Comments Add Comment

जनसम्पर्क समिति बेल्जियम दुई फ्याक, गुटपिच्छे अलग चियापान

बार्सिलोना। कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्ने नेपालको प्रचलित उखान नै हो। तर हाँडी गाउँलाई हटाएर अब बेल्जियम थप गर्दा पनि त्यति अस्वभाविक भने सुनिँदैन।

युरोपको राजधानीसमेत रहेको बेल्जियमको आफ्नै सभ्य र विकसित राजनीतिक इतिहास छ । तर, यहाँ रहेर नेपाली राजनीति गर्ने नेपालीहरुले हाँडीगाउँको उखानलाई विस्थापित गर्दै बेल्जियम थप्न मलजल गरिरहेका छन्।

प्रसंग, नेपाली जनसम्पर्क समिति बेल्जियमको हो । गुट–उपगुटका कारण गत निर्वाचनमा चुर्लुम्म डुबेको नेपाली कांग्रेस विदेशमा पनि बचेको छैन। विदेशस्थित भातृसंस्थाहरु पनि जिल्लामा जस्तै विभक्त छन् । त्यसको पछिल्लो ज्वलन्त उदाहरण, नेपाली जनसम्पर्क समिति बेल्जियम हो ।

कांग्रेस केन्द्रीय नेताहरुले युरोप भ्रमण गर्दै आ–आफ्नो गुटलाई मलजल समेत थप्ने गरेका छन्। केही महिनाअघि युरोप भ्रमण गर्दै कांग्रेस उपसभापति विमलेन्द्र निधि र वरिष्ठ नेता रामचन्द्र पौडेलले राम्रै गोडमेल गरे। अन्ततः नेपाली जनसम्पर्क समिति बेल्जियम दुई साताअघि देखि दुई चिरामा विभाजित छ।

बडादशैं, दीपावली, नेपाल संवत र छठको अवसर कांग्रेसले कार्यक्रम नराख्ने त कुरै भएन। नेपाली जनसम्पर्क समिति बेल्जियमका दुई समीतिहरुले दुई छुट्टाछुट्टै निमन्त्रणाहरु पठाए। सीता सापकोटा सभापति रहेको पुरानो निर्वाचित समिति र शुभाष गुरुङको सभापतिमा बनेको समानान्तर समितिले छुट्टाछुट्टै कार्यक्रमहरु सम्पन्न गरेका छन्।

सापकोटा सभापति रहेको समितिले अक्टोबर २९ तारिख र त्यसको ठीक एकसाता पछि नोभेम्बर ५ मा अर्को समितिले छुट्टै कार्यक्रम सम्पन्न गरेको हो ।

आ–आफ्नो पक्षमा नेपाली समुदायको समर्थन देखाउन दुवै पक्ष खुलेर नै लागे। त्यति मात्र होइन, आ–आफ्फ्नो समिति वैधानिक रहेको दाबी गर्दै चाडबाडको शुभकामाना दिने कार्यक्रम एक–अर्कालाई घोचपेच गर्दैमा बितेको थियो ।

जनसम्पर्क समिति बेल्जियम फुट्का कारण

पहिलो कारण, नेपाली जनसम्पर्क समिति बेल्जियमको चौथो अधिवेशनका लागि सीता सापकोटा र माधव सापकोटा अध्यक्ष पदका आ–आफ्नो प्यानलसहित निर्वाचन लडेका थिए। मार्च १२ तारिख २०१७ मा सम्पन्न निर्वाचनमा प्रत्यासी माधव सापकोटाले भन्दा २०५ मत बढी ल्याएर सभापतिमा सापकोटा निर्वाचित भईन्।

सीता वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री संशाक कोइरालानिकट हुन् भने माधव पार्टी सभापति शेरबहादुर देउवा नजिक मानिन्छन् । तत्कालीन एमालेको प्रवासी नेपाली मञ्चले भोट हालेर नै सीता विजयी भएको देउवा पक्षको आरोप छ ।  समितिका पूर्वअध्यक्ष गंगाधर गौतमले यस्तो आरोप सार्वजनिक रुपमा नै लगाउँदै आएका छन्। उनी कांग्रेस सभापति देउवा निकटका पात्र मात्र नभई बेल्जियम कांग्रेसलाई छिनमै यूटर्न पार्ने खुबी भएका कांग्रेसीका रुपमा चिनिन्छन्।

दोस्रो कारण, गत बर्ष सम्पन्न एनआरएन निर्वाचन हो । जनसम्पर्क समितिको नयाँ कार्यसमितिले निवर्तमान अध्यक्ष सुवास जोशी (सन्तोष)लाई मैदानमा उतार्यो। जोशीले एमाले निकट प्रवासी नेपाली मञ्चको समेत समर्थन पाएका थिए। तर पनि  निर्वाचन हारे। आदिबासी जनजाति महासंघलगायत माओवादी विचारधारा रहेका समर्थकहरुको समर्थनमा लोक दाहाल एनआरएनए अध्यक्षमा विजयी बने।

निर्वाचन त सक्कियो तर जोशीको पराजयसँगै बेल्जियम कांग्रेसमा ठूलो विवाद र तरङ्ग पैदा भयो। सापकोटा समितिको आरोप रह्यो , पूर्वअध्यक्ष गौतमकै असहयोगमा जोशीले चुनाव हारे। त्यति बेला गौतम एनआरएनए बेल्जियमका वाहलवाला अध्यक्ष पनि थिए। उनले आफ्नो निर्वाचन गर्ने काम भएको भन्दै त्यस्तो आरोपको खण्डन गर्दै आएका छन्।

तेस्रो कारण, गंगाधर गौतम हुन् । एनआरएनको ग्लोबल सम्मेलनमा युरोप संयोजकका उम्मेदवार बने। संयोजक पदमा ६ जनाको उम्मेदवारी परेको थियो । बेल्जियमकै एमालेनिकट शिव कुमार बरुवालबाहेक सबै उम्मदोवर कांग्रेस निकट। गौतमले सार्वजनिक रुपमै आरोप लगाएका छन् कि, ‘सभापति सापकोटाले एमालेनिकट बरुवालको प्रचार गर्दै हिँडिन् । मलाई मात्र होइन, जनसम्पर्क समिति आस्थावान कुनै उम्मेदवारको समर्थन रहेन ।’

तर, सभापति सापकोटा गौतमको त्यो आरोपलाई ठाडै अस्वीकार गर्छिन् ।

चौथो कारण, कांग्रेस उपसभापति निधिको युरोप भ्रमण हो । कांग्रेस उपसभापति विमलेन्द्र निधिले पोर्चुगलको भ्रमण गरे। नेपाली जनसम्पर्क समिति युरोपको विवाद केन्द्रमा समेत रहेको बेला निधिको भ्रमण भयो। यसलाई वैधाकता दिने–नदिनेबारे केन्द्रमा नै मतभेद छ।

अधिवेशनबिनै १२ वर्षदेखि युरोप जनसम्पर्क समिति खोलेर पार्टीको विधानविपरीत चलाएको देउवाइतर पक्षको आरोप छ।

यसैबीच, गत जुलाईमा पोर्तुगलमा अधिवेसन गर्ने तयारी थालियो। विवादबीच पार्टीका मुख्यसचिव कृष्ण पौडेलले समन्वय समितिको २१ जुलाईमा हुने भेलामा सहभागी हुन युरोपका जनसम्पर्क समितिहरूलाई पत्र पठाएपछि झनै विवाद चुलियो।

अन्ततः युरोपका नौवटा जनसम्पर्क समितिका अध्यक्षहरुले भेलामा सहभागी नहुने भन्दै संयुक्त वक्तव्य निकाले। त्यतिमात्र होइन, विधानविपरीत भेलामा निधि सहभागी हुन लागेको भन्दै दुःखसमेत प्रकट गरे। युरोप भ्रमणमा आएका पार्टी उपसभापतिको अपमान गरेको देउवा पक्षहरुको आरोप रहेको छ।

पाँचौ कारणः उपसभापति निधि नेपाल फर्केपछि एकाएक कांग्रेस वरिष्ठ नेता पौडेलले युरोप भ्रमण तय गरे। गुटबन्दीको मलजल दिन पौडेलले भ्रमण गरेको देउवा पक्षले आरोप लगाए। अझ रमाइलो त नेपाली जनसम्पर्क समिति लक्जबर्गको अधिवेशनमा देखियो। पार्टीका मुख्यसचिव कृष्ण पौडेलले अधिवेशन प्रतिनिधि भन्दै जनसम्पर्क समिति युरोपका महामन्त्री गंगाधर गौतमको नाम खुलाउँदै परिपत्र गरे। तर वरिष्ठ नेता पौडेलले गौतमलाई अधिवेशनमा प्रतिनिधि बन्नबाट रोके।

अनलाईनखबरसँगको लामो अन्तर्वार्तामा वरिस्ठ नेता पौडेलले भनेका छन्, ‘केन्द्रको अघिल्लो पत्र र पछिल्लो पत्रमा ठूलो अन्तरविरोध भयो । यस्तो किन भयो भन्ने मात्रै मैले प्रश्न उठाएको हुँ । केन्द्रीय मुख्यसचिवको हस्ताक्षरमा दुईहप्ता अघि एउटा पत्र फेरि त्यसको विपरीत अर्को पत्र आयो । कार्यालयमा बसेर केही मान्छेले दुरूपयोग गरे भन्दैमा पार्टी सिङ्गै आलोकतान्त्रिक चाहिँ हुँदैन । यो लोकतन्त्रकै मिसनका लागि जन्मेको पार्टी हो । बेलाबेलामा यस्ता विकृति, विसङ्गतिहरु आउने गर्छन् । तर, यिनलाई रोक्दै अगाडि बढ्ने नै अहिलेको संघर्ष हो ।’

विधानविपरीत काम गरेको भन्दै नेपाली जनसम्पर्क समिति युरोपका सभापति दिल गुरुङले पौडेल सहभागी हुने कार्यक्रममा नपुग्ने भन्दै विज्ञप्ति निकाले। यता महामन्त्री गौतमले त नेपाली जनसम्पर्क समिति युरोपको दोस्रो अधिवेशन  पार्टी सभापति, उपसभापति र महामन्त्रीलगायत दर्जनौं केन्द्रीय नेताहरुको उपस्थितिमा भई छाड्ने दाबीका साथ पौडेललाई अतिथि बन्न चुनौती दिँदै खुल्लापत्र समेत लेखे।

यी त केहि मुख्य कारणहरु थिए। यसका अतिरिक्त आन्तरिक झगडा र मनमुटाव बेल्जियम कांग्रेसमा चाङ्ग बनेर थुप्रिए। अन्ततः एकले अर्कालाई कारवाही भन्दै समिति अक्टोबर २३ तारिख देखि दुई चिरामा विभाजित बन्यो।

विज्ञप्तिमार्फत् एक–अर्कालाई कारबाही

सापकोटा सभापति रहेकै कार्यसमितिक महामन्त्री सुवास गुरुङलाई लेटर प्याडको दुरुपयोग गर्दै वरिष्ठ नेता पौडेलको कार्यक्रमको विरोध गरेको भन्दै बर्खास्त गर्यो। समितिले ४ वर्ष सम्म साधारण सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको छ। पूर्व अध्यक्ष गौतमलाई पनि जनसम्पर्क विरोधि विरोधी पटक–पटक गरेको भन्दै समितिले सोही किसिमको कारबाही गरेको छ।

यता उनै सुवास गुरुङ समानान्तर समितिका सभापति बने। जनसम्पर्क समितिमा निराशा र वितृष्णा फैलाउने काम गरेको भन्दै पार्टी सभापति सापकोटालाई उनले पनि बर्खास्त गर्दै विज्ञप्ति जारी गरे। दुई समितिहरुले आफू वैधानिक भएको दाबी गर्दै आएका छन्।

तीन पूर्वसभापतिहरुको समर्थन सापकोटालाई

यसैबीच, नेपाली जनसम्पर्क समिति बेल्जियमका तीन पूर्वसभापतिहरुले भने सापकोटाको समर्थन गरेका छन्। संस्थापक सभापति ध्रुवराज पौडेल, निवर्तमान सभापति सन्तोष जोश र सभापति इन्द्रबहादुर क्षेत्रीले विज्ञप्ति जारी गर्दै सापकोटाको समर्थन गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment