News Summary
Generated by OK AI. Editorially reviewed.- यातायात व्यवस्था विभागले असार मसान्तसम्म छपाइ हुन बाँकी रहेका साढे २७ लाख सवारी चालक अनुमति पत्रको छपाइ कार्य सम्पन्न गरेको छ ।
- विभागले २७ लाख ४७ हजार २५३ थान लाइसेन्स कार्ड हुलाकमार्फत वितरणका लागि सम्बन्धित यातायात कार्यालयहरूमा पठाइसकेको जानकारी दिएको छ ।
- म्याद सकिन एक वर्षभन्दा कम अवधि बाँकी रहेका लाइसेन्स नवीकरणका लागि सम्बन्धित सवारी चालकलाई पायक पर्ने कार्यालयमा सम्पर्क गर्न विभागले अनुरोध गरेको छ ।
१४ साउन, काठमाडौं । यातायात व्यवस्था विभागले साढे २७ लाख सवारी चालक अनुमति पत्र छपाइ सम्पन्न भएको जानकारी गराएको छ । विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै असार मसान्तसम्म छपाइ हुन बाँकी रहेका सबै लाइसेन्स छापिएको जानकारी दिएको छ ।
२७ लाख ४७ हजार २५३ थान कार्ड हुलाकमार्फत वितरणका लागि सम्बन्धित यातायात कार्यालयमा पठाइएको विभागले जनाएको छ । विभागका अनुसार १२ कात्तिक २०८२ मा विभाग र सुरक्षण मुद्रण केन्द्रबीचको सम्झौता अनुसार लाइसेन्स छाप्ने कामले तीव्रता पाएको हो ।
अहिले म्याद सकिन एक वर्ष भन्दा कम अवधि भएका लाइसेन्स भने छापिएको छैन । यस्ता लाइसेन्सको नवीकरणपछि १० वर्ष अवधिको लाइसेन्स प्राप्त हुने भन्दै विभागले एक वर्ष भन्दा कम अवधि भएका लाइसेन्स बाहकलाई पायक पर्ने यातायात कार्यालयमा नवीकरण गर्न समेत अनुरोध गरेको छ ।
विभागले नयाँ लाइसेन्स प्राप्ति र नवीकरणमा राष्ट्रिय परिचय पत्रमा भएको विवरण प्राप्त गर्न, राजस्व भुक्तानी अनलाइनमार्फत गर्न सकिने गरी प्रणालीमा सुधार गरिएको समेत जनाएको छ ।
प्रतिक्रिया 4