Comments Add Comment

चाडबाड झिलिमिली बनाउन ३१ करोडको सामान आयात

२१ कात्तिक, वीरगञ्ज । दिपावली, छठ, क्रिसमसलगायतका चाडपर्वमा सजावट र झिलिमिली बनाउन चालु आर्थिक वर्षमा ३१ करोड रुपैयाँका सामान आयात भएको छ ।

चाडवाडलाई लक्षित गरेर वीरगञ्ज भन्सार नाका हुँदै लाइट तथा फिटिङका समान आयातमा वृद्धि भएको छ ।

चालु आर्थिक वर्ष ०७५/७६ को साउनदेखि हालसम्म वीरगञ्ज भन्सार नाकाबाट २५ लाख ९९ हजार ३२ युनिट अर्थात ३१ करोड २७ लाख ४ हजार १ सय १९ रुपैयाँको लाइट तथा फिटिङका समान आयात भएको छ । यो अघिल्लो वर्षभन्दा झण्डै दोब्बर मूल्यको हो ।

वीरगञ्ज भन्सार कार्यालयबाट गत वर्ष सोही अवधीमा १६ करोड ३२ लाख ८२ हजार ९७ रुपैयाँको लाइट तथा फिटिङका समान आयात भएको थियो ।

वीरगञ्ज भन्सार नाका हुँदै इलेक्टि्रक बत्ति, नन इलेक्टि्रक ल्याम्प, इल्युमिनेटेड साइन, नेम प्लेट, इलेक्ट्रोनिक पानसलगायतका समान आयात हुने गरेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिए ।

चालु आर्थिक वर्षमा साउनदेखि हालसम्म लाइटिङ एन्ड फिटिङका समान आयातबाट कार्यालयले ८ करोड ५ लाख २ हजार ५ सय ६१ रुपैयाँ राजश्व संकलन गरेको छ ।

क्रिसमस ट्रि सजाउन लाखौं खर्च

नेपालमा क्रिसमस ट्रि सजाउनका लागि पनि लाखौं खर्च हुने गरेको आयातित सामानहरुको तथ्याङ्कले देखाउँछ । वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ९९ हजार ५ सय १९ युनिट क्रिसमस ट्रि लाइटिङ सेट भित्रिएको छ ।

७३ लाख ७९ हजार ३ सय ८१ रुपैयाँ बराबरको उक्त समानबाट वीरगञ्ज भन्सार कार्यालयले १६ लाख १८ हजार १ सय २१ रुपैयाँ राजश्व संकलन गरेको छ ।

आर्थिक वर्ष ०७४/०७५ को सोही अवधीमा २ लाख ७२ हजार ३ सय ४६ युनिट लाइटिङ सेट आयात भएको थियो । ९० लाख ८० हजार ७ सय १० रुपैयाँ बराबरको समान आयातबाट कार्यालयले १४ लाख ३१ हजार २ सय १९ रुपैयाँ राजश्व संकलन गरेको कार्यालयले दिएको तथ्याङ्कमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment