क्षयरोगको खास भय छैन, हामीलाई । किनभने अहिले क्षयरोगले हामीलाई उत्ति अत्याएको अवस्था छैन । यसको निदानका लागि सरकारी तहबाटै विशेष पहल जारी छ । उपचारदेखि औषधीसम्म निशुल्क उपलब्ध भइरहेको छ । तर, पछिल्लो तथ्यांकले क्षयरोगको भयबाट हामी अझै मुक्त नभइसकेको देखाउँछ । तथ्यांक भन्छ, हजारौं नेपाली क्षयरोगकै कारण मृत्युको मुखमा पुगिरहेका छन् । अझ अत्याउने तथ्यांक त के छ भने, यसको रोगी प्रतिबर्ष बढ्दो अवस्थामा छ ।
हामीले खास ध्यान नदिएको वा सर्तकता नअपनाएको यो रोगले भोलिको दिनमा भयावह समस्या निम्त्याउन सक्ने खतरा अझै बाँकी छ । यसै सन्दर्भमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका चिकित्सकसँग अनलाइनखबरले गरेको कुराकानीको सारंश यहाँ पेश गरिएको छ ।
क्षयरोगको जोखिम त अहिले छैन नि ?
क्षयरोगको जोखिम अझै पूर्णत टरेको छैन । तथ्यांकले के देखाउँछ भने, नेपालमा वर्षेनी क्षयरोगका कारण थुप्रै मानिसको मृत्यु हुने गरेको छ ।
क्षयरोगी बर्षेनी कम हुँदै गएको छ वा बढ्दो अवस्थामा ?
राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालको जनसंख्यामध्ये ५० प्रतिशत क्षयरोगाट ग्रसित गछन् । हरेक बर्ष ४४ हजारको संख्यामा क्षयरोगीको बृद्धि भएको छ ।

भनेपछि, अझै क्षयरोग मृत्युको कारण बनिरहेको छ ?
हो, तथ्यांकले यस्तै देखाउँछ । ५ देखि ७ हजार नेपाली बर्षेनी क्षयरोगको कारण मृत्यु भइहेको छ । यो रागेले खासगरी १५ देखि ४९ बर्षसम्मका व्यक्तिलाई आक्रमण गरेको पाइन्छ ।
तर, यसको उपचार त सहज छ नि ?
नेपालमा क्षयरोग उपचारका लागि ४ हजार ३२१ डट सेवा केन्द्र छन् । सन् २०१६ सम्मा ४५ जिल्लामा मात्र रहेको जिन एक्सपर्ट सुविधा सन् २०२१ सम्मा ७५ वटै जिल्लामा लाने सरकारले लक्ष्य लिएको छ । यस्तो प्रविधि क्षयरोग पत्ता लगाउन भरपर्दो र गुणस्तरिय मानिन्छ ।
यो कस्तो किसिमको रोग हो ?
क्षयरोगलाई आम भाषामा टिबी भनिन्छन् । टिबीको अर्थ ट्युबरक्लयुलोसिस हो । यो एक प्रकारको संक्रमण हो । यसको जीवाणु सन् १८८२ मार्च २४ मा रोबर्ट कोचले पत्ता लगाएका हुन् ।
क्षयरोगको समयमै उपचार नगरेमा ज्यानै जाने खतरा हुन्छ । तर, यसबाट ग्रसित मानिसलाई सरकारले निशुल्क औषधीको समेत व्यवस्था गरेको छ ।
यो रोग कसरी लाग्छ ?
यो सरुवा रोग हो । एक संक्रमित व्यक्तिबाट अरुलाई सजिलै सर्छ ।
जस्तो, कुन अवस्थामा ?
संक्रमित व्यक्तिले हाछ्युँ गर्दा वा खोक्दा हावाको माध्ययमबाट क्षयरोगको जीवाणु सर्छ । यो रोग माइक्रोव्याक्रियम ट्युबर्कुलोसिस् नामक किटाणुबाट लाग्ने गर्दछ । मानिसको यसको जीवाणु प्रवेश गरेपछि उसको रोग प्रतिरोधात्मक क्षमताअनुसार रोगले आक्रमण गर्छ ।
कसरी यो रोग सरेको थाहा पाउने ?
जीवाणुु प्रवेश गरेको छ महिनादेखि एक वर्षमा रोगका लक्षण देखापर्न थाल्छन् । छ महिनादेखि एक वर्षसम्मको अवधिलाई झ्याली समय पनि भनिन्छन् । यो रोगका जीवाणुले एक प्रकारको विष उत्पादन गर्छ । जसलाई टूबेरकुलिन भनिन्छ र यसले सरिरका कोषालाई क्षय बनाउँछ ।
यसका लक्षण के कस्ता देखिन्छन् ?
यसका लक्षण सजिलै थाहा हुन्छ । संक्रमण सुरु भएपछि उनको शरीरमा केही परिवर्तन देखा पर्छ । जस्तै,
– लामो अवधिको खोकी लाग्नु
– खकारमा रगत देखा पर्नु
-साँझपख ज्वरो आउनु
– राति सुतेको बेलामा पसिना आउनु
– तौल घट्दै जानु
– अन्य अंगको संक्रमण भएमा अन्य थुप्र लाक्ष्ण देखापर्छन् ।
कसरी परीक्षण गर्ने ?
फोक्सोको क्षयरोग निदान गर्ने सरल र भरपर्दो उपाय भनेको खकार परीक्षण हो । नियमित दुई हप्ताभन्दा बढी समय खोकी लागेमा अनिवार्य रुमा खकार परीक्षण गर्नु पर्छ ।
त्यस्तै, क्षयरोग निदानको लागि एक्स-रे, मण्टुटेष्ट पनि सहायक माध्यम हुन् । रोगको पहिचान गर्न गाह्रो भएमा जिन एक्सपर्ट प्रविधिबाट परीक्षण गराउनु पर्छ । फोक्सोबाहेक अन्य भागमा लाग्ने क्षयरोग निदानको लागि एफएनएसी, बायोपसी, कल्चर टेस्ट आदि परीक्षण गर्न सकिन्छ ।
के छ त उपचार विधी ?
सकेसम्म संक्रमण सर्न नदिनु नै यसको सुरक्षित उपाय हो । त्यसबोहक स्वस्थ्य जीवनशैली अपनाउनुपर्छ । यदि यो संक्रमण भएमा विरामीले आराम गर्ने, पोषणयुक्त खाना खाने र मद्यपान र धूमपान गर्नु हुँदैन । हरियो सागपात, फलफूल, माछा-मासुमा जोड दिनुपर्छ । पोषिलो तरल खानाको प्रयोग पनि गर्नुपर्छ ।
लाक्षणिक उपचार पनि गर्नुपर्ने हुन्छ । जस्तो की खोकी, ज्वरो र दुखाइको पनि नियमित औषधी सेवन गर्नुपर्छ । यसको प्रमुख उपचार भनेको एन्टी ट्युबरकुलर उपचार (एटीटी) डट्स विधिद्वारा गरिन्छ ।
यसको औषधी स्वास्थ्य संस्थामा निशुल्क उपलब्ध हुन्छ । यी सबै उपचार तालिमप्राप्त स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा गर्नुपर्छ । पूर्ण उपचार नै क्षयरोगको सही उपचार पनि हो ।
प्रतिक्रिया 4