६ मंसिर, काठमाडाैं । यातायात व्यवस्था विभागको वेबसाइटमा बुधबारदेखि समस्या देखिएको छ ।
शुक्रबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदन खुला गर्ने भनिएकोमा त्यसको पूर्वसन्ध्यामा विभागको वेबसाइटमै समस्या आएको हो ।
होस्टिङ सर्भर परिवर्तन गर्न लागिएकाले वेबसाइट बन्द भएको विभागका इञ्जीनियर केशवराज गौतमले अनलाइनखबरलाई जानकारी दिए ।
उनका अनुसार अहिले विभागको हालको होस्टिङ सर्भरबाट वेबसाइटका सम्पूर्ण डेटा सारेर सिंहदरबारस्थित सरकारी डेटा सेन्टरमा सार्ने काम भइरहेको छ ।
विभागले ७ मंसिर अर्थात भोलि शुक्रबार विहान १० बजेदेखि सवारी लाइसेन्सका लागि आवेदन खुला हुने सूचना निकालेको थियो ।
तर, बुधवारदेखि नै काम भइरहेकाले विहिबार दिनभरमा डेटा ट्रान्सफर भइसकेर वेबसाइट लाइभ हुने उनको दाबी छ ।
विभागको डेटा सुरक्षित राख्न सरकारले स्थापना गरेको उच्च प्रविधियुक्त नयाँ डेटा सर्भरमा सार्ने काम भइरहेको इञ्जीनियर गौतम बताउँछन् ।
आवेदन खुल्दै तर, लाइसेन्स कहिले ?
झण्डै एक महिना बन्द रहेको सवारी लाइसेन्सका लागि विभागले शुक्रबारदेखि नयाँ आवेदन लिने तयारी गरेको छ ।
तर, उर्तिर्ण भएका लाखौंले वर्षदिनदेखि रसिदका भरमा गाडी चलाउँदै आएका छन् ।
पर्याप्त तयारी नगरी स्मार्ट ड्राइभिङ लाइसेन्स लागु गरेपछि यस्तो समस्या आएको विभागका अधिकारी बताउँछन् ।
यातायात व्यवस्था विभागले दैनिक २५ सयको हाराहारीमा स्मार्ट लाइसेन्स छाप्दै आएको छ ।
तर, माग अनुसार त्यो पर्याप्त नभएपछि विभागले एक निजी कम्पनीलाई समेत स्मार्ट लाइसेन्स छपाइको जिम्मा दिएको छ ।
मालिकाले ४५ दिनमा ५ लाख लाइसेन्स छाप्ने बताएकोमा महिना दिनमा अहिलेसम्म जम्मा ६० हजार लाइसेन्स छापेको छ ।
यस्ताे अवस्थामा नयाँ आवेदकले पनि समयमै स्मार्ट लाइसेन्स नपाउने र रसिदको भर पर्नु पर्ने निश्चित छ ।
प्रतिक्रिया 4