१३ मंसिर, काठमाडौं । एसिया प्यासेफिक सम्मेलनमा सहभागी हुन विदेशी पाहुनाहरु काठमाडौं आउने क्रम सुरु भएको छ । केहीबेर अगाडि म्यानमारकी नेतृ आङ सान सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं ओर्लिएका छन् ।
विदेशी पाहुनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे । त्यहाँ नेपाली सेनाको टोलीले सम्मान गारत अर्पण गरेको थियो ।
काठमाडौंको बौद्धस्थित ह्यात होटलमा शुक्रबारबाट चारदिनसम्म सम्मेलन आयोजना हुँदैछ ।
विदेशी पाहुनाहरुको नेपाल आगमनलाई लक्षित गरी काठमाडौंको सुरक्षा व्यवस्था सुदृढ पारिएको छ । आज मंसिर १३ गतेदेखि मंसिर १६ गतेसम्म काठमाडौं उपत्यकामा चल्ने सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागु गरिएको छ । जोर बिजोर प्रणालीका कारण कम मात्र सार्वजनिक गाडीहरु चलेकाले यात्रुहरुले सास्ती पाएका छन् ।
सम्मेलनमा ४५ देशका १५ सय पाहुनाको सहभागिता रहने युपीएफले जनाएको छ । आयोजकका अनुसार सम्मेलनको उदघाटन सत्रमा विभिन्न मुलुकका सरकार तथा राष्ट्र प्रमुखबाट सम्बोधन हुनेछ भने दोस्रो सत्रमा शान्ति, विकास, सुशासन र सांसदहरूको भूमिका, तेस्रो सत्रमा अन्तर धार्मिक संगठन र नागरिक समाजको भूमिका, चौथो सत्रमा जलवायु परिवर्तन र पाँचौ सत्रमा सञ्चार माध्यमको भूमिका विषयमा छलफल हुनेछ ।
प्रतिक्रिया 4