Comments Add Comment

स्मृतिमा प्रकाश दाहाल !

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको रौनक निकै अघि बढिसकेको थियो । पार्टीको सम्पूर्ण पंक्ति निर्वाचन अभियानमा होमिएको थियो । पार्टी अध्यक्ष कमरेड प्रचण्ड सचिवालयको टिमसहित पश्चिम नेपालबाट क्रमशः पूर्वतिरका कार्यक्रममा सरिक हुँदैहुनुहुन्थ्यो । समाजवादी पार्टी अफ बङ्गलादेशको निम्तोमा पार्टीको प्रतिनिधित्व गर्दै युवराज चौलागाई र म ढाका पुगेका थियौं ।

साँझ अबेरसम्मको कार्यक्रमको चापले बिहान निद्रा ढीला खुल्यो । काठमाडौंबाट भतिज लेखराज शाहको फोनले ब्युँझायो । घडीमा सात बजेको थियो । उनले प्रकाश दाहाललाई हृदयाघात भएको र नर्भिक हस्पिटलमा पुर्‍याइएको खबर सुनाए ।

म आत्तिएँ । युवराज चौलागाईलाई उठाएँ र खबर सुनाएँ । उहाँलाई पनि मलाईझैं यो खबर पत्याउन कठिन भयो । काठमाडौंमा अरु श्रोतहरुबाट खबरको आधिकारिकता बुझ्ने प्रयास थाल्यौं । क्षणभरमै फेसबुकका भित्ताहरु रंगिइसकेका थिए । अनलाइन र टेलिभिजनको ब्रेकिङ न्युजमा प्रकाश दाहाल रहेनन् भन्ने आए । आफूलाई सम्हाल्न गाह्रो भयो । बाथरुम पसें । युवराजजी पनि बोल्न नसकेर एकोहोरो बन्नुभएको थियो ।

फेसबुकमा एउटा स्टाटस लेखें । शब्द धेरै व्यक्त गर्न सकिनँ । आयोजकलाई भनेर काठमाडौं फिर्ता हुने टिकट खोज्न लगायौं, भेटिएन । आफैंले काठमाडौंमा सम्पर्क गर्‍यौं, सम्भव भएन । एसपीबीका कमरेडहरुको योजना अनुसार उक्त औपचारिक कार्यक्रममै कमरेड प्रकाशप्रति श्रद्धाञ्जली अर्पण गरियो ।

हामी गम्भीर शोक र पीडासहित भौतिकरुपमा ढाकाको कार्यक्रम हलमा थियौं । तर, सम्पूर्ण दृष्टि नर्भिक हस्पिटल, पेरिसडाँडा र पशुपति आर्यघाटमा केन्द्रित भइरह्यो । साथीहरु शोकसागरको दृश्य लाइभ गरिरहेका थिए, मोबाइलको स्क्रिनमा हेर्न कठिन थियो । ढाकाको कार्यक्रम हलमा बगेको शोकाँशु आज सम्झँदा पनि सम्हालिन गाह्रो हुन्छ ।

हामीमाझबाट प्रिय कमरेड साकार दाहाल प्रकाश भौतिकरूपमा विदा भएको पनि एक बर्ष पूरा भैसकेको छ । उनको अनुपस्थितिमा आज जति पनि राजनैतिक परिवर्तन भएका छन, उनको यो सपना थियो, जुन उनले आफ्नै आँखा अगाडि देख्न पाएनन् । सायद आज प्रकाश भएको भए, पार्टी एकताको यो प्रक्रियाले अलि बढी गति लिन्थ्यो होला । नेताहरुबीचमा संवादको वातावरण अझ बढि सहज र सरल हुन्थ्यो होला । पार्टी कार्यालय र अध्यक्षको सचिवालयको काममा बढी सहज र सरल हुन्थ्यो होला ।

रमेश मल्ल

नेतृत्वको पारिवारिक तनावको त कुरै नगरौं, एक सबल योद्धा, जिम्मेवार सदस्य, एक जिम्मेवार बाबु, श्रीमान, पारिवारिक दायित्व काँधमा बोकेको छोरो, भातृत्वको भावना र मातृत्वको मुटुको टुक्रा जसको अभावमा अध्यक्षको परिवार कसरी गुज्रिरहेको छ, मसँग व्यक्त गर्ने कुनै शब्द छैन । यो क्षति वर्तमानको भोगाइ मात्र होइन, कम्युनिष्ट आन्दोलनमा भविश्यको यात्रामा भएको एक महशुस गर्न सकिने धक्का हो ।

प्रकाशले मलाई सम्बोधन गर्दा सधैं दाइ भनेर शुरु गर्थे । दाइ तपाई कता हो ? के छ सिंहदरबारतिर ? बुवाले कुरा गर्न खोज्नुभएको छ । विद्यार्थीको के छ ? निर्वाचनमा त्यहाँ के हुन्छ ? ल बुवासँग कुरा गर्नुस रे । दाइ ल आइहाल्नुस त बुवाले खोज्नुभएको छ । लगायतका विभिन्न संवाद मात्र होइन, “दाइ अब हाम्रो अगाडि अन्तिम अवसर छ कि गर या मर । यसपालि त जस्तोसुकै चुनौती सामना गरेर हामी सफल हुनैपर्छ । यो पार्टीका लागि, नेतृत्वका लागि र हाम्रो वर्गका लागि पुनः लयमा फर्कने अवसर हुन सक्छ । व्यक्तिगत चाहनाहरुलाई फेरि एकपटक सुलीमा नचढाई सफल बनिँदैन दाइ । आदि इत्यादि ।

एक परिपक्व राजनैतिक कार्यकर्ताको रुपमा उनको प्रस्तुती कम मूल्यवान थिएन । विद्यार्थी संगठनको मूल नेतृत्वको टिममा आएपछि र मूलतः संगठनको मुख्य नेतृत्व सम्हालेपछि अध्यक्ष र उहाँको सचिवालयसँगको सम्वन्धमा बढी निकट भएँ ।

विद्यार्थी मोर्चाको अध्यक्षबाट विदाइ भएको सातौं दिन मात्र बितेको थियो, कमरेड अध्यक्ष देशको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न पुग्नुभयो । प्रधानमन्त्रीको यो चुनौतीपूर्ण यात्राको एक सदस्य भएर जिम्मेवारी सम्हाल्ने अवसरकै सिलसिलामा कमरेड प्रकाशसँग बढी निकट रहेर काम गर्ने अवसर जुटेको हो ।

कमरेड प्रकाश सामान्य परिवारमा जन्मे । संघर्षपूर्ण आँधीमय दिनहरू छिचोल्दै आफूलाई आमूल परिवर्तनको क्रान्तिकारी अभियानको सारथी बनाए । सर्वहारा हेडक्वार्टरको रक्षार्थ व्यक्तिगत जीवनलाई तिलाञ्जली दिए । पार्टीभित्र र बाहिरका सबैखाले गलत प्रवृत्तिसँग चनाखो भएर संर्घषमा खरो उत्रिए ।

मान्छे हुनुको नाता उनले कतिपय मानविय कमजोरीका बाबजुद ती कमजोरीबाट सबक सिक्दै अघि बढेका थिए । जतिबेला उनी हाम्राबीचबाट अस्ताए, म दाबाका साथ भन्न सक्छु, उनी सामान्य मान्छे मात्र थिएनन् । उनीसँग जीवन र जगतलाई बुझ्ने र बदल्ने नयाँ चेत र जाँगर थियो । त्यसलाई समायोजन गर्ने कौशल थियो । समाजका विभिन्न अवयवहरुसँगको उनको घुलनशीलता मूलतः युवाहरुबीचमा उनको उपस्थिति एक उदीयमान विम्ब बनेर खडा हुँदै थियो । उनी अध्यक्षको पारिवारिक जीवनमा मात्र होइन, राजनैतिक जीवनमा समेत सारथीका रुपमा खडा हुँदै थिए । उनका जीवनका झाँकीबारे यहाँ धेरै भनिरहनु पर्दैन होला ।

जब म प्रधानमन्त्री प्रचण्डको टीममा रहेर काम गरिरहेको थिएँ । प्रधानमन्त्री दोश्रोपटक भए पनि हाम्रो टीम भने पहिलो पटकको र काँचै थियो । हामी सबै सिकारु नै थियौं । हामीले सहज कार्यविभाजन गर्‍यौं । देशलाई नयाँ सन्देश दिनु थियो, विश्वासको । राजनीतिका थुप्रै प्रश्नहरुको काम गरेर उत्तर दिनु थियो । कार्यविभाजन अनुसारको काम गर्ने मियो प्रकाश नै बन्न पुगे । रातदिन नभनी प्रधानमन्त्रीसँग साथमा रहेर राष्ट्रिय तथा अन्तरराष्ट्रिय सम्वन्धका मुद्दाहरु डिल गर्नुपर्ने काम चानचुने थिएन । सायद प्रकाशजी नभएको भए व्यवहारिक कोणबाट हेर्दा यो सम्भव थिएन । उनले नै यो सब भूमिका पूरा गरे ।

विभिन्न कवच लिएर गलत मनसायका साथ प्रधानमन्त्री कार्यालय वा निवासमा छिर्ने मान्छेको कमी थिएन । त्यसबाट प्रधानमन्त्री र उनको टिमलाई बचाउने कुरा पनि चानचुने विषय थिएन । आफ्नै नजिकका देखि पहुँचवाला राजनैतिक नेतृत्व किन नहुन् त्यस्तो मनसाय छ भन्ने आँकलन गरी ढोकाबन्दको नीति अख्तियार गर्ने कुरामा प्रकाश कठोर बन्न तयार भए ।

प्रकाश आफंै भन्थे– बिचौलियाको बिगबिगी भएको आजको समाजमा बिचौलियाहरु पहुँचवाला नेतृत्व र आफन्तको फुर्को समातेर भित्र पस्न खोज्छन्, चनाखो हुनुपर्छ, यिनले हामीलाई डुबाउँछन् ।

यो उनको राजनैतिक परिपक्वताको द्योतक थियो ।

पत्रकारिता क्षेत्र कुनै बेला प्रकाशको कटू आलोचक थियो । प्रधानमन्त्री कार्यालयमा हुँदा धेरैले त्यो सम्बन्ध प्रधानमन्त्रीका लागि बाधा बन्छ कि भन्ने आशंका गरेका थिए । तर, हामीले धेरै समय कुर्न परेन । उनको सहज सम्बन्ध सञ्चालनको प्लेटफर्ममा देशका ठूला मिडियादेखि श्रमजीवी पत्रकारहरुको समूह केन्द्रित भई रचनात्मक सहयोगको मोर्चामा उभियो ।

सत्तापक्षदेखि प्रतिपक्षसम्मका उच्चस्तरीय नेतृत्वदेखि देशका विद्दत वर्गको सहज सूचना आदान–प्रदान र सम्बन्ध सञ्चालनमा उनी धेरै काबिल देखिए । परराष्ट्र सम्वन्ध सञ्चालनमा पनि उनले आफ्ना बुबा र देशको प्रधानमन्त्रीलाई राम्रो साथ र हात दिए ।

तसर्थ मैले कमरेड प्रकाश दाहालका बारेमा मेरो पुस्तक छिमेक यात्रामा उल्लेख गरेको छु कि, “उनी नभएको भए हाम्रो सचिवालय र प्रधानमन्त्रीको सफलतामा धेरै ठूलो अभाव रहन्थ्यो होला ।”

आज उनी छैनन् र हामीलाई त्यही अभाव खड्किइरहेको छ । बुवाको सहयोगी मात्र होइन, सल्लाहकारको भूमिकामा उठिसकेको एक जिम्मेवार कमरेडको अभाव पार्टी अध्यक्षकोमा पक्कै होला । यसलाई पूरा गर्न त्यहाँ भएका साथीहरु सफल हुनुहुनेछ । उनका योगदानबाट हामीले सिक्नेछौं । यही नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।

(मल्ल नेकपाका नेता एवं स्व. प्रकाश दाहालका सहपाठी हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment