Comments Add Comment

‘नेता त्यो हो, जसले हिंसाविरुद्ध बिद्रोह गर्छ’

९ मंसिर, पोखरा । महिला हिंसाविरुद्धको १६ दिने अभियानको सुरुवातमा आइतबार राति गण्डकी प्रदेशसभाले गरेको कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एउटा किस्सा सुनाए ।

‘एउटी बहिनीलाई बाबुआमाले जबरजस्ती बिहे गरिदिने भएछन् । बहिनीले म गर्दिन भन्दाभन्दै बाबुआमाले मण्डपमा बसाएछन् । ल अब कन्यादान दिने बेला भयो भनेपछि बधु जुरुक्क मण्डपबाट उठेर म पशु होइन दान गर्न भनेर प्रतिवाद गरिन् । मान्छेको दान हुँदैन भनेर उनले बिद्रोह गरेपछि विवाह रोकियो ।’

आफूमाथि भएको हिंसाको नेतृत्व गरेकी एउटा किशोरीको किस्सा सुनाउँदै उनले हिंसाविरुद्धको सुरुआत आफैंबाट गर्न आह्वान गरे । गण्डकी प्रदेशसभाले आइतबार संसद प्रांगणमा गरेको हिंसाबिरुद्धको १६ दिने अभियानमा मुख्यमन्त्री गुरुङले हिंसाबिरुद्ध बिद्रोह गर्ने व्यक्ति नै असली नेता भएको बताए ।

भाषण गर्ने दिदीहरुभन्दा आफूमाथिको हिंसाविरुद्ध बिद्रोह गर्ने बहिनीहरु वास्तविक नेता मुख्यमन्त्री गुरुङको भनाइ थियो । ‘खास नेता ती हुन् जसले हिंसाविरुद्ध बिद्रोह गरे, जो हिंसाबिरुद्ध लडे तर उनीहरुलाई नेता मानिएको छैन,’ मुख्यमन्त्री गुरुङले आह्वान गरे, ‘परिवर्तन सम्भव छ तर आफैंबाट सुरु गरौं ।’

मुख्यमन्त्री गुरुङले महिला हिंसा तत्काल अन्त्य गर्न नसकिने तर न्यूनीकरण गर्न सकिने बताए । तथ्यांकले पश्चिमा मुलुकमा महिला हिंसाका घटना बढी देखाउने भन्दै मुख्यमन्त्री गुरुङले भने ‘उता महिला हिंसाका घटना बढी होइन, चेतनाको स्तरमाथि भएकाले रिर्पोट गर्ने संख्या बढी हो । हाम्रोमा चेतनाको स्तर कम छ र हिंसाविरुद्ध रिर्पोट गर्ने कम छन् ।’

हाम्रोमा केकेलाई हिंसा भन्ने कुराको बुझाई नै कम रहेको मुख्यमन्त्रीको भनाइ छ । ‘घरबाट निकाल्यो भने, कसैले पिट्यो भने, बोक्सीको आरोपमा कुटपिट भयो भनेमात्रै हिंसा भयो भनिन्छ हाम्रोमा,’ मुख्यमन्त्री गुरुङले भने, ‘हिंसाका एक सय तरिकामा हामीलाई केहीमात्रै थाहा छ ।’

समामुख नेत्रनाथ अधिकारीले सबैखाले हिंसा अन्त्यका लागि चेतानाको स्तर बढाउनुपर्ने बताउँछन् । ‘चेतनाको विकासबिना हिंसा अन्त्य हुन सक्दैन, त्यसैले सबैभन्दा पहिले बुझाउन जरुरी छ,’ सभामुख अधिकारीले भने ।

परनिर्भर हुँदा हिंसाको मार

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले आर्थिक परनिर्भरताका कारण महिलामाथि हिंसा बढेकोे बताएकी छन् । मन्त्री पुनले महिला आर्थिक रूपमा सवल र सक्षम नभएसम्म हिंसा नरोकिने उल्लेख गरिन् ।

उनले भनिन्, ‘महिला आर्थिक रूपमा परनिर्भर भएकै कारणले विभिन्न शारीरिक र मानसिक हिंसाको चपेटामा परेका छन् । उनीहरूको आर्थिक सवलीकरणका लागि व्यावसायिक तालिम जरुरी छ ।’

मन्त्री पुनले तलिमका लागि तालिम नभई जीवनस्तरमा परिवर्तन ल्याउने खालका तालिम सञ्चालन गर्ने तयारी भइहेको बताइन् । स्वरोजगार मोबाइल एप्सबाट कस्तो तालिम आवश्यक भन्ने बारेमा सर्भे गरिरहेको उनको भनाइ छ । उनले सामाजिक विकास मन्त्रालयमा ४ करोड ३२ लाख स्वरोजगार कार्यक्रमका लागि बजेट रहेको जानकारी दिइन् ।

सांसद विष्णु लामिछाने महिला हिंसाबिरुद्धका कार्यक्रम महिलामा मात्र सीमित नराखे बढीभन्दा बढी पुरुषलाई सहभागी गराएर बुझाउनुपर्ने बताउँछन् । अर्की सांसद पुष्पा केसीले पुरुषले महिलालाई गर्ने हिंसामात्रै हिंसा नभएर महिलाले महिलालाई गर्ने हिंसा पनि ठूलो रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment