Comments Add Comment

‘नेटवर्क आर्क ब्रिज’ निर्माणमा पनि पप्पुको ढिलासुस्ती

२६ कात्तिक, काठमाडौं । काठमाडौंको तिनकुनेस्थित बाग्मती पुलमा बन्दै गरेको नेटवर्क आर्क ब्रिजको काम सुस्त गतिमा अघि बढेको छ ।

सँगै ठेक्का लागेको बिजुलीबजारस्थित धोबिखोलामाथिको नेटवर्क आर्क ब्रिजको आधा काम सकिँदा पनि बाग्मती नदीमा बनिरहेको उस्तै स्वरुपको पुलको निर्माणमा भने ढिलाई भएको हो ।

धोबीखोलामाथि बनिरहेको ‘नेटवर्क आर्क ब्रिज’ को हालसम्म ५५ प्रतिशत निर्माण सम्पन्न भएको छ । तर, बाग्मतीको उक्त पुलको भने हालसम्म जम्मा ३५ प्रतिशत काम भएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका इञ्जीनियर एवं आयोजनाका सूचना अधिकारी विश्व विजय लाल श्रेष्ठले पछिल्लो समय ठेकेदार कम्पनीले निर्माणमा ढिलाइ गरेको बताए ।

‘धोबिखोला र बाग्मती नदीमाथिको पुलको डिजाइन स्वीकृत हुनै समय लाग्यो, निर्माण शुरु भएपछि ठेकेदार कम्पनीको पनि सुस्तता देखियो’, उनले अनलाइनखबरसँग भने ।

बाग्मती नदीमा बनिरहेको नेटवर्क आर्क ब्रिजको ठेक्का पप्पु कन्स्ट्रक्सनले पाएको छ भने धोबिखोलामाथिको पुलको ठेक्का जेई कन्स्ट्रक्सनले पाएको छ ।  पप्पु कन्स्ट्रक्सनको काम ढिला गर्ने प्रबृत्ति बाग्मती नदीको पुलमा पनि देखिएको छ ।

धोबीखोलामा बनिरहेको ५१ दशमलब ४५ मिटरको पुलको लागत १३ करोड छ भने हालसम्म ७ करोड खर्च भएको छ ।  तिनकुनेस्थित बाग्मती नदीमाथि बनिरहेको ८५ मिटर लम्बाइको पुलको लागत २१ करोड मध्ये हालसम्म ६ करोड ७७ लाख निकासा भएको इञ्जीनियर श्रेष्ठले जानकारी दिए ।

यी दुवै पुलको ठेक्का १३ पुष २०७१ मा सँगै दिइएको थियो । ठेक्का सम्झौता अनुसार बिजुलीबजारस्थित धोबिखोलामाथि बनिरहेको पुलको समयावधि १३ पुष २०७४ मा नै सकिएको छ भने तिनकुनेको पुलको समयावधि गत ५ असारमा सकिएको छ ।

धोबिखोलाको ब्रिजमा एप्रोच रोडको काम हुँदै

इञ्जीनियर श्रेष्ठका अनुसार धोबिखोलामाथिको नेटवर्क आर्क ब्रिज आगामी दशैंसम्म सञ्चालनमा ल्याउने लक्ष्य छ । धोबिखोलाको पुलमा ढलानको काम सकिएसँगै नेटवर्क वायर -तार) तन्काएर कसिलो पार्न थालिने उनी बताउँछन् ।
तार तन्काएपछि त्यसमा भारवहन क्षमता जाँच गरिने छ । ती सबै काम सकिएपछि फर्मा खोलिने हुनाले निर्माणको काम केहि लम्बिने श्रेष्ठको भनाइ छ ।

धाेबिखाेलामाथि बन्दै गरेकाे नेटवर्क अार्क ब्रिज

यसमा ‘एप्रोच रोड’को काम बाँकी रहेको उनले बताए । मुख्य सडकसँग जोड्ने वा वुद्धनगरतर्फ आउने बाटो -एप्रोच रोड) को काम सोमबारबाट सुरु भएको उनले जानकारी दिए ।  बानेश्वरबाट बिजुलीबजारतर्फ जाने साइडतर्फ पुलसँगै अर्कोतर्फ बन्दै गरेको पुलको भने जम्मा १० प्रतिशत काम भएको श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार त्यहाँ खानेपानीको पाइप परेकाले काम ढिलाइ भइरहेको छ ।

धाेबिखाेलामाथि बन्दै गरेकाे नेटवर्क अार्क ब्रिज

‘खानेपानीको पाइप परेकाले केहि ढिलाइ भएको छ, विजुलीको तार भने अण्डरग्राउण्ड गरियो, अर्को पूलको काम पनि सँगै अघि बढ्छ’, उनले भने ।  काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले बिजुलीबजारस्थित धोबीखोला र तीनकुनेस्थित बाग्मती नदीमा ‘नेटवर्क आर्क ब्रिज’ निर्माण गरिरहेको हो ।

पछिल्लो समय विश्वभर रुचाउन थालिएको नेटवर्क आर्क प्रविधिको पुल बलियो मात्रै नभएर सौन्दर्य प्रवर्धनको पक्षले पनि उत्कृष्ट हुने इञ्जीनियर श्रेष्ठ बताउँछन् ।  यस्तै प्रविधिमा बिजुलीबजार र तिनकुनेमा अहिले रहेको पुलको दायाँ-बायाँ ४ वटा पुल बन्दैछन् ।

धाेबिखाेलामाथि बन्दै गरेकाे नेटवर्क अार्क ब्रिज

बिजुलीबजारको पुल निर्माण भएपछि सर्भिस लेन-मुल सडकको दायाँ (बायाँको लेन) बाट गुडेका सवारीले पुलको बीच लेनमा आउनुपर्ने छैन । माइतीघर-तीनकुने सडकखण्डका सर्भिस लेनहरु नयाँ पुलसँगै जोडिनेछन् ।

अहिले सर्भिस लेनमा आएका सवारी पनि पुल हुँदै वार-पार गर्छन् । र पुनः मोडिएर सर्भिसलेनमा लैजानुपर्ने बाध्यता छ । यो बाध्यतालाई अब बन्ने ४ वटा पुलले हटाइदिनेछ । पुलको सडक भागमा पीच वा आरसीसी नै गरिन्छ ।

के हाे ‘नेटवर्क अार्क ब्रिज’

‘नेटवर्क आर्क’ अहिले नेपालमा बनिरहेका पुलहरु भन्दा बिल्कुलै फरक प्रवधिको हो । यो आर्कमा नै आधारित हुने भएकाले देख्दा पनि निकै फरक खालको हुन्छ । आर्क ब्रिजमा अहिले नेपालमा बनिरहेका पुलमा जस्तो बीच-बीचमा पिल्लर प्रयोग गरिँदैन । पिल्लर नहालेपनि ‘अब्युटमेन्ट’को आधारमा पुलको वारपार आर्क (धनुष) फिक्सिङ गरिन्छ ।

र, माथिल्लो भागमा बांगो आकारका आर्क राखिन्छ । आर्कहरुलाई पनि क्रस ढलान गरेर जोडिन्छ । र केलबहरु प्रयोग गरेर लोड व्यवस्थापन गरिन्छ । आर्कलाई ‘अब्युटमेन्ट’मा जोडिन्छ । आर्कमार्फत नै पुलको भारलाई बोक्ने संरचना फिक्स गरिन्छ । पुलमा गाडी गुड्दा त्यसको भार केबल नेटवर्कमार्फत आर्क हुँदै ‘अब्युटमेन्ट’मा पर्छ । पुलको सम्पूर्ण भारलाई आर्कले नै थेग्छ ।

त्यसैका कारण पिल्लर नभएपनि यो प्रविधिको पुल बलियो मानिन्छ । पुलमा आरसीसी प्रविधिबाट आर्क बनाइन्छ । आर्क पुलको आकर्षक पक्ष भनेको यसले दिने शहरी सौन्दर्यता पनि हो यी पुलका आर्कमा ‘कलरफुल लाइट’ जडान गर्ने योजना छ ।

यसले सडक झिलिमिलि मात्रै हुनै छैन, पुललाई आकर्षक समेत देखाउने छ । दुबै पुल निर्माण भएपछि बिजुलीबजार र नयाँ बानेश्वर क्षेत्रमा हुने ट्राफिक जामको समस्या पनि कम गर्न मद्दत पुग्नेछ ।

फाेटाेहरूः चन्द्र अाले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment