Comments Add Comment

अङ्गीकृत नागरिकताले राष्ट्रियतामा असर पार्न सक्छ : गृहमन्त्री थापा

२ मंसिर, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले नागरिकताका कारण कैयौं राष्ट्रको अखण्डता गुमेको भन्दै यस विषयमा सरकार संवेदनशील रहेको बताएका छन् ।

आइतबार राज्य व्यवस्था समितिमा नेपाल नागरिकतासम्बन्धी विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले भने ‘नागरिकताका कारण कैयौं राष्ट्रको अखण्डता गुमेको पनि देखेका छौं । त्यसकारण यसमा संवेदनशील हुनुपर्नेछ’ उनले भने ।

मन्त्री थापाले कति विदेशीले नेपाली नागरिकता लिएका छन् भन्ने विषयमा छानबिन हुने बताए । लाखौं विदेशीलाई नागरिकता वितरण गरिएको र त्यसमा ठूलो आर्थिक चलखेल भएको भन्दै उनले विदेशीले लिएको नागरिकताबारे छानबिन हुने बताएका हुन् ।

अङ्गीकृत नागरिकताका कारण राष्ट्रियतामाथि असर पर्ने हुनाले यसलाई ठीक ढंगले हल गर्न सकिएन भने राष्ट्रियतामा नै खतरा पार्ने मन्त्री थापाले बताए । ‘राष्ट्रिय अखण्डतामाथि असर पर्ने कुराहरु छन् । अङ्गीकृत नागरिकता वितरणमा ध्यान दिइएन भने राष्ट्रियतामाथि नै खतरा हुन्छ’ उनले भने ।

गृहमन्त्री थापाले अब जन्मको आधारमा नागरिकता नदिइने बताए । ‘बंशजको आधारमा नागरिकता, अङ्गीकृत नागरिकता, गैरआवासीय नागरिकता छन् । जन्मको आधारमा नागरिकता त्यो खारेज गरिएको छ’ उनले भने अङ्गीकृत नागरिकता दिने व्यवस्थालाई संशोधन आवश्यक छ ।

समितिका सदस्यहरुले विदेशिले नागरिकता पाएको विषयमा गृहमन्त्रीको धारणा मागेका थिए । सांसद प्रेम सुवालले ४० लाख विदेशीले नेपाली नागरिकता लिन सफल भएको भनेर भारतीय प्राध्यापकले आफ्नो पुस्तकमा लेखेको दावी गरे ।

सांसदहरु कृष्णगोपाल श्रेष्ठ, जनार्दन शर्मा, पम्फा भुसाल, रेखा शर्मा, यशोदा सुवेदी गुरुङ, वृजेशकुमार गुप्ता, झपटबहादुर रावललगायतले नागरिकता राष्ट्रको भविष्यसँग  समेत जोडिएको भन्दै गहन छलफलको आवश्यकता ‍औंल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment