Comments Add Comment

एसपीलाई २५ हजार घुस दिने चौरसिया पक्राउ

११ मंसिर, वीरगञ्ज । प्रहरी उपरीक्षक (एसपी) लाई घुस दिन खोज्ने एक जनालाई पर्साबाट प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो एसपी रेवती ढकालको कार्यकक्षमै आएर २५ हजार रुपैयाँ घुस दिन खोज्ने विश्वजीत चौरसियालाई प्रहरीले पक्रेको हो ।

पटके सवारी कर संकलन गर्ने युवाहरु प्रति नरम भइदिन भन्दै २५ हजार रुपैयाँ घुस दिन खोजेपछि चौरसियालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

भेटघाटका लागि भनेर कार्यकक्षमा आएर घुस दिन खोजेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

वीरगन्ज महानगरपालिकामा भित्रिने र बाहिरिने सवारी साधनसँग लिने पटके करको ठेक्का मोना कन्सट्रक्सनले पाएको छ । कन्सट्रक्सनका लागि पटके कर संकलन गर्ने युवाहरुले सवारी चालकरुलाई धाकधम्की दिँदै जबरजस्ती दोहोरो कर लिने गरेको गुनासो प्रहरीकोमा आउने गरेको थियो ।

दोहोरो कर नदिए युवाहरुले सवारी चालकहरुलाई कुटपिटसमेत गरेको उजुरी आएको प्रहरीको भनाइ छ । ‘भेटघाटका लागि भनेर आएका थिए, केटाहरुले कहिलेकाँही यताउति गर्छन्,’ एसपी ढकालले भने ‘सफ्ट भइदिनुपर्यो भनेर रकम दिन खोजेपछि नियन्त्रणमा लिएका हौं ।’

पटके सवारी करका बारेमा धेरै गुनासोहरु आउने गरेको रेवती ढकाल बताउँछन् ।

पटके सवारी करका बारेमा सातामा दुई चारवटा गुनासो आउने गरेको छ, पैसा दिएपछि कारबाही गर्दैन भन्ने सोचेर रकम दिएको हुन सक्छ ।

दुई दिनअघि रजतजयन्ती चौकमा ठेकेदार कम्पनीका प्रतिनिधिले एक भारतीय मालवाहक ट्रकसँग पहिले पटके करबापत एक सय १३ रुपैयाँ लिएको र पाँच मिनेटपछि जरिवाना भन्दै थप एक सय १३ रुपैयाँ लिएको उजुरी प्रहरीकोमा आएको थियो ।

प्रहरीले त्यहाँ खटिएका कर्मचारीहरुलाई नियन्त्रणमा लिएको थियो । ठेकेदार पक्षले उनीहरुलाई कामबाटै निकाल्ने भनेपछि एकपटकका लागि भनेर चेतावनी दिएर छोडिएको प्रहरी अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment