Comments Add Comment

‘सफल एक्स्पो पोखरा’ शुरु

१३ मंसीर, पाेखरा । ‘सफल एक्स्पो पोखरा’ विहीबारदेखि पोखरामा शुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा विगत वर्षहरुमा हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको परिमार्जित रुप ‘सफल एक्स्पो पोखरा’ विहीबारदेखी पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शुरु भएको हो ।

मंसीर २४ गतेसम्म सञ्चालन हुने एक्स्पोको गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विहीबार एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरे ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले ठूला परियोजनामा लगानी गर्न उद्योगी/व्यवसायीलाई आग्रह गरे ।

लगानीको वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताउँदै उनले भने,’तपाईंहरु ठूला परियोजनामा लगानी गर्नुस्, हामी लगानीको सुरक्षा गर्ने वातावरण बनाउन तयार छौं ।’

उनले गण्डकी प्रदेशमा स्थापित उद्योग/व्यवसायको नाफाको ज्ञारेन्टी गरिनेपनि बताए । मुख्यमन्त्री गुरुङले एकद्धार प्रणालीमार्फत उद्योग दर्ता गर्ने वातावरण बनाउनेपनि प्रतिबद्धता जनाए ।

मुख्यमन्त्री गुरुङले अब गण्डकी प्रदेशमा विकासले गति लिने दाबी गरे । प्रदेश सरकारलाई आवश्यक मध्ये करीब ८० प्रतिशत कर्मचारी कार्यालयमा हाजिर हुन आइसकेकाले अब कर्मचारी अभाव नहुने भएकाले कामले गति लिने उनको भनाई थियो ।

उनले विकास निर्माणका परियोजनाहरुलाई कम्तिमा वैशाख ३० गतेभित्र नै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिएको जानकारी गराए ।

बजेट सक्ने हिसाबले असारमा काम नगर्ने बताउँदै उनले ढिलोमा जेठ १५ गतेभित्र योजना सम्पन्न हुने बताए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले सुशासनको कमी तथा तीन तहका सरकारबीच सामानजस्यताको अभावमा लगानीकर्ताहरु उत्साहित हुन नसकेको बताए ।

राजनीतिक नेतृत्व नै भ्रष्टाचारमा लिप्त हुने तथा घुस नखुवाई कामै नहुने परिपाटी अन्त्य नभएसम्म देशका आन्तरिक र बाहृय लगानी आकषिर्त हुन नसक्ने उनले ठोकुवा नै गरे ।

आयोजक पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले राजनीतिक अस्थिरतालाई दोष देखाएर सम्वृद्धि हाँसिल हुन सकेन भन्ने छुट राजनीतिक नेतृत्वले नपाउने बताए ।

उनले प्रदेश र स्थानिय सरकारको गति अत्यन्त सुस्त भएको भन्दै गति बढाउन सुझाव दिए । उनले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीले केन्द्र सरकारसँग गरेको गुनासो दिनहुँ सुन्दा पुनः उहि असारे विकासको नीति दोहोरिने आशंका उब्जाएको बताउँदै यो शुभ संकेत नभएको बताए ।

उनले यहि गतिमा सरकार अघि बढ्ने हो भने घर घरमा सिंहदरबार आउँछ भनेर बसेका नागरिकको धैर्यताको बाँध टुट्ने चेतावनी दिए ।

तेस्रो मोवाइल मेलासमेत जोडेर आयोजना गर्न लागिएको ‘सफल एक्स्पो पोखरा’ मंसीर २४ गतेसम्म जारी रहनेछ । एक्स्पोमा ३ सय स्टल रहेका छन् ।

एक्स्पोमा पोखरासहित सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवर्द्धन तथा बजारीकरणमा सघाउ पुर्‍याउनु तथा गण्डकी प्रदेश र खासगरी पोखराको ब्यवसाय बिस्तारको सम्भावनाको खोजीमा पनि एक्स्पो समर्पित रहेको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघले जनाएको छ ।

एक्सपोमा मेड इन नेपाल पेभेलियन, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन, दैनिक उपभोग्य खाद्यबस्तु र लत्ताकपडा, पुष्प प्रदर्शनी, हस्तकलाका सामग्री, अटो प्रदर्शनी, महिलाहरुका उत्पादनहरु, रेष्टुरेण्टहरु रहेका छन् ।

एक्स्पोमा पहिलोपटक छुट्टै औद्योगिक पेभेलियन राखिएको छ । औद्योगिक पेभेलियनमा पोखरा औद्योगिक क्षेत्रका २० वटा उद्योगका स्टल राखिएको अध्यक्ष अधिकारीले बताए ।

एक्स्पोमा यस पटक पर्यटनको पनि स्टल राखिएको छ भने यसपटक एक्स्पोमा मोवाइल मेलापनि जोडिएको छ । मोवाइल वितरक संघ गण्डकीसँगको सहकार्यमा छुट्टै मोवाइल पेभेलियन राखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment