Comments Add Comment

नारीले पुरूषमाथि यसरी गर्दारहेछन् हिंसा

महिला हिंसाबिरुद्ध १६ दिने बिशेष अभियान चलिरहेको बेला मलाई भने महिलाद्वारा पुरूषमाथि हुने हिंसाबारे केही लेख्न मन लाग्यो ।

कुरा शुरू गरौं ।

यसै साता भक्तपुर पुगेकी थिएँ । गाउँको एकजना दाजु निक्कै बर्षपछि अकस्मात भेटिनुभयो । गाउँमा हुँदा दाजु सोझा र सरल प्रकृतिका थिए । तर, यस शहरमा अहिले भेट्दा जटिल र कठोर जस्तो लाग्यो । चिन्न पनि मुस्किल भयो । बल्लतल्ल चिनें । कान्तिहीन अनुहार, लामोलामो कपाल, नङ पनि त्यस्तै । कपडा मैलो न मैलो, त्यो पनि पुरै खज्मजिएको । न कपडा लगाएको मिलेको छ, न त शरीरमा सुहाएको छ । अचम्मै परें दाजुको रूपरंग देखेर ।

के हेरेकी नानी ? पागलजस्तो लाग्यो ?

नि:शब्द भएँ म । हो भनौं कसरी भनौं ? होइन भनौं, होजस्तै लाग्छ । ओहो ! कस्तो धर्मसंकट । एकछिनपछि फ्याट्ट बोली फुट्यो – होइन, होइन दाजु । हजुरलाई कहिल्यै पागल सोच्छु होला त ? जसोतसो आफूलाई सम्हालें ।

मैले केही सोध्नै नपाई दाजुका आँखामा आँसु भरिए ।

म बडो असमन्जसमा परेँ । पुरुषहरुको मन त कठोर हुन्छ भन्थे । होइन रहेछ । झूटो रहेछ । सायद वाध्यताले कठोर बनाएको हुँदोरहेछ पुरूषको मन । दिउँसोको टन्टलापुर घाममा पनि मेरो मनको गहिराइमा मुटु चिल्ने सिरेटो चल्न थाल्यो । जिज्ञासाले मन भरियो ।

भन्नुस् न दाइ ? के भयो र त्यस्तो ? केही गर्न सक्थें कि मैले ?

ममाथि हिंसा भयो । तिम्री भाउजूले हिंसा गरिन् ममाथि ।

दाजु फिल्मीशैलीमा टक्क रोकिनु भो । मलाई खाउँलाझैं गरेर ट्वाल्ट्वाल्ती तलदेखि माथिसम्म घुरेर हेर्नुभो । दाजु फेरि फिल्मीशैलीमै बोल्नथाल्नु भो- तिमी त लेखिका होइन ? पढिरहन्छु म तिम्रो लेख । राम्रो लाग्छ । तिम्रो लेख पढ्दा नारीवादीजस्तो लाग्छ तिमी । होइन, यो संसारमा नारीमात्र पर्छन् र हिंसामा ? पुरूषमाथि नारीले हिंसा गर्दैन ? गज्जब छ बा ! के बुझाई हो तिमीहरूको ?

दाजुका आँखामा आँसु होइन, आगोको लप्का दन्कन थाल्यो । मनभित्रैदेखि डर लागेर आयो मलाई । के भनौं के, फेरि नि:शब्द भएँ म ।

महिला हिंसाबाट मुक्ति भनेको बदलामा पुरूषमाथि हिंसा गर्नु हो ? तिमी त लेखिका मान्छे, लु ममाथि तिम्री भाउजूले गरेको हिंसा लेखेर छपाउ त ! तिम्रो पनि दम हेरौं म । दाजुले ममाथि चुनौती तेर्स्याउनु भो ।

शान्त भावमा मैले दाजुलाई सोधें- दाजु ! भाउजूले तपाईंमाथि के त्यस्तो नराम्रो गर्नु भो ? पहिला त्यो कुरा त भन्नुस् । अनि लेख्ने कुरा पछि गरौंला ।

हाँडीमा मकै पड्के जसरी दाजु पड्कन थाल्नुभो-

घरको गरिबीको कारण मैले कति दु:ख गरेर पढें, कति संघर्ष गरेर जागिर खाएँ ? त्यो त सब थाहा छ नि तिमीलाई । भाउजू कति सम्पन्न परिवारमा जन्मिहुर्की गरेकी हो, त्यो पनि थाहा छ तिमीलाई । जागिर छोड भनी, जागिर पनि छाड्देँ । गाउँको सबै बेचेर शहरमा घर बनाउँ भनी, त्यसै गरें । उसको खुशीका लागि जे जे भन्छ, सबै मान्दै गएँ । ल, अब त मेरो बाबु आमा बोझ भए रे… ।

दाजु एक्कासी भक्कानिनु भो । बोल्नै सक्नुभएन । बोली बन्द नै भो । हरे ! कस्तो आपत ? आफूभन्दा सानो भए पनि फकाउनु हुन्थ्यो, बूढो मान्छेलाई के भन्नू ?

केही छिनपछि दाजु फेरि बोल्न थाल्नुभो- हेर नानी ! मेरा जन्मदिने बाआमालाई बृद्धाश्रम लगेर छाड्दे पो भन्छ ए ! कसरी भन्न सकेकी होली ? मनमा कत्रो पाप ? कति अमानवीय ? कति निष्ठुरी ? हे भगवान !

दाजुले दुबै हातले टाउको समाउनुभयो ।

मेरो मनमा पनि ती भाउजूप्रति घृणा मिश्रित आक्रोश पलायो । दाजुलाई सबै कुरा भन्न आग्रह गरें ।

हेर नानी ! मैले भाउजूको कुरा मानिनँ । देवीजस्ती श्रीमती दिनदिनै राक्षसनीजस्ती बन्दै गई ।

दिनदिनको झगडा देखेर बाआमा घर छाडेर बृद्धाश्रममा जाने सोंच बनाउनुभएको रहेछ । अकस्मात एक दिन बाआमाले बोलाएर भन्नुभो- हाम्रा कारणले बुहारीलाई अप्ठेरो परेजस्तो छ । अब हामी यो घर छाडेर जाँदैछौं । अप्ठेरो नमान ।

मैले श्रीमतीसँग अनुनय विनय गरेँ । आमाबाको चित्त दुखाउनुहुन्न भनेँ । ढुङ्गा पग्लेला, तर त्यसको मन पग्ले पो ! लोग्ने–स्वास्नी अंशवण्डा गरौं भनें । त्यो पनि मानिनँ ।

गाउँबाट बेचेर ल्याएको पैसाले मात्र यहाँ घर बनाउन नपुग्ने, उसले पनि माइतीबाट ल्याएर पैसा हाली । दुई भाग उसको माइतीको र एक भाग पैत्रिक सम्पत्ति लाग्यो यो घर बनाउन । घर पास गर्ने बेलामा अत्तो थापी । यो घर त मेरो नाममा पास गर्नु पर्छ भनी । विश्वास गरेर उसैको नाममा घर पास गरियो । अहिले आएर मेरो नामको घर छुनै दिन्न भन्छे ।

हेर्दाहेर्दै आमाबालाई नोकरजस्तो व्यबहार गर्न थाली । दिनकै झगडा पर्न थाल्यो । सानो बच्चाको दिमागमा पनि नकारात्मक असर पर्दै गयो ।

अस्ति दशैंको टीकाको दिन थियो । आमाबाको हातबाट टीका लाउँदिन भनेर एक्कासी निहुँ खोज्न थाली । भीखमंगाहरूबाट के टीका लगाउनु रे ! भन्नको पनि भाँती हुन्छ । सहनुको पनि सीमा हुन्छ ।

गर्दागर्दै झगडा नै पर्यो । झगडा माइतीसम्म पुर्याई । माइतीबाट आफन्तहरू बोलाई । माइतीको बलमा अपमानजनकरूपमा बाआमालाई घरबाट घोक्र्याएर बाहिर निकाली । प्रतिवाद गरें मैले ।

यति सुनाउँदै गर्दा दाजुको टाउको बिस्फोट हुन लागेको बमजस्तै लाग्यो मलाई ।

महिलाका लागि महिलाले मात्र र पुरूषका लागि पुरूषले मात्र बोलेर, लडेर हुँदैन । पुरूष-महिला हातेमालो गर्दै अघि बढ्न सकेमात्रै समाजले गति लिन्छ, देशको मुहार बदलिन्छ

म आत्तिएँ । टेबुलमा मुड्की बजार्नुभो । कफीको कप उछिट्टिएर भुइँमा उत्तानो पर्यो ।

दाजु रौद्र भावमा बोल्दै जानुभो – त्यसपछि आमाबासँगै निस्किएँ म पनि । भगवानलाई त्यागेर राक्षसनीलाई अँगाल्न सक्छु त म ? मेरा लागि मेरा बाआमा भगवान हुन् बुझ्यौ बहिनी ? स्वास्नीका लागि पितृसमान आमाबालाई कसरी बृद्धाश्रम पठाउन सक्छु म ?

अलि शान्त देखिनु भो दाजु । र, फेरि सुनाउन थाल्नु भो ।

आँगनमा उभिएर आशिष पो दिन थाल्नुभो बाआमा त । घरबाट आफूहरूलाई घोक्राएर निकाल्ने बुहारीलाई लक्ष्मीजस्ती भन्दै प्रशंसा पो गर्न थाल्नुभो । साँच्चै अचम्मको हुँदोरहेछ आमाबाबुको मन । कति सहन सक्ने ? कति क्षमाशील ?

दाजु फेरि भक्कानिनु भयो ।

सम्हालिँदै अन्तिममा दाजुले कुराको बिट यसरी मार्नुभो-

नानी ! टीकाकै दिन हामी त्यस घरबाट निस्कियौं । आमाबाले अहिले पनि स्वास्नीसँग मिलेर बस भनेर मलाई दबाब दिइरहनु भएको छ । मेरो मन पटक्कै मानेको छैन । अहिले एउटा कोठा खोजेर बसेका छौं । ममाथि हिंसा भो नानी । मलाई न्याय चाहियो ।

सकेसम्म न्याय गर्ने वचनसहित दाजुसँग छुट्टिएँ । मनमा आँधी मात्र होइन, सुनामी नै आयो ।

फर्कंदा बाटोभरि सोच्दै आएँ ।

हाम्रो समाज पुरूषप्रधान छ । त्यसैले पुरूषको तुलनामा महिलामाथि बढी नै अन्याय, अत्याचार हुन्छ । समाजको धर्म, संस्कृति, सबै पनि पुरूष अनुकूल छ । तर, यसको अर्थ, पुरूषमाथि अन्याय नै भएको छैन भन्नेचाहिँ होइन रहेछ । महिलाहरूबाट पुरूष पनि प्रताडित रहेछन् । उनीहरूको पक्षमा हामी सचेत नारीहरूले बोल्नैपर्छ ।

महिलाका लागि महिलाले मात्र र पुरूषका लागि पुरूषले मात्र बोलेर, लडेर हुँदैन । पुरूष-महिला हातेमालो गर्दै अघि बढ्न सकेमात्रै समाजले गति लिन्छ, देशको मुहार बदलिन्छ ।

हिंसा, आखिर हिंसा नै हो । चाहे महिलाबिरूद्ध गरिने हिंसा होस् वा पुरूषबिरूद्ध । हिंसाले ब्यक्ति, घरपरिवार, समाज र देशलाई नै बिगार्छ । शान्ति, सिर्जना सबैको ढोका बन्द गरिदिन्छ । तर, स्मरणीय कुरा के छ भने अन्याय, अत्याचारको बिरूद्ध गरिने प्रतिवाद हिंसा नभएर उसको अधिकार हो । मेरो प्रष्ट बुझाइ छ- अन्याय, अत्याचार हिंसा हो भने त्यसको प्रतिवाद गर्नु अधिकार ।

अन्त्यमा,

दाजु ! तपाईंसँग छुट्टिने बेलामा तपाईंलाई सकेको न्याय दिने वचन गरेकी थिएँ । न्याय दिने न्यायाधीश त होइन म । तैपनि सत्य कुरा संसारसामु राख्न आफ्नो कर्तब्य ठान्दै शब्दमार्फत तपाईंमाथि भएको हिंसा सार्बजनिक गर्न लागेकी छु । सक्छेस् भने लेखेर देखा भन्नुभएको थियो । हो दाजु, मैले लेखेको छु । म नडराई भन्छु- तपाईंमाथि भाउजूबाट जुन व्यवहार भयो, त्यो तपाईंमाथिको हिंसा नै हो ।

भाउजूलाई मेरो बिशेष अनुरोध छ- स्वर्गजस्तो सुन्दर घर नरक नबनाउनुहोस् । सासू-ससुरा भनेका आफ्नै आमाबाबु हुन् । उहाँहरूको यथोचित सम्मान गर्नुस् । उहाँहरू भएर नै तपाईंले सोचेजस्तै पति पाउनु भएको हो । मान्छेको जीवन कुमालेको चक्रजस्तै हुन्छ । हामी सबै एकदिन बूढो हुनुपर्छ । हामीले जे सिकायो, सन्तानले त्यही सिक्ने हो ।

भाउजू ! सासू-ससुरा र पतिसँग माफी माग्नुस् । उहाँहरूलाई घर फर्काउनुस् । दाजु ! तपाईं पनि इगो नराख्नुस् । आमाबाबालाई लिएर घर फर्कनुस् । आफ्नो स्वर्गजस्तो घरलाई अझ स्वर्ग बनाउनुस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment