Comments Add Comment

सरकारलाई उद्योगीको चेतावनीः कपडाको मूल्य बढ्न सक्छ

२ मंसिर, काठमाडौं । शनिबारदेखि देशभरका कपडा उद्योगी आन्दोलित छन् । सरकारले कपडा उद्योगलाई दिँदै आएको भ्याट फिर्ताको सुविधा बन्द गरेको भन्दै शनिबारदेखि उद्योगीहरु देशभरीका उद्योग बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।

सरकारले भ्याट फिर्ता नदिए नेपाली कपडा उद्योग बन्द हुने भन्दै उद्योगीहरु आन्दोलित भएका हुन् । उनीहरुले अब कपडाको मूल्य बढ्न सक्ने संकेत दिएका छन् ।

आम उपभोक्ताबाट कपडा किन्दा राज्यलाई तिरेको मूल्य अभिवृद्धि कर (भ्याट) कपडा व्यवसायीले राज्यबाट फिर्ता पाउने गरेका थिए । तर, उपभोक्ताले राज्यलाई तिरेको कर राज्यकै ढुकुटीमा हुनुपर्ने भन्दै सरकारले भ्याट फिर्ता नहुने कानूनी प्रवन्ध गरेपछि कपडा उद्योगीहरु रिसाएर बन्द हड्तालमा उत्रिएका हुन् ।

देशभरीका करिव २५० कपडा उद्योगहरु बन्द भएपछि सैयौं मजदुरहरु मर्कामा परेका छन् । नेपाल कपडा उद्योग संघका अनुसार शनिबारदेखि मुलुक भरका २५० भन्दा बढी कपडा उद्योगहरु बन्द भएका छन् ।

सरकारले यसअघि उद्योगीहरुलाई भ्याट सुविधा दिइरहेको थियो । पाँच महिनाअघि जब आर्थिक ऐन ०७५ आयो, त्यसपछि उद्योगीहरुले भ्याट फिर्ताको सुविधा नपाउने भएका छन् ।

उद्योगीका मागः भ्याट फिर्तादेखि विद्युत महसुलसम्म

कपडा उद्योगीहरुले सरकारसँग भ्याट फिर्ता बराबरको रकम नगद अनुदान उपलब्ध गराउनुपर्ने, उद्योगले नयाँ मेसिन खरिद गर्दा ३० प्रतिशत नगद अनुदान पाउनुपर्ने, पाँच प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने लगायतका मागहरु अघि सारेका छन् ।

साथै विद्युत् महसुलमा छुटदेखि लिएर विभिन्न अनुदानहरुको समेत उद्योगीहरुले माग तेस्र्याएका छन् । सरकार भने आफ्नो अडानबाट तत्कालै पछि हट्ने संकेत कमै छ । तर, यस विषयमा आइतबार पनि सरकारी अधिकारीहरु र उद्योगीबीच समस्या समाधानका लागि छलफल भएको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

आखिर उपभोक्ताले राज्यलाई तिरेको भ्याट कपडा उद्योगीहरुलाई किन सरकारले फिर्ता दिनुपर्ने ? कपडा उद्योगीहरुले भ्याट छुट बन्द भएको बहानामा कपडाको मूल्यवृद्धि गर्न खोजेका त हैनन् ? अनलाइनखबरको प्रश्नमा नेपाल कपडा उद्योग संघका अध्यक्ष अध्यक्ष शैलेन्द्रलाल प्रधान भन्छन्, ‘हामीले उपभोक्ताको हित नै चाहेका छौं, सरकारी व्यवस्थाले उपभोक्तालाई गाह्रो पर्दैछ ।’

यो पनि पढ्नुहोस अनुचित लाभ लिन उद्योगीको आन्दोलन

अध्यक्ष महर्जनले कपडाको मूल्य बढ्न सक्नेतर्फ संकेत गर्दै भने, ‘हामीलाई सरकारले दिइरहेको सुविधा कटौती ग¥यो, यसले हाम्रो लागत खर्च बढेको छ । हाम्रो लागत खर्च बढ्नु भनेको वस्तुको मूल्य बढ्नु हो । लागत खर्च बढेपछि त मूल्य बढ्छ नि । यसको असर त उपभोक्तालाई पर्ने हो ।’

हामीले नेपाल कपडा उद्योग संघका अध्यक्ष महर्जनलाई सोध्यौं–‘तपाईहरुले सरकारलाई बुझाएको भ्याट फिर्ता पाउनुपर्ने माग गर्दै देशभरका कपडा उद्योगहरु बन्द गर्नुभएको छ । माग पूरा भएन भने के गर्नुहुन्छ ?’

महर्जनले भने– ‘सरकारले हाम्रो माग पूरा गरेन भने हामी उद्योग बन्द गर्छौं । त्यसपछि सरकारले हाम्रा कामदारको जिम्मा लिनुपर्छ । सरकारले कसरी कपडा उद्योग जिम्मा लिन्छ हामी पनि हेर्छाैं । यो सरकारले नारामा ५ लाखलाई रोजगारी दिने भनेको छ, तर व्यवहारमा भने भएको रोजगारी पनि हटाउँदैछ ।’

आफ्ना मागहरु पूरा नभए सबै उद्योगको साँचो सरकारलाई बुझाउने तयारी भइरहेको बताउँदै महर्जनले भने, ‘हेटौडाको एउटा टेक्सटाइल उद्योग चलाउन नसक्ने सरकारले हामीले जे–जसरी हुन्छ, चलाउनुस् भन्न मिल्छ ?’

यो पनि पढ्नुहोस भ्याट फिर्ता माग्नेलाई प्रश्न: उपभोक्ताले के लाभ पाए ? यो पनि पढ्नुहोस भ्याट बहस : सरकारले उद्योगलाई कहिलेसम्म संरक्षण गर्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment