिलो महिला राष्ट्रपति बनिन् । उनी दुई पटक मन्त्री र दुई पटक राष्ट्रपति बन्ने पहिलो नेपाली महिला हुन् ।

जनजाती समुदायबाट मन्त्री बनेको पहिलो महिला सरस्वती राई हुन् । उनी २०३४ सालमा कीर्तिनिधि विष्ट नेतृत्वको मन्त्रिपरिषदमा जल तथा विद्युत सहायक मन्त्री बनेकी थिइन् ।

मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा भने एक जना महिला पनि मन्त्री बन्न पाएनन् । अहिले केपी शर्मा ओली नेतृत्वको वर्तमान मन्त्रिपरिषदमा थममाया थापा, पद्मा कुमारी अर्याल, विना मगर र रामकुमारी चौधरी गरी चार जना महिला छन् ।

अन्नपूर्ण पोष्ट दैनिकले नियुक्ति र पदमुक्तिसम्बन्धी ५७ निर्णय कार्यान्वयन गर्न सर्वोच्च अदालतले सरकारलाई रोक लगाएको विषयलाई मुख्य समाचार बनाएर छापेको छ ।

यसैगरी गोरखापत्र दैनिकमा प्रधानमन्त्री ओली पूर्णस्वास्थ्यलाभ गरी डिस्चार्ज भएको विषय मुख्य समाचारको रुपमा छ । गोरखापत्रमै संघीय संसदका शून्य, विशेष समय तथा बिभिन्न छलफलमा सांसदहरुले मातृभाषामा राखेको धारणा लिखित रेकर्डमै नरहने गरेको समाचार छ ।

हेर्नुहोस् आजका पत्रिकाका फ्रन्ट पेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment