Comments Add Comment

संसदीय समिति बैठकमा ढिलो आउनेलाई पुरस्कार !

गत सोमबार अर्थ समितिको बैठक दिउँसो १ बजेलाई डाकिएको थियो ।

पौने दुई बजे सांसद मेटमणि चौधरी बैठक हल पुग्दा नयाँ शक्ति पार्टीका संयोजकसमेत रहेका सांसद डा. बाबुराम भट्टराईले ब्यङ्ग्य गर्दै ‘ढिलो आउनेलाई पुस्कारको व्यवस्था गरौं’ भन्दा संगै रहेका नेकपामा सांसद सुरेन्द्र पाण्डे, सत्या पहाडी, रामकुमारी झांक्री लगायत गलल हाँसे ।

त्यतिबेलासम्म उक्त समितिमा सात जना सांसदहरु मात्रै उपस्थित थिए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई, महालेखा परीक्षक टंकमणि शर्मा, अर्थ, उर्जा, कृषि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवलगायत सरोकारवालाहरु एक बजे नै उपस्थित भइसकेका थिए ।

पत्रकारहरुको पनि बाक्लो उपस्थिति थियो । तर गणपूरक संख्या (कोरम) नपुगेर अर्थ समितिको बैठक सुरु हुन सकिरहेको थिएन । बिहान ९ बजे बोलाइएको बैठक गणपुरक संख्या नपुगकै कारण दिउँसोलाई सारिएको थियो ।

दिउँसो पनि कोरमकै समस्याले बैठक निर्धारित समयभन्दा डेडघण्टा ढिलो सुरु भएको थियो ।

बैठकमा नेकपाकी सांसद रामकुमारी झाँक्रीले भनिन् ‘हैन के हो यो ? अलि सिरियसली लिनुपर्‍यो । काम चलाउ ढङ्गले मात्रै यो हलमा आउने हो की जनताका बास्तविक समस्याका सम्बोधन गर्नेगरी काम गर्ने हो, बैठक बस्नुअघि यसको तयारी हुन्छ कि हुँदैन ? यहाँ आएर फोन गर्दै कोरम पुर्‍याउन खोजेर हुन्छ ?’

झाँक्रीले बोलिरहँदा पनि उक्त बैठकमा गणपूरक संख्या पुगेको थिएन । समिति सदस्यहरु बाबुराम भट्टराई, सुरेन्द्र पाण्डेलगायत हिडिसकेका थिए ।

समिति बैठकहरुमा कुल सदस्यको कम्तीमा एक चौथाइ सदस्य उपस्थित हुँदामात्रै गणपूरक संख्या पुगेको मानिन्छ ।

कृषि समितिको हालत पनि उस्तै

बिहीबार संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति पनि गणपूरक संख्या नपुगीकनै सञ्चालन भएको थियो । बिहान ११ बजे बोलाइएको बैठक गणपूरक संख्या पुर्‍याउनका लागि सवा १२ बजेसम्म रोकियो । त्यतिबेला पनि १० जना सदस्यमात्रै थिए ।

उपसमिति गठन गर्ने सम्बन्धमा छलफल सुरु भएपछि हरिबोल गजुरेल र केहीबेरपछि ओनसरी घर्ती मगर थपिए । त्यतिबेलासम्म पनि २५ सदस्यीय समितिमा गणपुरक समस्या पुगिरहेको थिएन ।

समिति सदस्य हरिबोल गजुरेलले समिति प्रभावकारी नहुँदा गणपुरक नै नपुग्ने समस्या रहेको भन्दै असन्तुष्टि जनाए । ‘विषयका आधारमा कोरम पुग्ने वा नपुग्ने भन्ने हुन्छ ।

समिति प्रभावकारी नहुँदा यस्तो समस्या दोहोरिरहेको छ’, उनले भने ‘हामीले पुरानै तरिकाले काम गरिरहेका छौं । जनतालाई परिवर्तनको आभास गर्न सकिरहेका छैनौं ।’
समितिमा उपस्थित कुनै सदस्यले पनि गणपूरक संख्या नपुगेको विषयमा आवाज उठाएनन् ।

गत, मंगलबार पनि संसदको विकास तथा प्रविधि समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रगतिका विषयमा छलफल गर्न बिहान ११ बजेका लागि बोलाएको बैठकमा १२ बजेपछि स्थगित गरियो ।

दशैंअघि असोज तेस्रो साता संसदको राज्य व्यवस्था समितिले नागरिकता पीडितहरुसँग नागरिकताका समस्याबारे छलफल गरेको थियो । उक्त बैठकमा पनि सभापतिसहित जम्मा पाँच जना समिति सदस्यहरु उपस्थित थिए ।

सभापति शशी श्रेष्ठले नै ‘आज पीडितहरुको कुरा सुन्ने हो सकेसम्म सबै माननीयज्यूहरु बसौं, अप्ठेरो नै परेको हो भने हामी बसेर उहाँहरुका कुरा सुन्छौं’ भनेपछि धेरै सांसदहरु बाहिरिएका थिए ।

संसदको शिक्षा स्वास्थ्य समितिको बैठक पनि केही पटक गणपूरक संख्या नपुगेर स्थगित भएको छ । गत कात्तिक १५ गते चिकित्सा शिक्षा विधेयकमा छलफल गर्न भनेर बोलाइएको शिक्षा स्वास्थ्य समितिको गणपूरक संख्या नपुग्दा स्थगित भएको थियो ।

कतिपय समितिहरुले निर्धारित समयभन्दा १५ मिनेट ढिलो भए स्वतः बैठक स्थगित हुने प्रावधान राखेर आन्तरिक कार्यविधि बनाएका छन् । तर, अधिकांश समितिको बैठक निर्धारित समय भन्दा आधा, पौने घण्टा ढिलो गरी सुरु हुने गरेको छ ।

अर्थ समितिमा पनि निर्धारित समयभन्दा १५ मिनेट वा आधा घण्टासम्म बैठक सुरु हुन नसके स्वतः स्थगित हुने प्रावधान राख्नेबारे छलफल भएको थियो । तर, कार्याविधि पारित हुँदा भने बहुमत सदस्यहरु उपस्थित नभएको अवस्थामा स्थगित हुने भन्ने प्रावधान राखेको छ ।

मिनी संसदका रुपमा लिइने संसदीय समितिका बैठक समिति सदस्यहरुकै प्राथमिकतामा नपर्दा सिंगो संसदीय व्यवस्थामाथि नै असर गर्ने जानकारहरु बताउँछन् ।

तर, हाजिर भएपछि सांसदहरु आफ्नो धारणा राखेर वा नराखीकन निस्किए पनि निर्णय हुँदा उपस्थित भएको मानिने प्रचलन रहेको संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले बताए । ‘कहिलेकाहीँ गणपूरक संख्या नपुगेर समितिहरु स्थगित भएका छन् । हुँदै नभएका होइनन्’, अर्यालले भने, ‘आफ्नो भनाई राखेर निस्कने प्रचलन पनि छ । त्यो हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment