Comments Add Comment

दाङका बाढीपीडितले राहत पाएनन्, ४ वर्षदेखि टहराको बास

४ मंसिर, दाङ । दाङको बाढीपीडित क्षेत्रमा बाँसैबाँसका टहरा देख्न सकिन्छ । बाँसका टहरामा बस्नुपर्ने बाढीपीडितको बाध्यता बनेको छ । विसं २०७१ मा आएको बाढीले घर बगाएपछि पीडितले अझै घर बनाउन सकेका छैनन् । उनीहरु अहिलेसम्म बाँसका टहरामा नै बस्दै आएका छन् ।

हिउँदमा टहरामा बस्न मुश्किल हुने तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुरका बाढीपीडित जीतबहादुर चौधरी बताउँछन् । ‘वर्खामा बाढी भित्रै पस्ने समस्या हुन्थ्यो’, उनले भने, ‘हिउँदमा जाडोले सताउने गर्छ ।’

सरकारले घर निर्माणका लागि रु ७५ हजार उपलब्ध गराएको अर्का बाढीपीडित शरद चौधरीले गुनासो गरे । ‘बाँस कुहिएकाले भत्किने डर छ,’ उनले भने ।

जिल्लाका बाढीपीडितले चार वर्षसम्म घर बनाउन सकेका छैनन् । सरकारले रकम नदिँदा उनीहरुले घर निर्माण गर्न नसकेका हुन् । सरकारले राहत रकम चार किस्तामा उपलब्ध गराउने भने पनि अहिलेसम्म दुई किस्ता मात्रै दिएको चौधरीले बताउँछन् ।

भवन डिभिजन कार्यालयका इञ्जिनीयर सन्तोष यादव राहत रकम उपलब्ध गराउने काम जिल्ला प्रशासन कार्यालयको भएको बताउँछन् । ‘भवन डिभिजन कार्यालयले घर निर्माणको नक्सा तयार पारिदिने हो, सोहीअनुसार जिल्ला प्रशासनले राहत उपलब्ध गराउने हो,’ उनले भने ।

२०७१ मा जग्गा भएका तर घर नभएका २५० परिवारलाई रु २५ हजारका दरले रु ६२ लाख ५० हजार राहत उपलब्ध गराइएको यादवले बताए । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी गणेश आचार्यका अनुसार बाढीले ३५९ घर पूर्ण रुपमा क्षति तथा २८२ घरमा आंशिक क्षति पुर्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment