Comments Add Comment

प्रदेश ५ मा नेकपाको चियापानः आलोचक भन्छन्- संसदवादी दलको प्रोपोगाण्डा !

१७ कात्तिक, बुटवल । काठमाडौंमा ५० हजारलाई निम्ता दिएर भव्य  चियापान गरेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा पनि शनिबार मध्याह्न प्रदेशस्तरीय चियापान तथा सन्देश सभा कार्यक्रम आयोजना गरेको छ ।

विगतमा काठमाडौंमा मात्रै गर्दै आएको चियापानलाई नेकपाले अहिले प्रदेशस्तरमा पनि ठूलो धनराशी खर्च र शक्ति प्रदर्शनका रुपमा गर्न थालेपछि यसको आलोचना शुरु भएको छ । कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाबाट एक लाख कार्यकर्ता उतार्ने दावी सो पार्टीले गर्दै आएको छ ।

कार्यक्रमलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, नेता घनश्याम भुसाल, प्रदेश ५ इन्चार्ज एवं मुख्यमन्त्री शंकर पोखरेल लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री केपी ओलीले समेत सम्बोधन गर्ने भनिए पनि अस्वस्थताका कारण उनी नआउने निश्चित भएको छ ।

बुटवल मण्डपमा हुने यो कार्यक्रमको स्टेज र मञ्च निर्माण, कुर्सी, टेन्ट, यातायात व्यवस्थापन, चिया र चियासँग बाँडिने खाजाका परिकार, अन्य तयारी खर्च जोड्दा एक करोड रुपैयाँ भन्दा पुग्ने अनुमान गरिएको छ । काठमाडौंमा गरिएको चियापानमा ५० लाख खर्च भएको सो पार्टीले औपचारिक जानकारी दिएको थियो ।

कसले के भने ?

यस्ता कार्यक्रममा हुने खर्च उद्योगी, व्यवसायीसँग चन्दा वा सहयोग संकलन गरेरै गरिने हुँदा यसले अन्ततः महंगी र भ्रष्टाचारलाई प्रश्रय दिने लेखक तथा विश्लेषक मनिकर कार्की बताउँछन् । सरकारको नेतृत्व गरिरहेको दलका सामु धेरै कार्यभार छन् ।

पार्टीले चुनावमा गरेका प्रतिवद्धता र जनताका आकांक्षा अनुसार काम गर्न नसकेको त छँदैछ, यसबीचमा निर्मर्ला पन्त बलात्कार र हत्याका अपराधी सय दिनसम्म पक्राउ गर्न नसक्नु, महंगी आकाशिनु, सिण्डिकेट अन्त्य गर्ने निर्णयबाट पछि हट्नु, सुन तस्करीमा मुछिएकाले उन्मुक्ति पाउनु जस्ता घटनाक्रमले सरकारको चौतर्फी आलोचना भइरहेको छ । यस्तो अवस्थामा सरकारको नेतृत्वकर्ता दलले काठमाडौंमा नपुगेर पुनः प्रदेश प्रदेशमा शक्ति प्रदर्शर्नको शैलीमा चियापान कार्यक्रम आयोजना गर्नु काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर जस्तै भएको टिप्पणी भइरहेको छ ।

मानवअधिकारकर्मी एवं लेखक गणेश उचैले आफ्नो फेसबुकमा लेखेका छन्, ‘दुई तिहाई बहुमत प्राप्त सरकारको नेतृत्व गरेको दलको काम महंगी, भ्रष्टाचार, हत्या, हिंसा,बलात्कार नियन्त्रण गर्नु हो कि चियापानका नाममा शक्ति प्रदर्शन र फजूल खर्च गर्दै हिँड्नु ?’

नेकपा निकट बुटवलका पत्रकार एनबी कंडेलले सत्तारुढ नेकपाको चियापानलाई काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिरको संज्ञा दिन्छन् ।  जनताको अपेक्षा अनुसार काम गर्न चुकिरहेको अवस्थामा यसरी ठूलो धनराशी खर्चेर चियापान गर्दै हिँड्नु उचित नभएको उनको तर्क छ ।

न्यू होराइजन माविका गणित शिक्षक विष्णुप्रसाद बस्याल फेसबुकमा लेख्छन्- जनताका काम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न चासो छैन, कार्यकर्ताका टाउको देखाएर लोकप्रियता देखाउन लाखौं खर्च गरेर शहर शहरमा चियापान गर्दै हिँड्नु जायज लागेन ।’

रुपन्देहीको तिलोत्तमाका कांग्रेस कार्यकर्ता जगत पौडेल सत्तारुढ दलले लाखौं खर्चेर ठाउँठाउँमा चियापान गर्नु सरकारको खर्च कटौति र मितव्ययी नीति विपरित भएको बताउँछन् ।

भैरहवाकी गोमा काफ्ले चियापानमा बसबसबाट मान्छे ओसार्नुको साटो तिनलाई धान काट्न वा अरु खेतीपातीको काम गर्न दिएमा फलदायी हुने विचार राख्छिन् ।

होटल व्यवसायी रामप्रसाद गौतम चियापानका नाममा गरिने लाखौं रकम कुनै उद्योग व्यवसायमा लगानी गरे रोजगारी सिर्जना हुने र सरकारले भन्दै आएको समृद्धिमा योगदान पुग्ने धारणा राख्छन् ।

युवा व्यवसायी राम तिवारी जताततै कर बढाएको सरकारले ब्यापारीलाई बोलाएर चिया खुवाएर नेतासँग फोटो खिचाएर मख्ख पार्न खोजेको अनुमान गर्छन् ।

शिक्षक गुणाखर भट्टराई नेकपाको चियापान र शक्ति प्रदर्शनलाई सरकारका कामबाट असन्तुष्ट कार्यकर्ता अनि जनतालाई भीड देखाएर थामथुम पार्ने संसदवादी दलको प्रोपोगाण्डाको रुपमा लिन्छन् ।

अन्य धर्मावलम्बीलाई विभेद गरेको आरोप

यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीका युवा नेता शंकर गाहा सत्तारुढ दलले धर्म निरपेक्षताको मर्म विपरित हिँड्नु धर्मावलम्बवीले मनाउने चाडलाई मात्र लक्षित गरी कार्यक्रम गर्नुले अन्य धर्मावलम्बीलाई विभेद र अपमान गरेको तर्क गर्छन् ।

‘नेपालीका चाड दशैं, तिहार, नेपाल सम्वत र छठ मात्रै हुन् ? अरु चाडपर्व छैनन् ?’ अरु चाडपर्वको नाम समेत नलिएकोमा गाहाले आपत्ति जनाउँदै भने ।

नेकपाका अधिकांश नेता कार्यकर्ताले भने चियापान चाडपर्वका अवसरमा शुभकामना आदानप्र्रदान गर्ने र सामाजिक सदभाव झल्काउने कार्यक्रम भएको भन्दै बचाउ गरेका छन् ।

कार्यक्रमको सुरक्षाका लागि बुटवल मण्डपमा मात्रै दुई सय भन्दा बढी प्रहरी खटिँदै छन् । रुपन्देही प्रहरी प्रमुख एसपी हृदय थापाका अनुसार इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लको नेतृत्वमा दुई सय जना जनपथ प्रहरी र आवश्यकता अनुसार सशस्त्र प्रहरी समेत परिचालन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment