१५ असोज, काभ्रेपलाञ्चोक । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परेर ज्यान गुमाउनेमध्ये तीन जना काभ्रेपलाञ्चोकका परेका छन् । पहिरोमा भेटिएका शवमध्ये काभ्रेपलाञ्चोकको तेमालका तीन जना परेका हुन् ।
गत असोज ११ गते गएको हिमपहिरोमा हराइरहेकामध्ये बिहीबार आठ जनाको शव फेला परेको थियो ।
जसमा तेमाल गाउँपालिका–१ कल्लेरीपाखा घर भएका २ जना र तेमाल गाउँपालिकाका-५ का १ जनाको शव छन् ।
तेमाल–१ का स्थानीय ग्यान्जा लामाका अनुसार तेमाल–१ कल्लेरीपाखाका बिर्खध्वज तामाङ (लालध्वज) र ङेमा दोर्जे तामाङ (लवाङ) र तेमाल–५ का जगत तामाङ रहेका छन् ।
हराएका १६ मध्ये उनीहरूसहित १५ जनाको शव बरामद भएको छ, भने एक जना अझै बेपत्ता छन् ।
हिमालको आधार शिविरमा असोज ११ गते बिहान हिमपहिरो गएको थियो ।
उक्त क्षेत्रमा नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए)ले खोज तथा उद्धारका लागि ११ सदस्यीय उद्धार दक्ष टोली खटाएको थियो ।
प्रतिक्रिया 4