Comments Add Comment

‘बर्षौं तेल र दुबोले बाटो छेकें, तर यमराजले….’

२४ कात्तिक, काठमाडौं ।  मदन पुरस्कार विजेता नीलम कार्की निहारिकाले तिहारमा भाइटीका लगाइनन् । सबैजसो हिन्दु नेपाली नारीले भाइटीकालाई उत्साहका साथ मनाइरहँदा उनी अमेरिकामा कृष्ण धरावासीको उपन्यास ‘शरणार्थी’ तेस्रोपटक पढिरहेकी थिइन् ।

कार्कीलाई दिदी वा बहिनीका रुपमा स्नेह र प्रेम गर्ने धेरै भए पनि यसपटक पनि उनले सबैबाट आफूलाई छलेरै छाडिन् । उनले तिहार छल्न थालेको यो २० औं पटक हो । यसपटक मदन पुरस्कार थाप्न नेपाल आएकी निहारिका लक्ष्मीपूजाका दिन अमेरिका उडिन्।

तीन कथा संग्रह, तीन कविता संग्रह र चार उपन्यासकी स्रष्टा नीलम कार्कीले गएको वर्ष ‘चीरहरण’ उपन्यासका लागि पद्मश्री पुरस्कार प्राप्त गरेकी थिइन् । महाभारतका नारी पात्रहरुलाई आधुनिक कसीमा हेरिएको चीरहरण पाठकहरुबाट पनि प्रसंशित भएको थियो । यसपटक ऐतिहासिक पात्र योगमाया न्यौपानेको क्रान्तिकारी जीवनमा आधारित उपन्यास ‘योगमाया’ बाट उनले मदन पुरस्कार प्राप्त गरेकी हुन् ।

विगतमा रेडियो नेपालमा दाहाल यज्ञनिधिसँग साहित्यिक कार्यक्रम चलाएकी निहारिका टेलभिजनकर्मी पनि हुन् । उनले नेपाल टेलिभिजनमा स्वास्थसम्बन्धी कार्यक्रम चलाएकी थिइन् । नर्सिङ्की विद्यार्थी उनी अहिले आफ्ना चिकित्सक श्रीमान् र दुई छोराका साथ अमेरिकामा बसोबास गर्छिन् । परिवारसहितको अमेरिकाको व्यस्त जीवनमा पनि वर्षैपिच्छे चर्चित पुरस्कार प्राप्त गर्ने पुस्तक लेखेपछि उनको व्यक्तिगत जीवनप्रति धेरैको चासो हुनु स्वाभाविक नै हो ।

यसअघि मैले दुईवटा उपन्यास लेखेकी थिएँ ।  उपन्यासमा त्यो उमेरमा पर्ने प्रेम, प्रणय र भावुक विद्रोह जस्ता कुरा थिए । तर, पछिल्लो कालखण्डमा जीवनलाई हेर्ने गहिरो दृष्टिकोण आएको हो भनेर मान्छु

अनलाइनखबरसँगको कुराकानीमा उनले अहिलेसम्म बाहिर नआएको व्यक्तिगत जीवनकाे दर्दनाक पाटोबारे बताइन् । अाफ्नै उपन्यास जलाउनुका साथै अब के गर्ने याेजना छ भन्नेसमेत उनले सुनाइन् ।

यसपटक पनि तिहार मनाउनुभएन । तिहारमात्रै मनाउनुहुन्न कि दशैं वा अन्य धार्मिक र सामाजिक कार्यक्रम पनि ?

तिहारमात्रै बहिस्कार गरेकी हुँ, विशेष गरी भाइटीका । अन्य धार्मिक सांस्कृतिक पर्वलाई मनले स्वीकार गर्छ, केवल भाइटीकालाई मात्रै अस्वीकार गरिरहन्छ ।

भाइटीका लगाउनुहुन्न भन्ने कतिपयलाई थाहा छ । तर, यसका पछाडिको कारण तपाईंका नजिक बाहेकका शुभचिन्तकहरु कमै जानकार छन् । बताउन मिल्छ ?

हरेक मानिस खुसीका कुरा सुन्न चाहन्छन् । विशेष गरी मबाट पाठकहरु राम्रो कुराको अपेक्षा गर्नुहुन्छ । मेरा व्यक्तिगत दुःख र पीडाका कुरासँग पाठकलाई खासै चासो पनि नहोला । यही कारण पनि बताइनँ सायद ।

अर्को कुरा, सार्वजनिक रुपमा कुनै पत्रकारले, कसैले यो कुरा सोधेन पनि । खासमा मैले बर्षाैं तेल र दुबोले शास्त्रले बताएको विधिअनुसार नै यमराजको बाटो छेकेँ, तर आखिरमा उनले मेरो दाइलाई लगेरै छाडे ।

दुःख बाँड्दा कम हुन्छ भन्छन् नि, होइन र ? दाजुलाई के भएको थियो ?

हामी दुई-दिदीबहिनीका एकजना दाजु हुनुहुन्थ्यो । हामीसँग असाध्यै मिल्ने, साहित्यप्रेमी र पढ्नमा साह्रैै तेज । पाल्पाको त्योबेला दुर्गम गाउँमा रहेको किसान माध्यामिक विद्यालयमा उहाँ प्रथम छात्र हुनुहुन्थ्यो । पहाडमा हामीजस्तो मध्यम परिवारको मानिसलाई ३० वर्षअघि डाक्टर बन्न सजिलो थिएन । त्यसका लागि आजजस्तो डाक्टर बन्न पैसा महत्वपूर्ण भएर आएको समय थिएन । तीक्ष्ण बुद्धि नै चाहिन्थ्यो ।

उहाँले परिवारलाई भार पर्न नदिई छात्रबृत्तिमा चिकित्सकमा नाम निकाल्नुभयो । सरकारले उहाँलाई चिकित्सक अध्ययन गर्न रुस पठायो । पढाइ सकेर उहाँ नेपाल फर्कनुभयो र नेपालगञ्ज अस्पतालमा कुशल चिकित्सकका रुपमा नाम पनि कमाउन थाल्नुभयो ।

त्योबेला उहाँको विवाहको कुरा चल्दैथियो । भारतको कुनै कलेजमा एकजना नेपाली युवती पढ्दैछिन् भन्ने बुझेर उहाँ केटी हेर्न त्यहाँ जानु भएको थियो । तर…

दाजु एक्लै हुनुहुन्थ्यो कि ?

होइन, बुवा पनि सँगै हुनुहुन्थ्यो । दाजु, बुवा, नजिकका दाजु र उनकी श्रीमतीसहित ४ जना चढेको कार राति नेपाल फकर्ंदै गर्दाको अवस्थामा उत्तर प्रदेशको बरेली भन्ने स्थानमा दुर्घटना भयो र सबैजनाको घटनास्थलमै देहान्त हुनपुग्यो ।

त्यसपछि मैले भाइटीका मनाएको छैन । मेरा दुई छोरा छन् । ऊनीहरूका लागि अन्य दिदी बहिनीका हातबाट टीका लगाई माग्ने गरेकी छैन । तर, भोलि ऊनीहरू आफू बुझ्ने भएर रहर गरी टीका लाउँछन् भने आपत्ति पनि हुने छैन। फूलेको मख़मली र सयपत्रीले दुख्छु भने आफू त तिहार आयोजना गर्न कहाँ सक्छु र ?…

वास्तवमा छोराछोरीलाई त्योबेला काम गर्ने हौसला निकै बढ्छ, जब उनीहरुका अभिभावक मैले गरेको कामबाट खुसी छन् भन्ने थाहा पाउँछन् ।

आज त्यो दुर्घटना भएको पनि २० वर्ष पुगिसक्यो, तैपनि त्यही पीडा बोकेर बस्नु आफैंप्रति अन्याय हो भन्ने लाग्दैन ?

यो यस्तो घटना हो, जसले मलाई एकसाथ धेरै कुरा सिकाएर गयो । पहिलो कुरा, पुरुषप्रधान समाजका घरका दुई जना कमाउने पुरुष नै त्यो दुर्घटनामा पर्नुभएको थियो । मेरी आमाले छोरा मात्रै गुमाउनुभएको थिएन, विवाहयोग्य समाजको प्रतिष्ठित मानिएको सक्षम डाक्टर गुमाउनुभएको थियो । हामीले बुवा गुमाएका थियौं, यो आफैंमा डरलाग्दो कुरा थियो ।

यो पीडाका बीचमा मैले जे-जे भोग्दै गएँ, यसले मलाई नेपाली समाजको अवस्था, हाम्रो समाजका संरचना र सोच एकैसाथ उजागर गरिदियो । सायद यो घटनाले मलाई बढी संवेदनशील बनायो । यसले मेरो जीवनलाई यसरी गाँजेको छ, जसलाई बिसाउन खोज्दा पनि बिसाउन दिँदैन ।

यो दुर्घटनापछि तपाईंले अनुभव गर्नुभएका अनौठा कुराहरु के के सम्झनुहुन्छ ?

यसअघि मलाई सबै मानिस असल हुन्छन् भन्ने लाग्दथ्यो । मानव हृदयको कुरुपताको पहिलो साक्षात्कार एयरपोर्टमा अनुभव गर्न पाएँ । भयो के भने, राति बुवा र दाजुको भारतमा ठूलो दुर्घटना भएको खबर आयो । बिहान तुरुन्तै नेपालगञ्ज आइपुग्नु भन्ने सन्देश आयो । ट्राभल एजेन्सीमा टिकटका लागि कुरा गर्दा टिकट पाउन अलि गाह्रो भएकाले काठमाडौं एयरपोर्टमै गएर यात्रुसँग अनुरोध गरेर प्लेन चढ्न भनियो । यति ठूलो घटना सुनाउँदा यात्रुले सहयोग गर्छन् भन्ने आधारमा हामी एयरपोर्ट आयौं ।

तर, बिहानदेखि नेपालगञ्ज जाने सबै यात्रुहरुलाई भएको दुर्घटना र नेपालगञ्ज जानुपर्ने कारण बताएर सहयोग गर्न अनुरोध गरियो । हरेकले आफ्नो-आफ्नो बाध्यता सुनाएर आफूलाई हतार भएको भन्दै सहयोग गर्न अस्वीकार गरे । एक, दुई, तीन गर्दै सबै जहाज नेपालगञ्जका लागि उडे । तीमध्ये कसैले पनि आफ्नो सिट दिन तयार भएनन् । अन्त्यमा निराश भएर रात्रीबसमा नेपालगञ्ज जानु परेको थियो । यो घटनापछि थाहा भयो, ‘संसारमा सबैका आफ्नै दुःख छन् । कोही पनि अरुको दुःखमा आँसु पुछ्न आइपुग्दैन ।’

दोस्रो पीडाको अनुभव घर पुग्दा भयो । हामी छोरीहरु हुँदाहुँदै पनि हामीलाई छोराको जस्तै क्रियाकर्म गर्न दिइएन । अर्काको घर जाने भएकाले पिण्डदान इत्यादि गर्न नमिल्ने भएर ती कार्य गर्नबाट बञ्चित गरियो ।

दिदीको विवाह भैसकेर गोत्र परिवर्तन भएका कारण उहाँलाई बञ्चित गर्न सकिने कुरा मान्न सकिन्थ्यो । तर, म अविवाहितलाई पनि ती कुराहरु लागू हुँदा नारी हुनुको पीडा अनुभूत भयो ।
तेस्रो पीडा, आमालाई मेरो विवाह गर्न हतारो थियो । म भने मेरो विवाहपछि आमालाई कसले हेर्छ भन्ने चिन्तामा थिएँ । छोराले आमालाई आफू जहाँ बस्ने हो, त्यहीँ राख्न सक्छ । तर, छोरीले विवाहपछि अरुको घर जाने बाध्यताले गर्दा त्यो सम्भव मानिँदैन भन्ने थाहा भयो ।

गाउँमा माओवादी द्वन्द्वका कारण बस्न गाह्रो थियो । काठमाडौंमा हाम्रो घर थिएन । यी सबै बाध्यताका बीचमा म आमामात्रै पालेर बस्छु भन्न सामाजिक परिवेशले मिल्दो रहेनछ । यी सबै घटनाले नेपाली समाजको अवस्था छर्लङ्ग बनाएको थियो ।

तपाईंले यसअघि चीरहरणमा महाभारतका महिला पात्रलाई आधार बनाउनुभयो । यसपटक योगमाया न्यौपानेको कथा उतार्नुभयो । ‘महिलावादी’ यी उपन्यास लेख्नुमा यी घटनाको कत्तिको हात छ ?

यी घटनाले मेरो जीवनमा निकै परिवर्तन ल्याएको सत्य हो । यसअघि मैले दुईवटा उपन्यास लेखेकी थिएँ । यी उपन्यासहरुमा त्यो उमेरमा पर्ने प्रेम, प्रणय र भावुक विद्रोह जस्ता कुरा थिए । तर, पछिल्लो कालखण्डमा जीवनलाई हेर्ने गहिरो दृष्टिकोण आएको हो भनेर मान्छु ।

योगमायाले आजभन्दा सय वर्षअघि नेपाली समाजका यी असमानतासँग परिचित हुँदै विरोध गर्दै थिइन् भन्ने सुन्दा मलाई उनको विषयमा खोज्न र लेख्न चासो लागेको हो । मैले यी कुरा लेख्न सक्षम हुनुमा सायद यस्ता पीडादायी अवस्थाले पनि सहयोग गरेको हुनुपर्छ ।

तपाईं आज नेपाली साहित्यको शिखरमा पुग्नुभएको छ । आज आएर बुवा र दाजुलाई कसरी सम्झनुहुन्छ ?

मलाई याद छ, हामी तीनजना सँगै पढ्न बस्थ्यौं । दाजु असाध्यै पढन्ते भएका कारण उहाँ आफू पढ्न बस्दा हामीलाई पढाउन बसाउनु हुन्थ्यो । मलाई पढ्न निकै अल्छी लाग्थ्यो । उहाँ जुनबेला पेज पल्टाउनुहुन्थ्यो, त्यहीबेला म पेज पल्टाउँथे । उहाँ मभन्दा ४ बर्ष मात्र जेठो भए पनि निकै बुद्धिमानी र अभिभावकीय गुणको हुनुहुन्थ्यो । केही दिनसम्म मैले उहाँलाई पछ्याएको याद गरेपछि कहिले छिटो पाना पल्टाउन थाल्नुभयो, कहिले ढीलो । यसो गर्दा मेरो चोरी पक्रिहाल्नुभयो । त्यस दिन यसरी कुट्नुभयो कि मैले कहिलै पढाइमा चिटिङ गरिनँ । आज जे जति पढेँ, त्यसमा दाजुको त्यही थप्पडको योगदान छ ।

एकपल्ट विद्यालयमा कविता प्रतियोगिता भएको थियो । त्यसमा दाजु प्रथम हुनुभयो । उहाँले नै कविता लेख्नुपर्छ भनेर हौसला दिनुभएकाले मैले पनि त्यसमा भाग लिएकी थिएँ । दाजु प्रथम हुँदा म दोस्रो भएकी थिएँ । लेखनको बिऊ उहाँले नै रोपिदिनुभएको कुरा अहिले आएर महसुस हुन्छ ।

बुवालाई भने धेरै पछिसम्म म लेख्छु भन्ने थाहा थिएन । आमा शिक्षिकाबाट रिटायर्ड हुँदा आएको पैसामध्ये मलाई २० हजार दिएर मेरो पहिलो पुस्तक छापिएको थियो । पुस्तक छापिएपछि बुवाले मेरी छोरीले लेखेको पुस्तक भनेर देखाएर हिँड्नुहुन्थ्यो रे । यस्तो सुन्दा मलाई लेख्ने हौसला अझै बढ्दथ्यो ।

‘नियतिको खेल’ मेरो दोस्रो उपन्यास भए पनि यो ‘मौन जीवन’अघि नै लेखेकी हुँ, नर्सिङ् पढ्दापढ्दै । जब बुवा र दाजुको दुर्घटना भयो, मैले त्यो उपन्यासका सबै प्रति जलाइदिएँ ।

उहाँ मेरो रेडियो कार्यक्रमको नियमित श्रोता हुनुहुन्थ्यो र आमासँग नीलमले टेलिभिजनमा काम गरे पनि हुने भन्नुहुन्थ्यो रे । बुवाले यस्तो इच्छा राख्नुभएको सुनेपछि मलाई टेलिभिजनमा काम गर्ने इच्छा बढेको थियो ।

वास्तवमा छोराछोरीलाई त्योबेला काम गर्ने हौसला निकै बढ्छ, जब उनीहरुका अभिभावक मैले गरेको कामबाट खुसी छन् भन्ने थाहा पाउँछन् ।

तपाईंले दोस्रो उपन्यास लेख्नुभएको थियो ‘नियतिको खेल’ । यसको दोस्रो संस्करण आएन । र, तपाईं यसलाई छाप्न पनि चाहनुहुन्न भन्ने सुनिएको छ । खासमा यो पुस्तकको पुनर्मुद्रण नहुनुको कारण के हो ?

‘नियतिको खेल’ मेरो दोस्रो उपन्यास भए पनि यो ‘मौन जीवन’ अघि नै लेखेकी हुँ, नर्सिङ् पढ्दापढ्दै । यो उपन्यासभित्रका एकजना पात्रका बुवा र दाजु भारत भ्रमणमा जाँदा दुर्घटनमा पर्छन् र उनीहरुको मृत्यु हुन्छ । यो उपन्यासका पात्रमाथि जसरी घटना घट्छ, पछि मेरो जीवनमा पनि त्यही कुरा दोहोरिन पुग्यो । एकजना लेखकमाथि संंसारमा विरलै यस्तो घटना घटेको होला । जब बुवा र दाजुको दुर्घटना भयो, मैले मसँग भएको त्यो उपन्यासका सबै प्रति जलाइदिएँ । त्यहीबेला नै त्यसलाई बाहिर ल्याउँदिनँ भनेर अडान लिएकी हुँ ।

आज फर्किएर हेर्दा तपाईंले लेखेका ती दुई उपन्यास कस्ता थिए भन्ने लाग्छ । ती मेरा पहिलो र दोस्रो उपन्यास हुन् भनेर गौरब गर्ने ठाउँ कत्तिको देख्नुहुन्छ ?

खासै राम्रा थिए भनेर गौरव गर्न सक्तिनँ । किनभने ती उपन्यासमा प्रकाश कोविद जस्ता लेखकको प्रभाव ज्यादा छ । जब मैले रेडियो नेपालमा दाहाल यज्ञनिधिको संगत गर्न थालेँ, मलाई आफ्नो स्तर थाहा भैहाल्यो । त्यसयता १० वर्ष मैले कुनै पनि आख्यान लेख्न सकिनँ । फाट्टफुट्ट कविता पनि साहित्यिक कार्यक्रम चलाउने र कार्यक्रमको निम्तो आउने भएकाले लेख्न थालेकी हुँ ।

जब ‘बेली’ कथासंग्रह निस्कियो, दाहाल यज्ञनिधिले नीलम बल्ल लेख्न सक्ने भई भनेर प्रसंंसा गर्नुभएछ । जब चीरहरण लेखेँ, अनि मात्र उहाँले मलाई ‘योगमाया’ लेख भनेर चुनौति र अवसर दिनुभयो ।
तपाईको जीवनमा दाहाल यज्ञनिधिको के भूमिका छ ?

उहाँ मेरो साहित्यिक गुरु नै हो । मलाई आजको अवस्थामा ल्याउन उहाँको ठूलो योगदान छ । उहाँले सिकाएका तीनवटा कुराले मेरो जीवन परिवर्तन भएका हुन् ।

पहिलो- शब्दमा ठूलो शक्ति हुन्छ, यसलाई राम्रोसँग प्रयोग गर्नुपर्छ । दोस्रो- साहित्य लेख्दा इमान्दार हुनुपर्छ । आफूले जाने बुझेको भन्दा बढी हुने प्रयास गर्नुहुँदैन भन्ने उहाँको मान्यता थियो । र, तेस्रो- आर्थिक अनुशासन कायम गर्नुपर्छ । । विशेष गरी साहित्यको साधना गर्ने मानिसको घरमा लक्ष्मी सजिलै आउँदिनन् । त्यसकारण पनि आर्थिक अनुशासन जरुरी छ ।

कतिपयले त उहाँ असाध्यै कडा र अव्यवहारिक हुनुहुन्थ्यो भन्ने आरोप लगाउँछन् नि ?

अरुका लागि कडा हुनुहुन्थ्यो, जसले उहाँको सोच बुझ्न सक्दैन थिए । उहाँ साहित्यको मर्म बुझ्ने व्यक्ति हुनुहुन्थ्यो र महिलालाई असाध्यै इज्जत गर्नुहुन्थ्यो । मलाई लाग्छ, कुनै पनि लोग्ने मानिसले दाहाल यज्ञनिधि सरको स्तरमा महिलालाई इज्जत र सम्मान प्रकट गर्न जान्दैनन् ।

नीलम कार्की आफैंमा सुन्दर नाम छ । यो निहारिका चाहिँ किन थप्नुभएको ?

म नेपालगञ्जमा नर्सिङ् पढ्दा स्थानीय पत्रपत्रिकामा लेख र कविता लेख्थेँ । यता काठमाडौंमा पनि त्यही नामबाट राम्रा राम्रा कथा-कविता छापिन थालेका रहेछन् । अरुले प्रशंसा गर्दा सुरुमा त खुसी नै लाग्यो, पछि त्यो उधारो खुसीले केही गर्दैन भन्ने सोचेर परिवर्तन गरेकी हुँ ।

एकजना टेलिभिजनकर्मी हरिहर उपाध्यायलाई मेरो दुःख सुनाएर नयाँ नाम खोजिदिनूस् भनेर आग्रह गरेपछि उहाँले नै निहारिका खोजिदिनुभएको हो ।

पछिल्लो समयमा तपाईंले लेख्नुभएका पुस्तक निकै मोटा हुने गरेका छन् । यसरी मोटो पुस्तक लेख्नुका कारण तपाईंलाई युवा मोति पुरस्कार नदिइएपछि विद्रोह स्वरुप यसो गर्नुभएको भन्ने गरिन्छ । सत्य हो ?

म विद्रोही त हुँ नै, तर मोति पुरस्कार नपाएको रीसमा यसो गरेको भन्ने कुराचाहिँ सरासर गलत हो । खासमा चीरहरण महाभारतका तीनपुस्ताका महिलाहरुको कथा हो । पात्र धेरै भएपछि उनीहरुका कथा समेट्दै जाँदा मोटो भएको हो ।

‘योगमाया’मा भएका सबै पात्र, घटना र परिस्थिति सत्य हुन् । त्यसको विश्वसनीयता कायम गर्न पनि मुख्य-मुख्य पात्र र विवरण राख्नुपनर्ेे बाध्यता थियो । योगमायासँगै त्योबेला विद्रोह स्वरुप कम्तिमा ६८ जनाले जलसमाधि लिएका थिए । उपन्यासमा जलसमाधि लिने सबैको सानोतिनो परिचय आवश्यक थियो । यी सबै कारणले योगमाया पनि मोटो हुन पुग्यो । यो रहरभन्दा पनि बाध्यता हो ।

अब नयाँ के गर्दै हुनुहुन्छ ?

योगमायाकै विषयमा विद्यावारिधि गर्दैछु । योगमाया जतिसुकै सत्य भए पनि यो उपन्यासका रुपमा आएका कारण मैले गरेको अध्ययन र अनुसन्धानले बैधता पाउन सक्तैन । बैधता पाउन पनि यसैमाथि विद्यावारिधि गर्न लागेकी हुँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment