+
+

आमाबुवाले दोस्रो विवाह गरेमा छोराछोरीले कस्तो महसुष गर्छन होला ?

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ८ गते १०:३४

‘कस्तो सौतेनी व्यवहार गरेको हौ ?’ कसैले कटु व्यवहार गरेमा यस्तै वाक्य प्रयोग गरिन्छ । अर्थात नराम्रो, हेय, अपमानित, असंवेदनशिल, अमर्यादित व्यवहार गरेमा हामी त्यसलाई ‘सौतेनी’ भनेर सम्बोधन गर्छौं ।

सौतेनीको अर्थ त बुझाईरहनु पर्दैन ।

यो प्रंसग एकछिन यही थाँती राखौं । पहिले कुरा गरौं दम्पतीबीच सम्बन्ध विच्छेदको ।

हामीकहाँ विवाह गरेर छोराछोरी भइसकेपछि पनि दम्पतीबीच सम्बन्ध बिच्छेद हुने क्रम उस्तै छ । विभिन्न कारणले दाम्पत्य सम्बन्ध धरापमा परिरहेका छन् । पछिल्लो  समय सामाजिक सञ्जाल पनि दम्पतीको सम्बन्धमा भाँजो हाल्ने माध्याम बनेको छ । त्यस्तै वैदेशिक रोजगारीको कारण पनि धेरैको घरबार रित्तिदैछ । समाजका निम्ति यो भयानक रोग बनिरहेको छ ।

समाजलाई यो रोगले भित्रभित्रै थिलथिलो बनाइरहेको छ ।

सेलिब्रेटी वा चर्चित व्यक्तिहरुको दाम्पत्य टुटेको कुरा त सतहमै आउने गर्छ । हामीकहाँ त्यस्ता थुप्रै सेलिब्रेटी छन्, जसको दाम्पत्य सम्बन्ध टुटेको छ । यसरी सम्बन्ध टुटिसकेको अवस्थामा त्यसको असर कसलाई पर्छ होला ?

ति दम्पतीका बालबच्चालाई । जो अवोध हुन्छन् । जसलाई आमाबुवाको स्वार्थबारे केही ज्ञात हुँदैन । तर, हामीले यो कोणबाट कहिल्यै हेर्ने गरेका छौ ?

आमाबुवा आपसमा अलग हुन्छन् । एकअर्कालाई घृणा गर्न थाल्छन् । अब बच्चाले कसको साहारा लिने ? कसको आश्रय लिने ? कसको माया खोज्ने ? कसको सामिप्यता रोज्ने ?

एकदम जटिल अवस्था हो यो ।

अलग भइसकेका आमाबुवाले दोस्रो विवाह गर्न सक्छन् । यो एकदमै संभावित कुरा भयो । दोस्रो बुवा वा आमालाई छोराछोरीले सहजै स्विकार्न सक्दैनन् । उनीहरुबाट माया, ममता पनि राम्रोसँग पाउँदैनन् । यावत् कुराहरुले छोराछोरीको मन पिरोलिने गर्छ । अर्कोतिर साथीभाई, आफन्तले पनि फरक नजरले हेर्छन् । कतिले हेलाहोचो गर्छन्, कतिले दया पोख्छन् । वास्तवमा यी सवै व्यवहारहरुले बच्चालाई कमजोर बनाउँछ । मानसिक, शारीरिक र सामाजिक रुपमा पनि ।

यसै सन्दर्भमा हिन्दी विविसी अनलाइनले प्रकासित गरेको एक लेखको सार-अंश यहाँ पेश गरिएको छ ।

आमाबुवा साझेदार गर्न सजिलो हुन्छ ?

सम्बन्ध-विज्ञ भन्छन्, ‘बुवाआमाले बनाउने दोस्रो सम्बन्धलाई स्विकार्न त्यती सजिलो हुँदैन । किनभने त्यो सम्बन्ध कुनै पुरानो सम्बन्धलाई बिस्थापित गर्नका लागि आएको हुन्छ । र, कुनैपनि बच्चालाई आफ्नो पुरानो याद र भावनालाई मेटेर नयाँ सम्बन्ध जोड्न निकै गाह्रो हुन्छ ।’

हामी जन्मदेखि जसको सामिप्यतामा हुर्कन्छौं, उनीहरुसँग खास अट्याचमेन्ट हुन्छ । शारीरिक, भावनात्मक रुपले एकाकार भएका हुन्छौं । हठात बुवा वा आमाबीच सम्बन्ध टुटेर दोस्रो सम्बन्ध स्थापित भएमा त्यसले बच्चाको भावनामा गहिरो चोट पुग्छ । यो मानसिक आघातले उनीहरु गास खल्लो बनाउँछ, निद्रा विथोलिन्छ, खुसी फिका हुन्छ ।

निश्चय पनि दम्पतीको सम्बन्ध टुट्नु राम्रो होइन । यसले स्वयम् उनीहरुको जीवनलाई मात्र तहसनहस बनाउँदैन, छोराछोरी, आफन्त, छिमेकी र समाजलाई नै गह्रौ बोझ बन्छ । यद्यपी कसैले पनि चाहेर वा नियोजित ढंगले सम्बन्ध विच्छेद गर्दैन ।

जीवनभर साथ रहने वाचा गर्दै बाधिएका जोडीहरु जीवनको कुनै मोडमा आइपुगेपछि आपसमा टुक्रिन्छन् । यसो हुनुमा उनीहरुको प्रवृत्ति, व्यवहार, परिस्थिती थुप्रै तत्वले काम गरेको हुन्छ । भनौं, नचाहेरै पनि दम्पतीबीच खटपट हुन्छ । सम्बन्ध दुई चिरा पर्छ ।

के हो त समाधान ?

दम्पतीबीच मतभेत रहन्छ भने त्यसको निचोड खोज्न सकिन्छ । समाधान खोज्न सकिन्छ । यदी दुबै मिल्नै नसक्ने अवस्थामा छन् वा परिस्थितीले त्यही मोडमा पुर्‍याएको छ भने यसले बालबच्चाको भावनामा पुग्ने क्षतिबारे बुझ्न जरुरी छ । श्रीमान्-श्रीमतीले छोराछोरीलाई कसरी सहज रुपमा यसबारे थाहा दिने वा कसरी यस्तो परिस्थिती झेल्नका लागि तयार राख्ने भन्ने कुरामा हेक्का राख्नुपर्छ । हुन त यो कुरा कुनै आदर्श जस्तो वा अव्यवहारिक जस्तो हुनसक्छ ।

किनभने हामी त्यसबेला तनावग्रस्त हुनसक्छौं, विक्षिप्त हुनसक्छौं, आवेगमा हुनसक्छौं । यद्यपी आफ्नो परिस्थितीलाई मात्र केन्द्रमा राखेर सोच्नु हुँदैन । आफ्नो कारण छोराछोरी कुन परिस्थितीसँग जुधिरहेका होलान् भन्ने कुरालाई सबैभन्दा बढी सोच्नुपर्छ ।

यसमा दम्पती मात्र होइन, परिवारजन र समाजको पनि अहंम भूमिका हुन्छ । यसरी छुटिदै र टुक्रिदै गरेका दम्पतीका बालबच्चालाई कसरी सहज वातावरण बनाइदिने ? कसरी उनीहरुको भावनामा चोट नपुर्‍याउने भन्ने कुरामा समाजले आफ्नो भूमिका वहन गर्नुपर्छ । किनभने त्यस्तो परिस्थिती पराईको घरमा मात्र होइन, तपाई हाम्रो घरमा पनि आउनसक्छ ।

विज्ञहरुले भन्ने गरेका छन्, आमाबुवाको सम्बन्ध जुन हिसाबले गुजि्ररहेको छ, त्यसबारे बच्चालाई थाहा दिनुपर्छ । उनीहरु त्यसबारे स्पष्ट हुन यसकारण पनि जरुरी छ कि, अबको परिस्थितीलाई कसरी झेल्ने भन्ने कुरामा उनीहरुले मानसिक तयारी गर्न सक्छन् । वा मानसिक रुपले त्यसरी तयारी राख्न सजिलो हुन्छ ।

बुवाआमाले दोस्रो विवाह गरे के होला ?

बुवा वा आमाले दोस्रो विवाह गरेको कुरा छोराछोरीलाई पक्कै राम्रो लाग्दैन । यसले उनीहरुमा नकारात्मक असर गर्छ नै । यद्यपी स्विकार्नैपर्ने कुरा भएपछि त्यसमा गुनासो गरिरहनु वा दुखी भइरहनु पनि समधान भएन । त्यसैले जब बुवाआमाले दोस्रो विवाह गर्छन्, छोराछोरीले पनि त्यसलाई स्विकार्नका लागि मानसिक तयारी गर्नुपर्ने हुन्छ । यसका लागि परिवार र समाजले खास भूमिका खेल्न सक्छन् ।

विज्ञहरु भन्छन्, यसरी आामाबुवाले बनाउने नयाँ सम्बन्धलाई स्विकार्न छोराछोरीलाई निकै मुस्किल त हुन्छ । तर, यसलाई आपसी कुराकानी, छलफलबाट सामान्य बनाउन सकिन्छ ।

यसरी जोडिने नयाँ सम्बन्धबारे छोराछोरीलाई स्पष्ट रुपमा बुझाइएन भने त्यो अझ जटिल हुनसक्ने विज्ञहरुको भनाई छ । विज्ञहरु भन्छन्, ‘कतिपयले यस्ता सम्बन्धलाई घुमाई-फिराई साँचो कुरा लुकाउने यत्न गर्छन्, त्यो सबैभन्दा खतरनाक हुनसक्छ । कुरा जति स्पष्ट हुन्छ, समस्या उत्तिनै कम हुन्छ ।’

हुन त बच्चालाई के लाग्छ भने, आफुमाथि धोका भयो । उनीहरु यसबाट क्रोधित वा दुखी हुनसक्छन् । विज्ञहरु भन्छन्, यसले बच्चालाई डिप्रेसनको अवस्थामा पुर्‍याउन सक्छ ।

नयाँ सदस्यको सामुन्ने चुनौती

मनोविज्ञहरु भन्छन् कि, दुखको कारण त यसले गर्दा पनि हुन्छ कि यसरी भित्रिएका सौतेनी आमा वा वुवाले घरमा अधिकार जमाउन खोज्छन् । यो एकदमै नराम्रो कुरा हो ।

जब कुनै परिवारमा दोस्रो व्यक्तिको प्रवेश हुन्छ, तब उनीहरुले परिवारको आवश्यक्ता, प्राथमिकतालाई ध्यानमा राखेर आफ्नो व्यवहार परिवर्तन गर्नुपर्ने हुन्छ । घरलाई कसरी सम्हाल्ने, कसरी छोराछोरीको ख्याल गर्ने भन्ने कुरामा उनीहरुले सोच्नुपर्छ । किनभने सौतेनी आमा वा बुवा सधै नराम्रो हुन्छ भन्ने पनि छैन । उनीहरुले टुटिसकेको घरलाई पुन नयाँ रुप दिन सक्छन् । नयाँ प्राण भर्न सक्छन् ।

विज्ञहरु भन्छन्, ‘सौतेनी सम्बन्ध कुनै पुरानो सम्बन्ध रहँदा वा टुटिसकेपछि आउने हो । तर, हाम्रो समाजले पहिलो सम्बन्धलाई नै श्रेष्ठ मान्ने गरेको छ ।’

हामीकहाँ पहिलो विवाहलाई सबैभन्दा पवित्र र जिन्दगीभरको सम्बन्ध मानिन्छ । त्यही कारण दोस्रो विवाहलाई समाजले पचाउँदैन, स्विकार्दैन । यस्तो अवस्थामा चुनौती त आउँछ नै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?