Comments Add Comment

काठ तस्करीको आरोप लागेपछि बागेश्वरी आध्यात्मिक परिषद् विगठन

९ मंसिर, चितवन । योगी नरहरीनाथ बागेश्वरी आध्यात्मिक परिषद्को संरक्षणमण्डलले बागेश्वरी आध्यात्मिक परिषद्को कार्यसमिति नै विगठन गरेको छ ।

परिषद् मातहत रहेको योगी नरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालय बागेश्वरी क्षेत्रबाट अवैध रुपमा लुकाएर राखिएको अवस्थामा काठ बरामद गरिएको थियो ।
पाँच जना गुरुहरु रहेको संरक्षणमण्डलले परिषद्को कार्य समिति नै विगठन गरी टंक पौडेललाई नयाँ अधिवेशन गराउन जिम्मा दिएको छ ।

परिषद्को कार्यसमिति नै विगठन भएपछि प्राकृतिक चिकित्सालयसहित, गौं संरक्षण, गुरुकुललगायतका सबै समिति भंग भएका छन् ।

परिषद्को नयाँ कार्य समिति बनेपछि अन्य समितिहरु पनि गठन गरिने संयोजक टंक पौडेलले बताए । परिषद्को पदावधि तीन वर्षको छ ।

समयावधि डेढ वर्ष बाँकी छदैं परिषद्को कार्यसमिति भंग गरिएको हो । प्राकृतिक चिकित्सालयमा गत कात्तिक १२ गते लुकाएर राखिएको अवस्थामा जलदेवी सामुदायिक वनका पदाधिकारीहरुले ५६.११ क्यूफिट सालको काठ बरामद गरेका थिए ।

योगी नरहरीनाथको नाममा सञ्चालित चिकित्सालयका कारणले गुरुकै बदनाम गरेको भन्दैं परिषद् नै विगठन गरिएको संरक्षणमण्डलका प्रमुख गुरु शिशिरनाथले अनलाइनखबरलाई जानकारी दिए ।

उनले परिषद् र चिकित्सालयका नाममा गुरुको नाम बेचेर पैसा कमाउने खेल भएको भन्दैं त्यसले आफुहरुको चित्त निकै दुखाएको बताए । ‘हामी योगीहरुलाई कहिले प्रशासनको पत्र आएको छ कहिले डिभिजन बनको कहिले सामुदायिक वनको’ गुरु शिशिरनाथले भने, ‘ती निकायलाई प्रष्टिकरण जवाफ दिनुपर्ने अवस्था हामीलाई किन आयो हामी त्यो चाहान्नौं ।’

परिषद्को तदर्थ समितिका संयोजक टंक पौडेलले बागेश्वरी र योगी नरहरीनाथको नाम जोडेर आएका समाचारहरुलाई गुरुहरु निकै दुःखी बनेको बताए । ‘उहाँहरुको चाहाना अनुसार नै नयाँ समिति विधान अनुसार गठन गछौं, सवैको सहमतीमा काम गर्ने हो,’ संयोजक पौडेलले भने, ‘योगी नरहरीनाथको नाममा ब्यापार हुन नदिने अवस्था ल्याउनुपर्ने चाहाना गुरुहरुको छ त्यसको लागि म प्रतिवद्ध छु ।’

काठ बरामदका बिषयमा जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालयले चासो राखि पत्र काटेका छन् । सामुदायिक वनको काठ काटेको कुरा चिकित्सालयले स्वीकार पनि गरेको छ ।

कर्मचारी अर्जुन कार्कीलाई दोष बोकाएर चिकित्सालयले सामुदायिक बनलाई ७९ हजार तीन सय तीस रुपैयाँ जरिवाना तिरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment