Comments Add Comment

प्रदेश ५ को राजधानी र नाम सिफारिस समितिको संयोजक तोकियो

४ मंसिर, बुटबल । प्रदेश पाँचको नाम र स्थायी राजधानी तोक्न गठित विशेष समितिले चार महिनामा बल्ल संयोजक पाएको छ ।

मंगलबार बसेको समितिको वैठकले सत्तारुढ दल नेकपाका सांसद जितेन्द्र कुमार पुनलाई संयोजक तोकेको हो । पुन रोल्पाबाट तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन् । निर्धारित तीन महिनाको अवधिसम्म समितिले संयोजक तोक्न र कार्यविधि बनाउन समेत सकेको थिएन ।

बैठकले समितिको म्याद थप गर्न सभामुख पूर्णबहादुर घर्तीसंग अनुरोध गर्ने निर्णय गरेको समितिका सदस्य सांसद वीरबहादुर रानाले अनलाइनखबरलाई जानकारी दिए । बैठकले समितिका लागि आवश्यक कार्यविधि अध्ययन गरी रायसुझाव पेश गरेर छिट्टै अन्तिम रुप दिने निर्णय पनि गरेको छ ।

गलबारको वैठकमा प्रदेश सभा सचिवालयले पेश गरेको कार्यविधिबारे सामान्य छलफल भएको थियो । गत साउन २४ गते गठन भएको समितिलाई तीन महिनाभित्र राजधानी र नाम सिफारिस गर्न म्याद दिइएको थियो । गठन भएको एक महिनापछि भदौ १२ गतेमात्रै समितिको पहिलो वैठक बसेको थियो ।

समितिमा १५ जना सांसद सदस्य छन् । मंगलबारको वैठकमा राष्टिय जनमोर्चा र संघीय समाजवादी फोरमबाट प्रतिनिधित्व गर्ने एक एक जना सांसद अनुपस्थित थिए ।
संविधानको धारा २८८ मा भएको व्यवस्थाअनुसार प्रदेशको नाम र स्थायी राजधानी सम्वन्धित प्रदेशसभाले निर्णय गरे बमोजिम हुने व्यवस्था छ ।

प्रदेश ५ को नामका विषयमा खासै विवाद नभए पनि राजधानीको विषय पेचिलो देखिएको छ । यसअघिको शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश ५ को अस्थायी मुकाम बुटवल तोकेको थियो ।

मुख्यमन्त्री शंकर पोखरेल, सभामुख पूर्णबहादुर घर्ती भने बाहिर मुख नखोले पनि भित्रीरुपमा बुटवललाई स्थायी राजधानी बनाउन नहुने पक्षमा देखिएका छन् ।

प्रदेशसभाको दुई तिहाई वहुमतले प्रदेशको राजधानी र नामाकरणको निर्णय गर्ने संवैधानिक व्यवस्था छ । खासगरी बुटवल र दाङ स्थायी राजधानीका लागि चर्चामा रहंदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment