+
+
Shares

नेपाल ट्रकोमा रोग निवारणमा सफल

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ७ गते ११:५०

७ मंसिर, काठमाडौ । उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सबै किसिमका ट्रपिकल रोग निवारणका लागि ट्रकोमा (खस्रे) रोग निवारणको अनुभवबाट सिक्न सकिने बताएका छन् ।

नेपालमा ट्रकोमा रोग निवारण भएको खुशीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले भने, ‘ट्रकोमा निवारणमा हामीले पाएको सफलता मिलेर काम गरे ठुलो लक्ष्य हासिल गर्न सक्छौ भन्ने उदाहरण पनि हो ।’

कार्यक्रममा ट्रकोमा रोग निवारणमा विशेष योगदान पुर्‍याउने नेपाल नेत्र ज्योती संघ, तिलगंगा आँखा अस्पताल, अमेरिकी सहयोग नियोग लगायतका संस्था र व्यक्तिहरुलाई सम्मानित गरिएको थियो ।

सम्मानित हुने व्यक्तिहरुमा डा. रामप्रसाद पोखरेल, डा. सन्दुक रुईत, डा. मदनप्रसाद उपाध्याय, डा. शैलेन्द्र कुमार मिश्र, तीर्थप्रसाद मिश्र, रामबाबु भण्डारी, शेखर शर्मा, धर्मपाल प्रसाद रमन, रमेश भट्ट शिव नारायण रजक छन् ।

सम्मानित भएका नेपाल नेत्रज्योती संघका अध्यक्ष तीर्थप्रसाद मिश्रलेे नेपालीहरु एकजुट भएर लागेकै कारण ट्रकोमा रोग निवारण हुनसकेको अनलाईखबरलाई बताए । यो सफलतामा सरकार, जनप्रतिनिधि, संघसस्था सबैको महत्वपुर्ण भूमीका रहेको उनको भनाई छ । उनले भने, ‘तर, यो रोग फेरि नदोहरियोस् भन्नका लागि आवश्यक रणनिति र विशेष निगरानी जरुरी छ ।’

मिश्रका अनुसार, नेपाल ट्रकोमा रोग निवारण भएको विश्वको छैटौ र दक्षिण पूवी एसियाको पहिलो देश बनेको छ । ट्रकोमा रोग निवारणमा उल्लेख्य उपलब्धि हासिल गरेकोमा गत जेठ ६ गते विश्व स्वास्थ्य संगठन -डब्लुएचओ)को ७१ औ महासभामा नेपाललाई रोग निवारणको प्रमाणपत्र दिएको थियो । त्यही खुशी मनाउन बिहिबार कार्यक्रम आयोजना गरिएको थियो ।

के हो ट्रकोमा ?

बोलीचालीको भाषामा खस्रे रोग भनिने ट्रकोमा मानिसलाई दृष्टिविहिन गराउन सक्ने सरुवा रोग हो । आँखाको माथिल्लो ढकनीको भित्र ल्केमेडिया ट्रकोमाटीस भन्ने व्याक्टेरियाको संक्रमण हुँदा यो रोग लाग्छ । विशेषगरी एकदेखि नौ वर्षसम्मका बालबालिका यो रोगको बढी जोखिममा हुन्छन् । त्यसकारण, ट्रकोमा निवारण भएको मानिन सम्बन्धित देशका १-९ वर्षका बालबालिकामा ट्रकोमा रोगको जोखिम ५ प्रतिशत भन्दा कम हुनुपर्छ ।

सन् १९८१ मा को एक सर्वेक्षणले नेपालमा भएका अन्धोपनमध्ये २.४ प्रतिशतको कारण ट्रकोमालाई मानेको थियो । त्यसपछि २००२ बाट नेपाल नेत्र ज्योती संघले २०१७ सम्ममा नेपालबाट ट्रकोमा रोग उन्मुलन गर्ने अभियान चलाएको थियो । जस अन्तगर्त ७७ वटै जिल्लामा ट्रकोमा रोगको प्रकोप सम्बन्धि सर्वेक्षण हुनको साथै सर्वाधिक प्रभावित २० जिल्लाको पहिचान समेत भएको थियो ।

ती जिल्लाहरूमा डब्लुएचओको सेफ रणनीति अनुरुप औषधी वितरण, आँखाको शल्यक्रिया, आँखा, अनुहार र हातको सफाई, वातारण सुधार लगायतका कार्यक्रम सञ्चालन भएका थिए । त्यस अवधिमा ५० हजारको हाराहारीमा ट्रकोमा रोगको पहिचान र विभिन्न अस्पतालमा शल्यक्रिया भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?