Comments Add Comment

जनकपुरमा विवाह पञ्चमीको तयारी तीव्र , बरियात लिएर आउँदै उत्तरप्रदेशका मुख्यमन्त्री

९ मंसिर, जनकपुरधाम । प्रदेश २ सरकार रामजानकी विवाह महोत्सवको तयारीमा जुटेको छ ।

रामजानकी विवाह महोत्सव भव्यरुपमा मनाउने निर्णय गरेको सरकारले जानकी मन्दिरसँगको सहकार्यमा तयारी तीव्र पारेको हो ।

महोत्सवको तयारीबारे जानकारी लिन र सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन मुख्यमन्त्री लालबाबु राउत आफै कार्यक्रमहरु स्थलको निरीरक्षण गरेका छन् ।

मुख्यमन्त्री राउतसहित भौतिक पूर्वाधारमन्त्री जितेन्ऽ सोलन, विभिन्न मन्त्रालयका सचिव, जनकपुर उपमहानगरपालिाका मेयर लालकिशोर साह, सुरक्षा निकायका प्रमुखसहितको टोलीले स्वयम्बरस्थल रंगभूमि मैदान, जानकी मन्दिर परिसरसहितको स्थलगत निरीक्षण गरेका हुन् ।

मुख्यमन्त्री राउतले विवाह पञ्चमी महोत्सव र योगीको जनकपुर भ्रमणबारे प्रदेश प्रहरीका प्रमुख डीआईजी हरिबहादुर पाल, धनुषाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षकहरुसँग सुरक्षा व्यवस्थाबारे छलफलसमेत गरेका छन् ।

यसवर्षको महोत्सवमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसमेत आउने भएपछि प्रदेश सरकारले महोत्सवलाई थप ऐतिहासिक बनाउन लागि परेको हो ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी मंसिर २६ गते जनकपुरधाम आएर जानकी मन्दिरमा पूजापाठ गर्नुका साथै रंगभूमि मैदानमा आयोजन हुने स्वयम्बर कार्यक्रममा समेत सहभागी हुने कार्यक्रम रहेको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी २६ गते विहान १० बजे निजी विमानबाट जनकपुर विमानस्थलमा ओर्लिने र त्यहाँबाट सिधै जानकी मन्दिर पूजापाठका लागि जाने कार्यक्रम रहेको छ ।

त्यसपछि उनी मधेश भवनमा आयोजन हुने सम्मान कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

मधेश भवनमा मुख्यमन्त्री लालबाबु राउतले उत्तरप्रदेशका मुख्यमन्त्री योगीको सम्मानमा दिवा भोजको आयोजना गर्ने कार्यक्रम छ । मुख्यमन्त्री योगीसहित जन्ती बनेर आएका साधुसन्तहरुको लागि भण्डाराको कार्यक्रमसमेत राखिएको सचिवालयले जनाएको ।

मधेश भवनमा हुने दिवाभोजपछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी रंगभूमि मैदानमा जाने र त्यहाँ भगवान राम र माता सिताको स्वयम्बर कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

सबै कार्यक्रमलाई प्रदेश सरकारले जनकपुरधाम उपमहानगरपालिका र जानकी मन्दिरको समन्वयमा अगाडि बढाएको । यसका लागि प्रदेश सरकारले यसअघि नै ५० लाख रुपैयाँ दिने निर्णय गरीसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment