News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगर किङ्सले एनपीएल तेस्रो सिजनका लागि कप्तान सन्दीप लामिछानेसहित ६ खेलाडी रिटेन गर्दै टिममा ठूलो फेरबदल गरेको छ।
- विराटनगरले अक्सनबाट रुपेश सिंहसहित ७ नयाँ खेलाडी अनुबन्ध गरेको छ र विदेशीमा आन्द्रे रसेल, चरिथ असलंका र शुभम रन्जाने भित्र्याएको छ।
- प्रशिक्षक धम्मिका प्रसादलाई निरन्तरता दिएको विराटनगरले लोकेश बम, असलंका, रसेल र सन्दीपको संयोजनमा बलियो प्रदर्शनको लक्ष्य राखेको छ।
३ कात्तिक, काठमाडौं । विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपीएल) मा पूर्वको प्रतिनिधित्व गर्ने टोली हो । कोशी प्रदेशको यो टोलीले आफूलाई ‘कोशीको सान’ को रुपमा प्रस्तुत गर्दै आएको छ ।
यो टिमको चर्चा बढ्नुको अर्को कारण हो सन्दीप लामिछाने । सन्दीप विराटनगरको मार्की तथा कप्तान हुन् ।
हाल सन्दीप नेपालको एकदिवसीय राष्ट्रिय टिमको कप्तान पनि छन् । सन्दीपले यसअघि पनि राष्ट्रिय टिमको कप्तानी गरिसकेका छन् ।
ग्लोबल स्टारको रुपमा चर्चा कमाइसकेका लेग स्पीनर सन्दीपको नेतृत्वमा रहेको विराटनगर एनपीएलको तेस्रो सिजनमा अझ राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छ ।
सन्दीपसँगै राष्ट्रिय टिमका लोकेश बम, बसिर अहमद जस्ता खेलाडी यस टिममा छन् । यस बाहेक राष्ट्रिय टिमबाट खेलिसकेका प्रतिश जिसी, पहिलो सिजन विराटनगरले जम्मा दुई खेल मात्र जित्दै किंग्स छैटौं स्थानमा सकाएको थियो ।
पहिलो सिजननै मार्टिल गप्टिल ल्याएर चर्चा कमाएको विराटनगरले दोस्रो सिजनमा गप्टिलसँगै दक्षिण अफ्रिकी स्टार फाफ डु प्लेसी, मर्चेन्ट डे लाङ जस्ता बलरलाई नै अनुबन्ध गर्दै एनपीएल खेलायो ।
चर्चित विदेशी खेलाडीहरू अनुबन्ध गरेको सन्दीप लामिछाने नेतृत्वको टोली प्लेअफसम्म पुग्यो । लिग चरणमा ७ मध्ये ५ खेल जित्दै दोस्रो भएको विराटनगर प्लेअफमा भने अभागी सावित भयो ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिमल रोएल्ससँग पराजित भएको विराटनगरले फाइनल प्रवेशका लागि अर्को मौका पाएको थियो । तर दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पारजित भएपछि विराटनगर फाइनल पुग्न असफल रह्यो र समग्रमा तेस्रो भयो ।
लिग चरणमा चितवन राइनोज र लुम्बिनी लायन्ससलँग हारेको विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको थियो ।
त्यसपछि दोस्रो क्वालिफायरमा पनि लुम्बिनीसँग पराजित हुँदा विराटनगर उपाधि होडबाट बाहिरिएको थियो ।

कोर टिम रिटेन, बाँकी खेलाडी परिवर्तन
विराटनगरले यसपटक टिममा पनि केही परिवर्तन गरेको छ । कोर टिमलाई रिटेन गरेको विराटनगरले बाँकी खेलाडीमा भने परिवर्तन गर्दै नयाँ टिम जस्तै बनाएको छ ।
कप्तान सन्दिपसहित लोकेश बम, बसिर अहमेद, प्रतिश जिसी, नारायण जोशी र सुभास भण्डारीलाई मात्र विराटनगरले रिटेन गरेको थियो । यी ६ खेलाडीबाहेक टिममा सबै परिवर्तन छन् ।
सूर्य तामाङ, शंकर राना, नरेन भट्ट, साहिल पटेल जस्ता खेलाडीलाई रिलिज गरेको विराटनगरले अक्सनबाट नयाँ खेलाडी भित्र्याएको हो ।
जसमा विराटनगरले मिडियस पेस अलराउण्डर रुपेश सिंहलाई टिममा भित्र्याएको छ । अक्सनमा लक्की ड्र मार्फत विराटनगरले रुपेशलाई पाएको थियो ।
यस्तै अक्सनबाट विराटनगरले नरेन साउद, दिलसाद अली, सुजन थपलिया, अपराजित पौडेल र प्रतिक श्रेष्ठलाई अनुबन्ध गरेको थियो ।
विदेशी खेलाडी
विराटनगरले एनपीएलको तेस्रो सिजनका लागि अहिलेसम्म तीन विदेशी खेलाडी अनुबन्ध गरेको छ । वेस्ट इन्डिजका स्टार अलराउन्डर आन्द्रे रसेलसहित श्रीलंकन टी-२० टोलीका कप्तान चरिथ असलंका र श्रीलंकन मुलका अमेरिकी अलराउण्डर शुभम रन्जानेलाई विराटनगरले अनुबन्ध गरिसकेको छ ।
एनपीएलले आईसीसीबाट मान्यता पाएपछि रसेल अनुबन्धको घोषणा गरेको विराटनगरले असलंकालाई पहिलोपटक अनुबन्ध गर्दा रन्जानेलाई लगातार तेस्रो सिजनका लागि निरन्तरता दिएको हो ।
दोस्रो सिजन चर्चित खेलाडीहरू डुप्लेसी देखि गप्टिल, जर्ज मन्से, साम हिजलेट, मर्चेन्ट डे लाङ जस्ता खेलाडी अनुबन्ध गरेको विराटनगरले यस पटक अझै विदेशी खेलाडी अनुबन्ध गर्न बाँकी छ ।
विराटनगरले प्रशिक्षकमा पनि श्रीलंकन धम्मिका प्रसादलाई निरन्तरता दिएको छ ।

विराटनगरले तीन मात्र विदेशी खेलाडी अनुबन्ध गरेकोले टिमको कम्बिनेसन कस्तो हुन्छ बाँकी विदेशी खेलाडी अनुबन्ध पछि थाहा हुनेछ ।
अहिलेसम्मको अवस्थामा लोकेश बमले ओपनिङ गर्नेछन् । टप अर्डरमा पनि अर्का विदेशी खेलाडीको आगमन हुने सम्भावना धेरै छ ।
यस्तै मिडल अर्डरमा चरिथ असलंका हुनेछन् भने रसेलसँगै बसिर अहमद र शुभम रन्जाने अलराउण्डरको रुपमा लोअर अर्डरमा हुनेछन् । लोअर अर्डरमा नारायण जोशीलाई पनि प्रयोग गर्न सकिनेछ ।
यस्तै पेस बलिङमा प्रतिश जिसी र रुपेश सिंह छन् । प्रतिश चोटको शल्यक्रियापछि फिट हुने क्रममा छन् । विराटनगरलाई पेस बलिङमा पनि विदेशी खेलाडी आवश्यक हुनेछ ।
स्पिनमा भने कप्तान सन्दीप लामिछाने आफैं मुख्य हतियारको रुपमा छन् । उनलाई नरेन साउद सुवास भण्डारीले साथ दिनेछन् । सन्दीपले दोस्रो सिजन संयुक्त रुपमा सर्वाधिक १७ विकेट लिएका थिए ।
हाल नेपालको राष्ट्रिय टिम (ओडीआई) को कप्तानको रुपमा पुनरागमन गरेका सन्दीप लयमा देखिएका छन् । एनपीएलमा पनि विराटनगर किंग्सले उनको नेतृत्वसँगै लयको अपेक्षा राखेको छ ।
विराटनगर किङ्स टिम
रिटेन खेलाडी : सन्दीप लामिछाने, लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, सुवास भण्डारी नारायण जोशी
अक्सनबाट लिएको खेलाडी : रुपेश सिंह, नरेन साउद, दिलसाद अली, सुजन थपलिया, अपराजित पौडेल, प्रतिक श्रेष्ठ, इमरान शेख
विदेशी खेलाडी : चरिथ असलंका, शुभम रन्जाने, आन्द्रे रसेल
प्रशिक्षक : धम्मिका प्रसाद
प्रतिक्रिया 4