+
+
Shares

आईटीपार्कमा प्रदेश राजधानी कि डम्पिङसाइट ?

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ११ गते १४:४३

११ मंसिर, काभ्रे । प्रदेश ३ को राजधानी काभ्रेपलाञ्चोक वा मकवानपुर कहाँ रहने भन्ने विषयमा चर्को मतभेद छ । यसैको चर्चामा गत शुक्रबारदेखि काभ्रेपलाञ्चोकमा नयाँ विषयले प्रवेश पाएको छ ।

यो बहसमा प्रदेश राजधानीका प्रमुख कार्यालय राख्ने भनेर चर्चा भएको आईटीपार्क अगाडिको डम्पिङ साइट पनि जोडिएको छ ।

आईटीपार्कमा डम्पिङसाइट

बनेपा नगरपालिकाले २०५५ सालदेखि आफ्नो डम्पिङ साइटका रुपमा प्रयोग गर्दै आएको आईटीपार्क अगाडि गत शुक्रबार अज्ञात समूहले आगो लगाएपछि बनेपा नगरपालिकाभित्रको फोहोर डम्पिङ साइटमा लैजान स्थानीयले रोक लगाएका छन् । फोहोरको डंगुरमा आगो लगाएपछि वरपर धुवाँले ढाक्नुका साथै दुर्गन्ध फैलिन थाल्यो ।

बनेपा नगरपालिकाको मिनी दमकल बिग्रेकाले आगो निभाउन भक्तपुर र धुलिखेल नगरपालिकाको मिनी दमकल प्रयोग गरियो ।

प्रदेश ३ को स्थायी राजधानीका लागि उपयुक्त स्थान मानिएको आईटी पार्कअघि अज्ञात समूहले डम्पिङ साइटमा आगो लगाएपछि बनेपाको मुख्य बजार, धुलिखेलको काठमाडौ विश्वविद्यालय आसापास र पनौतीको श्रीखण्डपुर क्षेत्रमा दुर्गन्ध साथै धुवाँले घण्टौं ढाकेको थियो ।

बनेपा, पनौती र धुलिखेल नगरपालिकाको संगमस्थलमा पर्ने डम्पिङ साइटका कारण चारैतिर घनाबस्तीमा नै स्वास्थ्य समस्या बढ्दै गएको भन्दै फोहोर ल्याउनबाट रोक्न स्थानीयले संघर्ष समिति गठन गरी आन्दोलन थालेका छन् ।

‘आईटीपार्कमा फोहोर होइन, अब राजधानी आउँछ’

आईटीपार्क क्षेत्रका स्थानीयले अब फोहोर होइन, प्रदेशको राजधानी ल्याउने भन्दै फोहोर बोक्ने गाडीलाई बनेपामा नै फर्काएका छन् । ‘अब फोहोर उतै राख्नुस्, हामी, आइटिपार्क वरपर सुरक्षित र सफा बनाउने अभियानमा छौं, संघर्ष समितिका अध्यक्ष टीका हुमागाईंले भने, ‘राजधानी बस्ने ठाउमा फोहोर होइन, हरियाली र स्वच्छ बनाइन्छ ।’

‘आईटीपार्क, घनाबस्ती, एसओस बालग्राम, काठमाडौ विश्वविद्यालयको बीचमा फोहोरको डंगुरभन्दा पनि प्रदेशको राजधानी ल्याउनुपर्यो’ सामाजिक अगुवा हरिगोपाल प्रधानाङ्गले भने, ‘फोहोर फाल्ने ठाउँ अन्त कतै खोजुन्, अब आईटीपार्क अगाडि डम्पिङ हुदैन, हामीले अब फोहोरलाई नो इन्ट्रि गरिसक्यौं ।’

डम्पिङको स्थायी विकल्प अन्तिम चरणमा : मेयर वादे

बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह वादेले फोहोरको दीर्घकालीन समाधान खोजी भइरहेको बताए । ‘प्रदेश राजधानीको टुङ्गो लाग्नु भन्दा पहिले नै फोहोरको पनि स्थायि व्यवस्थापन भइसक्छ’ उनले भने ‘हामीले वर्षौसम्म बनेपाको फोहोरलाई व्यवस्थापन गर्ने स्थानको पहिचान समेत गरेका छौं, बनेपामा फोहोरको समस्या पुसभित्रै समाधान भइसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?