Comments Add Comment

प्रदेश ३ को राजधानी काभ्रेमा किन ? धुलिखेलका मेयरले दिए ३ कारण

३० कात्तिक, काठमाडौं । हेटौंडाले प्रदेश राजधानीलाई स्थायी कायम गर्न सबै शक्ति लगाइरहेका बेला काभ्रेपलाञ्चोक भने प्रदेश ३ को राजधानीका लागि आवश्यक भौतिक पूर्वाधार तयारी हालतमा राखेर बसेको छ । हेटौंडासँग अस्थायी राजधानी बाहेक ठूलो शक्ति छैन, तर काभ्रेसँग प्रदेशसभाको दुई तिहाई भन्दा बढी मत सुरक्षित रहेको दाबी काभ्रेली नेताहरुको छ ।

आखिर प्रदेशसभामा काभ्रेलाई राजधानी बनाउने सांसदहरुको संख्या दुई तिहाई भए पनि किन निर्णय हुन सकेन त ? यसको एउटै कारण छ– यो प्रदेशको राजधानीसँग सिंगो नेकपाको राजनीति र अध्यक्ष प्रचण्डको प्रतिष्ठा पनि जोडिएको छ । त्यसैले प्रदेशसभामा एकल निर्णय गर्ने हैसियतमा रहेको नेकपाले केपी ओली र प्रचण्डको सिग्नल नपाउँदासम्म प्रदेश ३ को राजधानीको टुंगो लाग्ने छैन ।

प्रदेश ३ को राजधानी काभ्रे बनाउनका लागि प्रदेशसभा सदस्यहरुका चरणवद्ध छलफल भइरहेका छन् । भक्तपुर राजधानी बनाउनुपर्छ भन्नेहरु पनि काभ्रेकै पक्षमा उभिएपछि प्रदेशसभामा अधिक संख्या काभ्रेको पक्षमा छ । विपक्षी कांग्रेस लगायतका पार्टीको निर्णायक भूमिका नरहेकाले उनीहरु राजनीतिक दाउपेच गर्ने बाहेक अरु कुनै हैसियतमा छैनन् ।

प्रदेश राजधानी काभ्रे कायम गर्न नेकपाका प्रदेश कमिटी इञ्चार्ज अष्टलक्ष्मी शाक्यले अध्यक्षहरुलाई भनिसकेकी छन् । प्रदेशसभा सदस्यसमेत रहेकी शाक्यले उपत्यकामा भने प्रदेश राजधानी राख्न नहुने बताइन् । उनले सबैलाई पायक पर्ने हिसाबले काभ्रेपलान्चोकलाई प्रदेश राजधानी बनाउनुपर्ने सुझाव पार्टी नेतृत्वलाई दिएकी छन् ।

एकातिर पार्टीको प्रदेश कमाण्डर शाक्य काभ्रेको पक्षमा छन् भने प्रदेशका सरकारी कमाण्डर डोरमणि पौडेलको प्रतिष्ठा बनेको छ हेटौंडा । उनले राजधानीको विषयमा सार्वजनिक टिप्पणी नगर्न मन्त्रीहरुलाई कडा निर्देशन दिएका छन् । तर उनकै क्याबिनेटका दुई तिहाई मन्त्रीहरु काभ्रेलाई राजधानी बनाउनुपर्ने पक्षमा छन् । चितवनले बाहेक सम्भवतः हेटौंडाको पक्षमा अरुले मत दिने अवस्था छैन ।

सत्तारुढ नेकपाले प्रदेशसभामा राजधानीको विषयमा मतदान गराउन नहुने निष्कर्ष निकालिसकेको छ । त्यसैले यो विषय अब पार्टीको निर्णयमा भर पर्छ । पार्टीभित्र प्रदेश राजधानी काभ्रे बनाउने पक्षमा अत्यधिक मत रहेको छ ।

धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जुका अनुसार आइटी पार्कबाहेक धुलिखेलमा १५ वटा सरकारी कार्यालयका भवन तत्काल प्रदेश सरकारका लागि उपलव्ध गराउन सकिन्छ । आइटीपार्कभित्रै ५ वटा हल छन्, जहाँ प्रदेशसभा भवन बनाउन सकिन्छ ।

यद्यपि चितवनबाट निर्वाचित सांसदसमेत रहेका अध्यक्ष प्रचण्डले भने यसअघि नै हेटौंडाको पक्षमा बोलिसकेकाले हेटौंडा पक्षधरलाई प्रचण्डको आश छ ।

काभ्रेमा प्रदेश राजधानी आउने सम्भावना रहेको भन्दै त्यहाँका स्थानीय तहले आवश्यक तयारी समेत गर्न थालेका छन् । बनेपा, धुलिखेल र पनौति नगरपालिकाको बीचमा आइटी पार्क छ । करीव २ सय रोपनी क्षेत्रफल ओगट्ने आइटीपार्कमा आधुनिक भवनहरु छन् र त्यो पार्क प्रयोगविहीन छ । तत्काललाई आइटी पार्कमै प्रदेशका सबै संरचना राख्न सकिन्छ ।

धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जुका अनुसार आइटी पार्कबाहेक धुलिखेलमा १५ वटा सरकारी कार्यालयका भवन तत्काल प्रदेश सरकारका लागि उपलव्ध गराउन सकिन्छ । आइटीपार्कभित्रै ५ वटा हल छन्, जहाँ प्रदेशसभा भवन बनाउन सकिन्छ ।

त्यस्तै आइटी पार्कभित्रै प्रदेश प्रमुख प्रदेश सरकारका मुख्यमन्त्री,मन्त्री लगायत सभामुखहरुलाई आवासगृह पनि तयार छन् ।

मेयर ब्यान्जुले भने– प्रदेशको राजधानीका लागि आवश्यक पर्ने सबै पूर्वाधार हामीसँग छन् । राजधानी बन्ने ठाउँमा विश्वविद्यालय अस्पताल र ठूला राजमार्गको पहुँच हुनुपर्छ । हामीसँग धुलिखेल अस्पताल, काठमाडौं विश्वविद्यालय र वीपी तथा अरनिको राजमार्गको पहुँच छ । पाँचतारे होटलदेखि ठूलासाना रिसोर्टहरु ६० वटा भन्दा बढी छन् । प्रदेश सरकार तथा प्रदेश संसदका लागि आवश्यक पुर्वाधार तयारी हालतमा छन् ।

काभ्रे राजधानी हुनुपर्ने औचित्य पुष्टि गर्दै प्रदेशसभा सदस्य चन्द्र लामाले सबैलाई पायक पर्ने हिसाबले काभ्रे बाहेक अरु ठाउँमा प्रदेश राजधानी मान्य नहुने बताए । उनले काभ्रे प्रदेश ३ का सबै जिल्लाबाट कम्तिमा ३ देखि ४ घण्टाको बीचमा सहज आवागमन हुने ठाउँ भएकाले पनि राजधानी बनाउन उपयुक्त रहेको दावी गरे । काभ्रेको पक्षमा मकवानपुर बाहेक सबै जिल्ला उभिने दावी काभ्रे पक्षधरहरु बताउँछन् ।

प्रदेश ३ को ११० सदस्यीय प्रदेशसभामा काठमाडौं उपत्यकाबाट निर्वाचित सदस्यहरु नै लगभग बहुमतमा छन् । प्रत्यक्ष निर्वाचित ६६ मध्ये ३३ जना उपत्यकाबाट निर्वाचित छन् । समानुपातिक समेत जोड्दा उनीहरुको बाहुल्य छ । त्यसबाहेक सिन्धुली,रामेछाप,दोलखा,सिन्धुपाल्चोक,काभ्रे,रसुवा,नुवाकोट र धादिङको मत पनि हेटौंडा हुनु हुँदैन भन्नेछ ।

प्रदेशसभामा सम्भावित राजधानीका लागि काभ्रे, भक्तपुर, नुवाकोट, हेटौंडा र चितवनको नाम प्रस्ताव गरिएको छ । तर, अहिले नेकपाभित्र हेटौंडा कि काभ्रे भन्ने बहस छ । राजधानीको निर्णय नेकपाको केन्द्रबाटै हुने प्रमुख प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयालले बताए ।

उनले भने– हामी अबको प्रदेशसभा बैठकअघिनै नाम र राजधानीको टुंगो लगाउने गरी पार्टीमा छलफल गरिरहेका छौं । मूल पार्टीको निर्णयमै सबै संसदीय अंगहरु चल्ने हुन् । त्यसैले पार्टीले निर्णय गरेपछि प्रदेशसभाबाट बैधानिक प्रक्रियाबाटै प्रदेशको राजधानी र नामको टुंगो लगाउँछौं ।

स्रोतका अनुसार सिन्धुली, रामेछाप, दोलखा, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र धादिङ लगायतका जिल्लाका प्रदेश सभा सदस्यहरुले काभ्रेको पक्षमा पार्टीभित्र लबिङ तीब्र पारेका छन् । यसको नेतृत्व राजेन्द पाण्डे र केशव स्थापित लगायतका प्रभावशाली नेकपाका नेताहरुले गरिरहेका छन् ।

धुलिखेलका मेयर भन्छन्–यसकारण काभ्रेमा राजधानी

प्रदेश ३ को स्थायी राजधानी काभ्रेमै किन हुनुपर्ने ? यसका प्रमुख तीन कारण बताइदिनुस् भनेर हामीले नगरपालिका संघका अध्यक्ष समेत रहेका धुलिखेल नगरपालिकाका मेयर तथा तत्कालीन एमालेका काभ्रे जिल्ला उपाध्यक्ष अशोक ब्यान्जुलाई सोध्यौं ।

उनले काभ्रेमै राजधानी हुनुपर्ने कारणहरु व्याख्या गरे–

१. प्रदेशको राजधानीमा सबै पूर्वाधार चाहिन्छ । विश्वविद्यालय, अस्पताल, ठूला राजमार्ग र होटलहरु । काभ्रेमा यी सबै पूर्वाधार छन् । हामीसँग काठमाडौं विश्वविद्यालय छ । धुलिखेल अस्पताल छ ।

अरनिको राजमार्ग र वीपी राजमार्ग यहीँबाट जान्छन् । हामी निजगढ द्रतमार्गमा जोडिदैछौं । यो प्रदेशका १३ मध्ये ११ जिल्लाको सहज पहुँच काभ्रेसँग छ । ३ घण्टादेखि ४ घण्टाको दूरीमा ती जिल्लाहरुबाट आवत–जावत गर्न सकिन्छ ।

हामीसँग आइटी पार्कमा प्रदेशका सबै संरचना अटाउने तयारी पूर्वाधार छन् । कामठाडौं विश्वविद्यालयमा ३५ सय मान्छे अट्ने सभाहल बन्दैछ । एकैपटक २ हजार मान्छे आए पनि सहज सेवा दिन सकिने पूर्वाधार छन् । ५२ वटा रिसोर्ट र एउटा पाँचतारे होटल धुलिखेलमा छन् । अरु दुईटा पाँचतारे होटल धुलिखेलमा बन्दैछन् ।

२. प्रदेशको राजधानी भनेको सबैलाई पायक पर्ने ठाउँमा हुनुपर्छ । संघीय राजधानीसमेत भएको भएको हुनाले यो प्रदेशको राजधानी काभ्रे नै उपयुक्त हुन्छ । अधिकांश यस प्रदेशका मान्छेको उठबस र बसोबास आफ्नो जिल्ला बाहेक काठमाडौं उपत्यकामा छ । प्रदेश सभाका सदस्यहरु अहिले हेटौंडामा बस्न सक्दैनन् । सबैका परिवार यतै छन् ।

उपत्यकाका प्रदेश सभा सदस्यको संख्या सबैभन्दा बढी छ । सबैको सहज आवतजावत पनि काभ्रे नै हुन्छ । हावापानी पनि काभ्रेको राम्रो छ । विदेश पर्यटकको समेत गन्तव्य हो काभ्रे ।

३. हामीले अबको १० वर्षपछिको पनि विचार गर्नुपर्छ । हाम्रो विकासको रफ्तार र जनसंख्या बढदै जाँदा राजधानीको क्षेत्र विस्तार गर्नुपर्ने हुन्छ । त्यो जमिनको उपलब्धता काभ्रेमा छ । भोलिका चुनौति सामना गर्न सक्ने सबै पूर्वाधार हामीसँग तयारी अवस्थामा छन् । अहिले धुलिखेल नगरपालिकाले प्रदेश राजधानीका लागि थप १ हजार रोपनी दिन सक्छौं भनेका छौं ।

खानेपानीको समस्या अझै ५० वर्षसम्म यहाँ हुँदैन । खेलमैदान ५ वटा छन् । हामी राजधानी आउना साथ सबै मन्त्री,सांसद समेतलाई आवास भवन समेत उपलव्ध गराउन सक्छौं । नयाँ संरचना बनाउनेभन्दा भइरहेका संरचना पयोग गर्ने हिसाबले पनि काभ्रे उपयुक्त छ ।

यो पनि पढ्नुहोस प्रदेश ३ को राजधानीबारे हेटौंडावासीको तर्क- काठमाडौंलाई मानिन्न, रसुवा लगे हुन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment