Comments Add Comment

लोपेटेगी छैनन्, रियल मड्रिडले कसलाई हटाउला !

९ मंसिर, काठमाडौं । रियल मड्रिडले शनिबार राति स्पेनिस ला लिगामा इबरसँग नराम्रो हार व्यहोरेपछि एउटा शिक्षा पायो, इबरले जस्तै अर्को तरिकाले पनि फुटबल खेल्न मिल्छ ।

जारी सिजन प्रशिक्षकको रणनीतिका कारण खराब प्रदर्शन भइरहेको निक्यौलमा मड्रिड अध्यक्ष फ्लोरेन्टिनो पेरेजले जुलेन लोपेटेगीलाई हटाएर सान्टियागो सोलारीलाई ल्याए । सोलारीले विभिन्न प्रतियोगितामा लगातार चार खेल जितेर मड्रिडमा प्रभाव जमाए तर, केही समय मात्रै ।

सोलारीको जितको यात्रा यति नराम्ररी टुंगियो कि इतिहासमै पहिलोपटक रियल मड्रिड लालिगामा इबरसँग पराजित भयो । त्यो पनि ३–० ले । १६ औँ मिनेटमा एस्कालान्टेले गोल गरेर अग्रता दिलाएको इबरका लागि ५२ औँ मिनेटमा इनरिच र ५७ औँ मिनेटमा किकेले गोल गरेका थिए ।

मड्रिडको प्रशिक्षक बनेका सोलारी आफ्नो कामलाई उत्कृष्ट बनाउँदै जिनेदिने जिदानको बाटो पछ्याउँदै छन् भन्ने तारिफ भएकै दिन उनी नराम्ररी चुकेका थिए । सोलारीले सुरुका केही हप्ता क्लबमा राम्रो प्रभाव पार्न सके । मेलिला, भायाडोलिड, प्लेजन र सेल्टाविरुद्ध जित निकालेका उनका लागि दोस्रो चरणको परीक्षा भने सुखद भएन ।

सेल्टाविरुद्धको जितपछि नै उनी २०२१ जुन ३० सम्मका लागि प्रशिक्षकमा स्थायी नियुक्त भएका थिए । इबर, रोमा र भ्यालेन्सियासँगको खेलमा पनि त्यही प्रभाव देखाउन सके उनीमाथिको विश्वास झनै बढ्ने आँकलन भएका बेला पहिलो परीक्षामा नै उनी सफल देखिएनन् ।

त्यसमा कारण प्रशिक्षक मात्रै नभए पनि रियल मड्रिडले पछिल्लो समय देखाएको व्यवहारले विशेष कारणको घेरामा प्रशिक्षक नै पर्ने गरेका छन् ।

लोेपेटेगी नभएको खेलमा पनि मैदानमा खेलाडीहरुमा उस्तो केही भिन्नता देखिएन । बरु कमजोर हारमा निरीह मात्रै देखिए । यसैले प्रश्न उठ्न थालेका छन्, पेरेजले कसलाई निकाल्लान् त ?

जिनेदिन जिदान र क्रिष्टियानो रोनाल्डो नभएको रियल मड्रिडले एक नेतृत्व र एक गोलकर्ता खोज्नै पर्ने देखिएको छ । त्यो न मार्को एसेन्सियो हुन् न त सोलारी नै ।

त्यो करिम बेन्जेमा हुनसक्छन्, तर उनी अफसाइडमा नै हराइरहे । त्यो ग्यारथ बेल हुनसक्छन् उनी होला जस्ता देखिँदा देखिँदै इबरविरुद्ध त हराए ।

इबरले पहिलो गोल काउन्टरमा गर्दा न ड्यानी सेबालसले नै रोक्न सके न त क्यासेमिरो नै प्रभावकारी बने ।

रियल मड्रिडले यो सिजन खाइरहेको गोलमा न त लोपेटेगीकै गल्ती थियो, न त थिबोट कोर्टुवाकै गल्ती छ । गोलको कमिसँगै सम्पूर्ण टिम एक ढिक्का हुनुपर्ने अभाव मड्रिडको मुख्य चुनौती हो ।

खेलभर मड्रिडले गरेका ९ प्रहारमा ३ प्रहार मात्रै टार्गेटमा गएको थियो भने इबरले गरेको १४ सटमा ८ सट टार्गेटमा गएको थियो ।

यसैले खेलपछि मड्रिडका कप्तान सर्जियो रामोसले भनेका थिए, ‘हामी जुन स्तरमा हुनुपर्ने हो त्यसमा छैनौँ । यहाँ कुनै बाहाना चल्दैन, जब तपाइँको इच्छा, मेहनत र लय प्रतिपक्षी अनुरुप मिल्दैन तब यस्तै हुन्छ ।’

‘शारीरिक रुपमा हामी खराब अवस्थामा छैनौँ, कमि छ त खेलाडीको इच्छाशक्तिमा नै’ उनले भने ।

कप्तानसँगको भनाइमा प्रशिक्षक सोलारी भने सहमत छैनन् । उनी भन्छन्, ‘सबै खेलाडीले शतप्रतिशत दिएका हुन् । कसैले पनि आफूलाई कमजोर बनाएर प्रस्तुत गर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment