Comments Add Comment

कफीमा मिसाउनुपर्छ यी चिज, स्वाद हुन्छ तिख्खर

मौसम चिसो छ । दिनदिनै जाडोले सम्राज्य जमाउँदैछ । बिहान-बेलुकी चिसो सिरोटो चल्न थालेको छ । भुँइकुहिरो र चिसो ठिहीले ज्यान चिस्याउँदैछ । यस्तो बेला तातो कफी सुरुप्प पार्नुको आनन्द कम हुन्छ ?

हरेक मौसमी परिवर्तनलाई हामीले स्वागत गर्नुपर्छ । चाहे दर्के झरी होस् वा चिसो ठिही, सबै अवस्थामा कसरी रमाउने भन्ने कला जान्नुपर्छ । अतः अहिलेको जाडोलाई पनि न्यानो स्वागत गर्ने विभिन्न काइदा छन् ।

यो मौसममा ज्यान तताउन वा मुड फ्रेस बनाउन कफी चाहिन्छ । कफी, जो हाम्रै घरबारीमा उत्पादन हुन्छ । अहिले शहरभरी कफीका पारखी बढेका छन् । त्यही अनुरुप थरीथरीका कफी पस्कने क्रम पनि झांगिएको छ ।

कफीलाई आफ्नो स्वाद अनुसार अनेकन ढंगले तयार गर्न र पिउन सकिन्छ ।

कफी पिउने सबैका आ-आफ्नै स्वाद पनि हुन्छ । खास पारखीहरुले चाहिँ कडा कफी मन पराउँछन् । तर, सँधै चाहेजस्तो मिल्दैन । यदि तपाईंको कफी आफूले चाहेको जस्तो कडा भएन भने तपाईं यसमा केही चीज मिसाएर यसलाई कडा बनाउन सक्नुहुन्छ । त्यस्तै यसको स्वाद पनि बढाउन सकिन्छ ।

तर, कफीको अधिक सेवन स्वास्थ्यको लागि नोक्सानदायक हुन सक्छ भन्ने कुरामा ख्याल गर्नुपर्छ । कफी धेरै पिउने बानीले तपाईंलाई एन्जाइटी इन्सोम्निया, माइग्रेन र पेटसँग सम्बन्धित कैयौं समस्याहरु उत्पन्न हुन सक्छ । यसैले सीमित मात्रामा मात्रै दैनिक कफी सेवन गर्नुपर्छ ।

थोरै कप कफी पिएर पनि तृप्त हुन चाहने हो भने कफीमा यी चिजहरु मिसाएर यसलाई तपाईं कडा  र स्वादिलो बनाउन सकिन्छ ।

दालचिनी

कफीमा दालचिनीको पाउडर मिसाउँदा यो कडा मात्रै हुँदैन, स्वादिष्ट पनि हुन्छ । दालचिनीले पुरुष र महिलाहरुमा यौनेच्छा बढाउन पनि मद्दत गर्छ ।

कागती

ब्ल्याक कफीमा केही थोपा कागतीको रस मिसाएर सेवन गर्नाले तपाईंलाई दिनभर उर्जावान रहन मद्धत मिल्छ । कागतीको रसमा भिटामिन-सी हुनाको कारण यसले तपाईंको उर्जा स्तर र मेटाबोलिज्मलाई बढाउँछ ।

बदाम दूध

सामान्य दूधको सट्टा कफीमा बदाम दूध मिसाउनुहोस् । यसमा मोनोस्याचुरेटेड फ्याट, ओमेगा ५ फ्याटी एसिड, प्रोटिन र मिनरल्स भरपुर हुन्छन् । यसले ग्लुकोज रिलीज हुने गतिलाई ढिलो बनाउँछ ।

डार्क चकलेट

डार्क चकलेटमा कफिन हुनाको साथै यसमा एन्टी अक्सिडेन्ट्स पनि हुन्छन् । यसलाई कफीमा मिसाउनाले कफी कडा हुन्छ । साथै एन्टीअक्सिडेन्टले इम्युनिटी बढाउन मद्धत गर्छ ।

ल्वाङ

ल्वाङले कफीको स्वादलाई बढाउने मात्र नभएर तपाईंलाई उर्जावान पनि बनाउँछ । एक कप कफीमा एउटा ल्वाङ मिसाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment