Comments Add Comment

आहा त्यो लभ लेटर !

कुनै जमाना थियो– लभलेटर साहित्यको । एउटा समय थियो– प्रेमपत्र लेख्ने, प्रेम प्रस्ताव राख्ने र प्रेमलाई स्वीकार्ने र विवाह वन्धनमा बाँधिई जीवनलाई सुन्दर बनाउने ।

लभलेटरमा त्यति शक्ति थियो, जसले अपरिचत, नयाँ नौलो सोच्दै नसोचेको मनलाई एकैचोटि वशीभूत बनाउन सक्थ्यो । फरक–फरक मनहरुलाई मिलाउन सक्थ्यो । फरक–फरक जात धर्म र दुरीलाई पनि नजिक गराउन सक्थ्यो ।

चाहेको मानिसको आशय बुझ्ने र उसलाई नजिक ल्याई जीवनसाथी बनाउने सहज माध्यम थियो लभलेटर । मानिसका मनहरुलाई कोमल ढंगबाट पर्गेल्ने, आत्मीय बनाउने र मन मुटु नै साटासाट गर्ने त्यो जमानाका युवाका लागि पुल नै थियो लभलेटर ।

लभलेटरले कठोर र अपराधी युवालाई करुण र नरम बनाई प्रेमप्रति आशक्त बनाउँथ्यो । मानसिक रुपमा विक्षिप्त भएकाहरुलाई समेत जीउने साहस दिई त्यागी र समर्पित बनाउँथ्यो प्रेमपत्रले । पाउनु मात्र प्रेम होइन, समर्पण गरी अरुको खुशीमा जीवनलाई आहुतिसम्म दिन यसले प्रेरित गरेको थियो यसले ।

आजकाल प्रेमपत्र लेखिँदैन । शहरिया टीनएज पुस्तालाई प्रेमपत्र हातले लेखिन्थ्यो भन्दा हाँसो लाग्न थालेको छ । विज्ञान प्रविधि र इन्टरनेटको जमानाले कलम चलाउनै धेरैलाई अल्छी लाग्न थालेको छ

युवा जमातलाई मात्र होइन, क्रुर तथा हिंस्रक राजा महाराजा, सम्राटसम्मलाई समेत यसले प्रेम र शान्तिको मार्गमा रुपान्तरण गरेका थुप्रै इतिहासहरु छन् ।

अझ लभलेटरका बारेमा स्थानीय गाउँघरदेखि राज्यप्रशासनसम्म ठूलै वहस र कारवाहीका विषय बन्थे । शान्ति र त्यागको एउटा गहन मन्त्र नै थियो लभलेटर साहित्य, जसले अर्को मानिसको वाच्ने साहस दिन्थ्यो, जीवनलाई आहुति दिने शक्ति प्रदान गर्दथ्यो अनि जिउने रहर जगाउँथ्यो । आफ्नो मानिस टाढा भए पनि ऊप्रतिको माया सदैव साथमा हुन्थ्यो, छोडी जानेप्रति आस्था र विश्वास दिलाइराख्थ्यो ।

कोही कसैलाई मन पर्दथ्यो, कोही कसैको माया लाग्दथ्यो तर अभिव्यक्त गर्न सकिन्नथ्यो । अझ वर्ग, जात र दुरीका कारण कसैले कसैलाई चाहेर पनि आफ्ना मनका कुराहरु अभिब्यक्त गर्न नसकिने अवस्थामा चिठ्ठी नै उपयुक्त माध्यम थियो । त्यस्ता चिठ्ठीहरुमा अझ प्राकृतिक सुन्दरताका बखानसँग तुलना गर्दै लेखिन थाले पनि ती साहित्यिक प्रेमपत्रको सान्दर्भिकता अर्कै हुन्थ्यो ।

सामान्य युवादेखि राजकुमार र राजकुमारीसम्म र नेपोलियन बोनापार्ट र राजकुमारी डायनाको प्रेमपत्रसम्म हामीले देखेका पढेका छौं । साहित्यका मुख्यतः पाँचै विधालाई समष्टिगत गरी लेख्न सकिने प्रेमपत्रहरुको इतिहास नेपालका सानासाना राज्यदेखि ताजमहल र रोमियो जुलियट, हिर्राञ्झासम्मका इतिहासमा भेटिन्छन् । साह्रै सुन्दर साहित्य ।

बेलायतकै रिचार्ज वर्टन र इजिलावेभ टैलरको प्रेमलाई मूर्तरुप दिन सुन्दर साहित्यले ठूलै भूमिका खेलेको छ । नेपोलियन बोनापार्टकी माइली श्रीमती मारिया वालेस्कीसँग गहिरो प्रेम र बालेस्कीले लेखेको प्रेमपत्रकै कारण आइसल्याण्डसँगको अन्तिम युद्धमा बोनापार्ट पराजित भएको भन्ने इतिहास पनि छ ।

अमेरिकाका राष्ट्रपति रोनाल्ड रेगनले पत्नी नान्सी रेगनलाई विवाह भएको ३१ वर्षपछि लेखेको साहित्यिक लभलेटरका बारेमा हामीले पढेकै छौं । सन् २००० मा प्रकाशन भएको रेगनको पुस्तक आइलभ यु रोनीमा यसको चर्चा छ ।

अमेरिकाकै २८ औं राष्ट्रपति उड्रो विल्सनदेखि विश्वका ठूलाठूला र महान ब्यक्तिहरु जो लभलेटर लेख्थे । प्रेममा ब्याकुल थिए । ब्याकुल प्रेमलाई सार्थक तुल्याउन प्रेमपत्रहरु लेख्थे ।

आजकाल प्रेमपत्र लेखिँदैन । शहरिया टीनएज पुस्तालाई प्रेमपत्र हातले लेखिन्थ्यो भन्दा हाँसो लाग्न थालेको छ । विज्ञान प्रविधि र इन्टरनेटको जमानाले कलम चलाउनै धेरैलाई अल्छी लाग्न थालेको छ ।

सामाजिक सञ्जालका माध्यममा लेखिने प्रेमपत्रहरुमा कलमले लेखिने साहित्य छैन, कला पनि छैन । कुनै प्राकृतिक सुन्दरतासँग मानिसको रुपरंग र आचरणलाई तुलना गरिँदैन । बरु ‘फेवाताल जस्ता आँखा तिम्रा, माछापुछ्रे हिमालजस्तो नाक तिम्रो, सिमलकाँडे छाती, फलानो हीरो हिरोइनजस्तो रुप र शरीर तिम्रो’ आदि भनेर उटपट्याङ गरिन्छ ।

साहित्यिक प्रेमपत्रमा प्राकृतिक बखानको घेरामा बाँध्दै मन परेको मानिसलाई आफ्नो अन्तरआत्मा कैद गरिने कला हुन्छ । तर, अहिलेका ई–पत्रहरुमा बदामी आँखा, सुनकेशरी लालुपाते ओँठ् चन्द्रमुहार जसले आफ्नो जीवन पूर्ण हुने र जुनीजुनी बाँच्न प्रेरणा दिने आग्रह गरिँदैन । बरु प्रेमपत्रमा सिधै ‘यु सेक्सी’ भनेर यौनको कुरा गरिन्छ । कोकाकोलाको बोतलसँग प्रेमीको शरीरलाई तुलना गरिन्छ । मायालाई रेष्टुरेन्टको खानापिनासँग दाँजेर हेरिन्छ ।

अहिलेका पुस्तालाई प्रेम एउटा देखासिखीको संस्कार बन्दै गएको छ । कलेजमा केटा वा केटीको गर्लप्रेण्ड वा ब्वाईप्रेन्ड छैन भने उसको प्रतिष्ठा हुन्न । अझ आधुनिक भनिने महंगा कलेजहरुमा एउटा युवकका दर्जनांै गल्फ्रेण्ड र एउटी युवतीका त्यति नै ब्वाइफ्रेण्ड हुने गरेका छन् । उनीहरु त्यस्तै प्रेममा रमाउँछन् । अन्ततः जब आफ्नो निजी जीवनको शुरुवात हुन्छ, तब उनीहरु ती सबै जीवनसाथीलाई छाडेर विदेशीतिर कुचो लगाइरहेका मानिस खोज्ने र तिनीहरुसँग विवाह गर्ने साधना गरिरहेका हुन्छन् ।

लिखित प्रेमपत्रको अन्तिम विन्दु थियो– दुबै मिलेर जीवनलाई शान्ति दिनु, आफू मरेर पनि अरुलाई बचाउनु र आफ्नो प्रेमी बाँचेकोमा गर्व गर्नु । अहिलेको प्रेममा शान्ति हुँदैन, आक्रोश हुन्छ, हिंसालाई प्रेरणा दिइरहेको हुन्छ । अन्त्यमा एकैक्षणको यौन तृप्तिमा गएर टुंगिन्छ । प्रेममा यौन नहुन सक्थ्यो, भए पनि त्यो अति नै पवित्र र एकआर्कालाई सदाका लागि जीवन समर्पित गर्ने कसी बन्दथ्यो । तर, आजको प्रेमले केवल यौनको माग गर्छ । त्यो पनि हिंस्रक र असुक्षित यौनसम्वन्ध । अन्ततः त्यस्ता प्रेम कि सम्झौतामा कि त दुश्मनीमा पुगेर टुंगिएका छन् । त्यसले आफ्नो पुस्तालाई मात्र होइन तिनीहरुबाट जन्मिएका पुस्तालाई समेत असर पुर्‍याइरहेको छ ।

अहिलेका नयाँ पुस्ता फास्ट ट्रयाकमा प्रेम गर्न रुचाउँछन् । फेसबुकमा च्याटिङ अनि पार्कमा डेटिङ, होटलतिर इटिङ र गेष्टहाउसतिर स्लिपिङ यति नै प्रेमको सार्थकता हो भन्ने ठान्दछन्

प्रेममा अनुनय, विनय, समीपता, समागम, मिलन–बिछोड सबै हुन्थ्यो । त्याग र समर्पणमा समेत प्रेमीप्रेमिका राजी हुन्थे । त्यही प्रेमलाई प्रेमपत्रले अझ गाडा बनाउँथ्यो । तर, अहिलेका नयाँ पुस्ता फास्ट ट्रयाकमा प्रेम गर्न रुचाउँछन् । फेसबुकमा च्याटिङ अनि पार्कमा डेटिङ, होटलतिर इटिङ र गेष्टहाउसतिर स्लिपिङ यति नै प्रेमको सार्थकता हो भन्ने ठान्दछन् । यसले हाम्रो संस्कृति, सभ्यता र सहिष्णुताको अन्त्य भई विकृति र असभ्यतातिर धकेल्दै विस्तारै समाजलाई विघटनतिर लगिरहेको हामी पाउँछौं ।

समाजमा छरछिमेक, सामाजिक प्रतिष्ठा, इज्जत इमान, दयामाया, सरसहयोग भन्ने हराउँदै गएको छ । समग्रमा भन्दा विभिन्न संस्कृति, धर्म, कुल, परम्पराहरु हराउँदै मतलवी समाजको निर्माण हुँदैछ । कुनै जमानामा प्रेमपत्रको खेस्रासमेत घर वा विद्यालयमा भेटियो यो सार्वजनिक विषय बन्थ्यो, स्कुलबाट रेष्टिकेट समेत हुन सक्थ्यो । तर, आजका स्कुल कलेजहरु प्रायः खुलेआम किसिङ पार्क र सेक्स अफेअर सेन्टर बन्दा पनि अभिभावक र शिक्षकहरु नयाँ जमाना भन्दै स्वीकारिरहेका छन् । अर्थात छोरी वा छोराको यस्ता करामतलाई आखाँले देखेर मनले छोपेर बस्नु परिरहेको छ ।

मोवाईलमै झुण्डिरहेका युवायुवतीहरु हामी जताततै देखिरहेका छौं । यिनीहरु मध्ये अधिकांश प्रेमका लागि वार्तालाप गरिरहेका हुन्छन् । त्यस्ता ई–वार्तालापमा न कुनै रस छ न कुनै साहित्य । ठाडा कुरा हुन्छन्, न विम्रता र न गहनता । सिधै टुंगिन्छ प्रेम । अनि स्वार्थ, गालीगलौज र हिंसामा पुगेर यी प्रेमहरुको दुखद अन्त्य भएका छन् ।

मानवतालाई जगाइराख्न र शान्तिमा नै जीवनको आनन्द मान्न हिजोका साहित्यिक प्रेमपत्रहरु मूल्यवान थिए । मानव जीवन र जगतलाई सुन्दर बनाउन र शान्ति खोज्न त्यस्ता प्रेमपत्रका विषयमा युवा पुस्ताले अध्ययन गर्न जरुरी छ । यसर्थ आफ्नो प्रेमलाई शक्ति दिन, रसमय तुल्याउन तथा समाजउपयोगी बनाई हाम्रो मानवधर्म र संस्कृतिलाई बचाइराख्न नयाँ पुस्ताले प्रेमपत्रको परिभाषा र कलालाई फेरि पुनर्विचार पो गर्ने हो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment