Comments Add Comment

के सन्तुलित मात्रामा मदिरा पिउँदा स्वास्थ्यलाई लाभ मिल्छ ?

अक्सर मदिरा पिउनेहरुको अनेक वाहाना हुन्छन् । उनीहरु भन्छन्, ‘सन्तुलित मात्रामा पिउने हो भने यसले औषधीको काम गर्छ ।’ सन्तुलित भनेको कति ? शरीरमा मदिराले कसरी राम्रो प्रभाव पार्छ ? के यो सत्य हो ?

यावत् जिज्ञासाबारे हिन्दी विविसी अनलाईनमा एक आलेख प्रकाशित छ । त्यसैको भावनुवाद यहाँ प्रस्तुत गरिएको छ ।

मदिरा र स्वास्थ्यको सम्बन्ध

हामी मध्ये जो मानिस कहिलेकाँही एक गिलास बियर वा एक दुई पेग मदिरा पिउँछौ धेरैले थोरै मदिरा पिउनाले शरीरलाई नोक्सान नहने बरु फाइदा हुने विश्वास गर्छौं ।

जब कुनै यस्तो अध्ययन अगाडि आउँछ जसले कम मात्रामा मदिरा पिउनु स्वास्थ्यको लागि राम्रो हो भन्ने संकेत दिन्छ त्यतिखेर मिडिया र आममानिसहरुले पनि यसलाई ठूलो उत्साहसँग स्वागत गर्छन् ।

तर, कम मात्रामा पनि मदिरा पिउनाले स्वास्थ्यमा कुनै फाइदा हुन्छ भन्ने कुरा ठोकुवा गर्न भने धेरै नै मुस्किल काम हो ।

प्रमाणहरुको आधारमा औषधी दिने प्रकियाको जनक मानिने आर्ची कोक्रेननले एक सुरुवाती अध्ययनमा मदिराको सेवन र स्वास्थ्यमा सम्बन्ध रहेको पाएका थिए ।

सन् १९७९ मा उनले आफ्ना दुई सहयोगीहरुसँग मिलेर १८ विकसित देशमा मुटुसम्बन्धी रोगहरुबाट हुने मृत्युको वास्तविक कारण जान्ने कोसिस गरेका थिए । ती देशहरुमा अमेरिका, बेलायत र अष्ट्रेलिया पनि समावेश थिए ।

मदिराको मुटुरोगसँग सम्बन्ध

आर्ची कोक्रेनले आफ्नो विश्लेषणमा मदिरा विशेषगरि वाइनको सेवन बढाउँदा मुटुरोगको जोखिम कम हुने स्पष्ट सम्बन्ध भएको बताए ।

कोक्रेन र उनका साथीहरुले फरक फरक देशका मानिसहरुमा मुटुरोगले हुने मृत्युको दर किन फरक छ भनेर बुझ्ने कोसिस गरेका थिए ।

उनका अनुसार मदिरा बनाउनको लागि जुन दोस्रो तत्व प्रयोग हुन्छ त्यसमा पाइने एन्टीअक्सिडेन्ट वा वनस्पतीको पोलिफेनोल स्वास्थ्यको लागि फाइदाकारी हुन्छ ।

सन् १९८६ मा शोधकर्ताहरुको अर्को समूहले अमेरिकामा ५० हजारभन्दा धेरै पुरुष डाक्टरहरु माथि सर्वेक्षण गरेको थियो । यसमा उनीहरुको खानपिनको बानी, उनीहरुको चिकित्सकिय इतिहास र स्वास्थ्यको स्थितीमाथि दुई वर्षसम्म अनुसन्धान गरिएको थियो ।

यो अध्ययनमा जो डाक्टर धेरै रक्सी पिउँछन् उनीहरुमा कोरोनरी हार्ट रोगहरु कम हुने कुरा पत्ता लागेको थियो ।

कम मदिरा पिउने मानिस यसै पनि धेरै सतर्क

सन् २००० मा प्रकाशित एक अर्को अध्ययन अनुसार यदि तपाईं दैनिक एक पेग गुणस्तरीय मदिरा सेवन गर्नुहुन्छ भने सप्ताहमा मदिरा नपिउने मानिसको तुलनामा तपाईंको मृत्यु हुने सम्भावना कम हुन्छ ।

यस अध्ययनका अनुसार मदिराको खपत र हृदय रोगको बीचमा यस्तो सम्बन्ध छ । दैनिक धेरै मात्रामा मदिरा पिउने मानिसहरु तुलनामा जो मानिस सोचेर बुझेर कम मात्रामा मदिराको सेवन गरिरहेका छन् उनीहरुको हृदय रोगबाट मृत्य हुने सम्भावना कम छ ।

तर, कम मदिरा सेवन गर्ने मानिसमा के मदिराको सेवन फाइदाकारी छ वा फेरि यी मानिसहरु आफ्नो स्वास्थ्यको बारेमा यसै पनि धेरै सतर्क हुन्छन ? के कम मदिरा पिउने मानिसहरु नियमित रुपमा शारीरिक व्यायाम गर्छन ? सन्तुलित भोजन गर्छन् ? र आफ्नो ख्याल राख्छन् ? यस्ता धेरै प्रश्नहरुको उत्तर पाउन सकिँदैन ।

सन् २००५ मा मेडिकल प्रोफेसनलहरुको बीचमा एक अर्को अध्ययन भएको थियो जसमा ३२ हजार महिला र १८ हजार पुरुष सहभागी थिए । यसमा मदिराको सेवनबाट हार्ट अट्याकको खतरा र शरीरमा हुने असरबीच के सम्बन्ध छ भनेर पत्ता लगाउने कोसिस गरिएको थियो ।

अध्ययनबाट जो मानिस सातामा तीन चार पटक एक वा दुई पेग मदिरा पिउँछन् उनीहरुमा हार्ट अट्याक हुने जोखिम कम हुने तथ्य अगाडि आयो ।

यसको कारण मदिराको गुड कोलेस्टेरोल र हेमोग्लोबिन ए१ सी मा असर हुन्छ होला वा फेरि फाइबरिनोजेनमा असर हुन्छ होला भनेर शोधकर्ताहरु मान्छन् ।

अध्ययनमा ठूलो कमजोरी

यी तीन कारकहरुको मेटाबोलिक सिन्ड्रोममा महत्वपूर्ण भूमिका हुन्छ । अध्ययनहरुबाट सम्भवत यी कारकहरुमा राम्रो सन्तुलन स्थापित हुन्छ होला भन्ने संकेत मिलेको छ ।

तर, यसलाई पढेर तपाईंले मदिराको सेवन बढाउन सुरु गर्नु भन्दा पहिले तपाईंले केही अरु पनि पढ्नुपर्छ ।

के मदिरा नपिउने मानिसहरुमा मदिराको एक दुई पेग दैनिक पिउने मानिसको तुलनामा मृत्युको खतरा धेरै हुन्छ ? यसको सिधा जबाफ दिन सजिलो छैन ।

सन् २००६ मा शोधकर्ताहरुको एक टिमले यी अध्ययनहरुको गम्भिरताको समिक्षा गरेको थियो । उनीहरुले ती अध्ययनमा एक ठूलो कमजोरी देखे । अध्ययनमा मदिराको सेवन नगर्ने मानिसहरुको रुपमा ती मानिसहरु सहभागी थिए जसले रोग र बढ्दो उमेर जस्ता कारणहरुले मदिरा पिउन छोडिसकेका थिए ।

यस्तोमा यी मानिसहरुको स्वास्थ्य आम मानिसको तुलनामा राम्रो भएको कुनै सम्भावना थिएन ।

मदिराको पचाउने गुण

एक अर्को अध्ययनमा यी कमजोरीहरुलाई टाढा गर्ने कोसिस गरियो । यसै वर्ष बेलायतका मानिसहरुमाथि अध्ययन गरिएको थियो ।

उक्त अध्ययन अनुसार यदि मदिराको खपत र स्वास्थ्यको मात्रै तुलना गर्ने हो भने तपाईंलाई सीमित मात्रामा मदिराको सेवनबाट फाइदा मिल्ने छ ।

तर, यदि यी अध्ययनहरुमा मदिरा नपिउने ती मानिसहरु जो पहिले मदिरा पिइरहन्थे उनीहरुलाई निकालिदिने हो भने मदिरा पिउनाको कुनै फाइदा देखिँदैन ।

एक अर्को टिमले ती मानिसहरुमा पनि अध्ययन गरेको थियो जसको शरीरले मदिरालाई ठिकसँग पचाउन सक्दैन । यसमा ती मानिसहरु सहभागी थिए जो मदिरा सेवन गर्थेनन् । यी मानिसहरुको तुलना मदिरा पिउने मानिसहरुसँग गरिएको थियो ।

यस अध्ययनको नतिजाले मदिराको सेवनले हृदयघातको जोखिम बढे पनि वा नबढेपनि यसले अन्य प्राणघातक रोगहरु लाग्ने सम्भावना भने पक्कै पनि बढ्ने देखायो ।

विश्व स्वास्थ्य संगठनको गत वर्षको रिपोर्ट अनुसार मदिरा सेवनले डिप्रेशन, बेचैनी, लिभर सिरोसिस, पेनकि्रयाटाइटिस, आत्महत्याको प्रवृत्ति, हिंसा र दुर्घटना जस्ता घटना बढ्छ ।

मदिराको सेवनले मुख, नाक, घाँटी, कलेजो र स्तनको क्यान्सरको खतरा पनि बढ्छ । विश्वभरमा क्यान्सरबाट हुने मृत्युमा ४ देखि ३० प्रतिशत मृत्यु मदिराको सेवनको कारण हुने गर्छ ।

स्तन क्यान्सरमा त यो आँकडा ८ प्रतिशत रहेको छ । यसमा एक पेग प्रतिदिनि लिनाले स्तन क्यान्सरको खतर ४ प्रतिशत सम्म बढ्छ भने धेरै सेवन गर्नाले यो खतरा ४० देखि ६० प्रतिशत सम्मा बढ्छ ।

मदिरा सेवनले कम्तीमा २०० रोगहरुको खतरा

मदिराको धेरै सेवनले तपाईंको प्रतिरोधी क्षमता कमजोर गर्छ र यसको साथै निमोनिया र टिभी हुने खतरा बढ्छ ।

मदिराको सेवनले यौन व्यवहारमा जोखिम लिने सम्भावना बढ्छ र एचआइभी र अन्य संक्रमित रोगहरु हुने खतरा पनि बढ्छ ।

गर्भावस्थामा महिलाले मदिरा सेवन गरेमा शिशुको विकास प्रभावित हुन्छ । मदिरा सेवनले कम्तीमा पनि २०० लाग्ने खतरा हुन्छ । यसमा ३० वटा रोग त मदिराको सेवनको कारणले मात्रै हुन्छ ।

तर, ‘सीमित मात्रामा मदिराको सेवनले फाइदा हुन्छ’ भन्ने मान्यता पूर्णरुपमा हटेको छैन । मदिराको सेवन बन्द गराउनको लागि जुटिरहेका संस्थाहरु पनि हिच्किचाउँदै मान्छन् कि कम मात्रामा मदिरा पिउनाले मुटु सम्बन्धी रोगहरु र स्ट्रोकमा फाइदा हुन सक्छ ।

तपाई पुरै कथा पढेपछि दुविधामा त पर्नुभएको छैन नी ?

मदिराको स्वास्थ्यमा पार्ने असरको बारेमा सन् २०१३ मा एक विस्तृत अध्ययन प्रकाशित भएको थियो । उक्त रिपोर्टको अन्त्यमा लेखिएको छ, ‘मदिराको हानीकारक प्रभाव हुने प्रमाण स्पष्ट छ तर, जे प्रमाण पाइएका छन् त्यस अनुसार यसको गर्ने भनिएको फाइदाहरुलाई भने शंका गर्न सकिन्छ ।

बिबिसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment