Comments Add Comment

भारतबाट विराटनगरमा ल्याइयो रेलको इन्जिन

१८ कात्तिक, मोरङ । निर्माणाधीन विराटनगर बनथाह रेल्वे लिकमा रेलको इन्जिन परीक्षण गरिएको छ । आइतबार भारतको बथनाहाबाट विराटनगर कस्टम यार्डसम्म पहिलो पटक रेलको इन्जिन परीक्षण गरिएको हो ।

भारततर्फ ५ र नेपाल तर्फ ३ किलोमिटर यात्रा तय गर्न इन्जिनलाई १ घण्टा लागेको थियो । निर्माणाधीन रेल्वे परियोजनाको पहिलो चरणमा नेपाल र भारततर्फ जम्मा ८ किलोमिटर क्षेत्रको काम अन्तिम चरणमा छ । डेढ महिनाभित्र काम सम्पन्न गरी क्षेत्र हस्तान्त्रण गर्ने तयारी भएको भारतीय निर्माण कम्पनी इरकोनका सहायक महाप्रबन्धक नागेन्द्रकुमारले जानकारी दिए ।

भारत बथनाहादेखि विराटनगर हुँदै कटहरी गाउँपालिका-२ सम्मको रेलवेको १८.१ किलोमिटर लम्बाइ छ । सोमध्ये ८ किलोमिटर क्षेत्रमा काम केन्दि्रत गरेको ठेकेदार कम्पनी इरकोनले हुलाकी मार्गको कटहरी क्षेत्रसम्म माटो भर्ने काम सकेको छ ।

हुलाकी राजमार्गसम्म रेल्वेको ट्रयाक खोलिए पनि राजमार्ग उत्तर जग्गा मुआब्जा विवादका कारण भारतीय कम्पनीलाई हस्तान्त्रण भएको छैन । जग्गा उपलब्ध नभएका कारण काम सम्पन्न गर्न समय लागेको बथनाह विराटनगर रेल्वे प्रोजेक्टका प्रमुख अश्विनीकुमारले बताए ।

नेपाल तर्फबाट जग्गा हस्तान्त्रण हुनासाथ काम सुरु गर्ने बताउँदै उनले डेढ बर्षको अवधीमा सबै काम सम्पन्न गर्ने योजना रहेको बताए ।

डिसेम्बर १२ तारिखमा जनकपुर-जयनागर क्षेत्रको रेल्वे उद्घाटन गर्ने तयारी गरिएको छ । सोही दिन बथनाहदेखि नेपाल तर्फको विराटनगर कष्टम यार्डसम्म उद्घाटन गरिने छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा दुबै तर्फको रेल उद्घाटन गर्ने तयारी भएको छ । रेल सञ्चालन भएपछि यात्रु र ब्यापारमा सहज हुने विराटनगर १८ का वडा अध्यक्ष सञ्जयकुमार साह बताउँछन् ।

बल्ल जग्गा हस्तान्तणको तयारी

भारत बथनाह-विराटनगर रेल्वे परियोजना अन्तरगत रंगेली रोड उत्तर तर्फको काम सुरु गर्न ठेकेदार कम्पनीलाई जग्गा हस्तान्तणको तयारी थालिएको छ । जग्गा मुआब्जा विवादका कारण काम अघि बढ्न नसकेको क्षेत्रमा काम सञ्चालनका लागि जग्गा ठेकेदार कम्पनीलाई हस्तान्तणको तयारी थालिएको हो ।

हाल विराटनगर बथनाहदेखि कटहरी-२ हुलाकी राजमार्गसम्म ट्रयाक खोलिएको छ । तर हुलाकी मार्ग उत्तरतर्फ जग्गा मुआब्जा विवादका कारण रेल्वे लाइनको काम सुरु हुन सकेको थिएन । हुलाकी मार्ग उत्तर क्षेत्रमा १५ जना जग्गाधनीले मुआब्जा लिएका छैनन् ।

जिल्ला प्रशासन कार्यालय मोरङले अन्तिम पटक सूचना निकालेर १५ दिनभित्र मुआब्जा बुझ्न नआए कानुन अनुसार जग्गा अधिग्रहण गरी परियोजना निर्माण गर्न भारतीय ठेकेदार कम्पनीलाई जग्गा हस्तान्तण गर्ने तयारी थालेको छ ।

‘अझै केही जग्गा धनीहरुले मुआब्जा लिन आउनु भएको छैन’ मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले भने ‘१५ दिने सूचना निकालेका छौ । यो अवधीमा आउनुभएन भने अधिग्रहण गरिएको जग्गामा काम सुरु गर्छाै । जग्गा धनि आउदा पछि मुआब्जा दिन्छौ ।’ मुआब्जा लिन नआए पनि सरकारले काम अघि बढाउने उनले बताए ।

भारतको बथनाहदेखि विराटनगरसम्म निर्माण गरिने रेलको लम्बाइ १८ किलोमिटर छ । जसमध्ये १३.१ किलोमिटर नेपाल तर्फ पर्छ ।
रेलको इन्जिन परीक्षण गरिएको स्थान नजिकै एकिकृत भन्सार जाचँ चौकी निर्माणाधीन अवस्थामा छ ।

६ बर्षअघि कटहरीदेखि बथनाहसम्म १८ किलोमिटर क्षेत्रमा रेलमार्ग निर्माणको ठेक्का लिएको भारतीय इरकोण इन्टरनेसनलले ८ किलोमिटर क्षेत्रमा रेलको लिक बिच्छयाएको छ । अझै १० किलोमिटर क्षेत्रमा लिक बिच्छयाउन बाँकी छ । जग्गा हस्तान्तरण नभएका कारण १.८ किलोमिटर क्षेत्रमा ट्रयाक खोल्ने काम अघि बढेको छैन ।

सरकारले नेपाल तर्फको १३. १ किलोमिटर क्षेत्रकालागि १ सय १९ विघा जग्गा अधिग्रहण गरेको थियो । अधिग्रहण गरिएको ५७६ कित्ता जग्गामध्ये करिब १५ कित्ता जग्गाको मुआब्जा वितरण नभएको रेल्वे विभाग विराटनगर फिल्ड अफिस प्रमुख मनोज सिंहले जानकारी दिए ।

स्थानीय शेषनारायण माझी र घुरन माझीले मुआब्जा कम भएको भन्दै रेल विभाग र जिल्ला प्रशासन कार्यालय मोरङविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

सर्वाेच्चमा मुद्दा दायर गरेका कारण रोकिएको मुआब्जा वितरण प्रक्रिया सर्वाेच्चले अन्तिम फैसला गरेपछि जग्गा हस्तान्तरणको तयारी थालिएको सहायक प्रजिअ पाण्डेले जानकारी दिए । अधिग्रहण गरिएको जग्गाको प्रति कठ्ठा न्यूनतम ९० हजारदेखि २५ लाखसम्म मूल्याङ्कन गरेर ५३ करोड मुआब्जा वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment