+
+
Shares

‘प्रसाद’बाट करोडको केक काट्न हतारो छैनः दिनेश राउत

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १८ गते ११:२८

मंसिर २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘प्रसाद’ अहिले धेरैको ध्यान खिच्न सफल छ । चलचित्रको गीत र ट्रेलरपनि यसको मुख्यकारण हो । तर, यो चलचित्रलाई बोकेका यसका क्याप्टेन दिनेश राउतको मनमा अर्कै छटपटी छ । उनै निर्देशकसँग अनलाइनखबरले चलचित्रको बिषयमा कुराकानी गरेको छ ।

प्रसाद चाख्ने कि अघाउने ?
‘प्रसाद’ चाख्ने या अघाउने भन्ने नै हुँदैन, यो त ग्रहण गर्ने कुरा हो । हामीले चलचित्रमा यो नाम कथाको भाव अनुसार बिम्बका लागि प्रयोग गरेका छौ । यो एउटा सोच हो । कोही व्यक्ति यसलाई लिएर तृत्त हुन सक्छन् त कोही सन्तुष्ट नहुन पनि सक्छन् । यो व्यक्ति अनुसार फरक हुन्छ ।

‘प्रसाद’को बिषयवस्तु यूनिभर्सले कन्टेन्ट होइन र ?
चलचित्र त आफैमा यूनिसर्भल हो । तर, सबैलाई यसको प्रस्तुति, कथा मनपर्छ भन्ने हुँदैन नी ।

कस्ता दर्शकलाई यो चलचित्र मनपर्ला त उसो भए ?
विचारमा परिवर्तन आउनुपर्छ भन्ने मान्छेलाई यो चलचत्रि ठिक लाग्न सक्छ । रुढिवादी सोच भएका मानिसले यो चलचित्रलाई नरुचाउन पनि सक्छन् । अरुको अगाडि परिवर्तनको कुरा गर्ने तर मनमा रुढिवादी सोच लिएर बस्नेलाई पनि यो चलचित्र मन पर्दैन ।

 अहिले कमेडी चलचित्र चलिरहेको छ, यसैले ‘प्रसाद’ आफैमा एउटा जोखिम होइन र ?
हसाउँदैमा कमेडी हुन्छ भन्ने त म मान्दिन । चलचित्रले एउटा बिषयवस्तु उठान गरेको हुन्छ । तर, यसको प्रस्तुतिमा सबै बिषय समावेश भएको हुन्छ । हसाउँदैमा चलचित्र चल्ने भए सबै ‘छक्का पन्जा’ हुन्थे होलान् नी ।

चलचित्रका लेखक सुशिल पौडेलको कथाको के कुराले तपाइलाई निर्देशन गर्न उत्प्रेरित गर्यो ?
सुशिलजीले मलाई जुन कथा सुनाउनुभयो, त्यो हामी सबैले देखेको तर नदेखे जस्तो गरेको भोगाई हो । यस्तो बिषयमा चलचित्र बन्नुपर्छ भन्ने मलाई लागेको थियो । तर, यसमा चलचित्र बनेको थिएन । सुशिलजीको जुन सोच छ, त्यसलाई चलचित्रमा ढाल्नुपर्छ भनेर म तयार भएँ ।

चलचित्र रिलिज हुने दिन आउँदैछ, के कुराले छटपटिरहनु भएको छ ?
मलाई चलचित्रले कस्तो व्यापार गर्ला भन्नेसँगै फिटिक्कै चिन्ता छैन । चलचित्र करोड क्लबमा जाला कि नजाला, केक काट्न पाइएला कि नपाइएला भन्ने नै छैन । हामीले जुन सोचले चलचित्र बनाएका थियौ, दर्शकले त्यसलाई कसरी लिनुहुन्छ भन्ने कुरामा भने पिर लागेको छ । हेर्ने कति भन्दा पनि त्यसलाई स्विकार गर्ने कति होलान् भन्ने कुराले छटपटी हुन्छ ।

‘प्रसाद’ले कस्तो व्यापार गर्ला त ?
म आफूले निर्देशन गरेका हरेक चलचित्र हेरेपछि धेरै कमजोरी भेट्छु । अझै पनि धेरै कुरा गर्न सकिन्थ्यो भन्ने सोच्छु । यो चलचित्रमा ग्रोअप गरेको छु, पूर्ण छ भन्दिनँ ।

तपाइको चलचित्र स्लो हुन्छ भन्ने आरोप छ, के ‘प्रसाद’ त्यो आरोपबाट मुक्त होला त ?
म चलचित्रमा जहिले पनि पात्रको इन्टरनल जर्नीमा खेल्न रुचाउँछु । उसले के बोल्यो भन्दा पनि भन्न खोजेको कुरालाई उसको भावमा व्यक्त गर्न रुचाउँछु । यसैले पनि त्यो देखाउँदा चलचित्र स्लो लाग्न सक्छ । अर्को स्लो हुनुको कारण पटकथा पनि हो ।

दर्शकलाई ‘प्रसाद’ले पुरा अवधी वाध्छ त ?
मैले कोशिश त यसपटक गरेको छु । तर, त्यो दर्शकका भर पर्ने कुरा भयो । चलचित्र रिलिज भएपछि उहाँहरुको रियाक्सनबाट पनि यो कुरा वुझिहालिन्छ ।

‘प्रसाद’को भाव के हो ?
यसको लागि म एउटा उदाहरण दिन चाहन्छु । कसैको बलात्कार भयो भने त्यसमा उसको दोष हुँदैन । तर, हाम्रो समाजले उसलाई अपनाउन गाह्रो मान्छ । दोष नै नभएको मान्छेमाथि अनेकथरी लान्छना लगाउँछ । समाजले उसलाई हेर्ने दृष्टिकोण पुरानै छ । त्यो सोचबाट माथि आउन पर्छ भन्ने मलाई लाग्छ । त्यो सोचलाई बदलौ र थोरै भएपनि फरक ढंगले सोचौ भन्ने चलचित्रको भाव हो ।

चलचित्र रिलिज भएपछि बिषयवस्तुमा विरोध आउँछ जस्तो लाग्छ कि लाग्दैन ?
कानुनी रुपमा त विरोध आउँदैन । कुनै क्यारेक्टरले बोलेको कुरालाई सबैले स्विकार गर्नैपर्छ भन्ने पनि हुँदैन । यसैले मलाई विरोध आउँछ जस्तो लाग्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?