+
+
Shares

सभामुखका स्वकीय सचिव र ज्वाइँद्वारा सरकारी गाडी दुरुपयोग

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १८ गते ११:३७

१७ मंसिर, पोखरा । असोज ८ गते वर्षे अधिवेशन सकिएपछि गण्डकी प्रदेश सभाका सांसदहरु फुर्सदिला छन् । सुनसान संसदका कर्मचारी पनि फुर्सदमा छन् ।
हिँउदे अधिवेशन कहिले सुरु गर्ने ? सरकार अलमलमा छ ।

यही मौका छोपेर प्रदेश सभा सचिवालयको गाडी दुरुपयोग भएको छ । सोमबार त्यहाँ पुग्दा बा१झ ९६५९ नम्बरको स्यान्ट्रो कार कुच्चिएको देखियो ।

सोधखोज गर्दा उक्त सरकारी कार सभामुख नेत्रनाथ अधिकारीका स्वकीय सचिव लोकनाथ आचार्यले चलाउन सिक्दा ठोक्काएका रहेछन् । प्रदेश सभाको गाडी दुरुपयोग गर्नेमा सभामुखका स्वकीय सचिवमात्र नभइ ज्याइँसमेत रहेको कर्मचारीहरुले बताए ।

उनीहरुले आलोपालो गरेर सरकारी गाडी चलाउन सिकेको एक कर्मचारीले बताए । स्वकीय सचिव आचार्यले आफूले पहिल्यै गाडी चलाउन सिकिसकेको बताए । उनले जानीजानी कसैले एक्सिडेन्ट नगर्ने पनि बताए ।

ती कर्मचारीका अनुसार, प्रदेशसभामा फूर्सद हुँदा अर्को किसिमको दुर्घटनाहरु पनि भएका छन् । फूर्सदिलो दिन फुटबल खेलेर कटाउन खोज्दा २ जनाले खुट्टा भाँचेका छन् । ‘कात्तिक २७ गते कानून अधिकृत श्री तिवारी सरको खुट्टा भाँच्चियो’ सोमबार संसदमा भेटिएकामध्ये एक कर्मचारीले भने, ‘यही आइतबार कम्युटर अधिकृत लेखनाथ भण्डारीको पनि खुट्टाको हड्डी फ्याक्चर भयो ।’

संसदीय समिति कामविहीन

संसद सचिवालयमा दर्ता भएको सहकारी विधेयकमाथि विधायन समितिले छलफल गर्‍यो भने प्रदेश मामिला समितिको पनि एउटा बैठक बस्यो । विकास र पूर्वाधार निर्माणको कामले गति नलिँदा अर्थ तथा विकास समिति चाही फुर्सदिलो रहेको सभापति दीपक कोइराला बताउँछन् ।

त्यस्तै, प्रदेशको बजेट कार्यान्वयन नै नभएकाले सार्वजनिक लेखा समिति जिम्मेवारी बहन गर्ने चरणमै नपुगेको सभापति कुमार खड्काले बताए ।

प्रदेशका कानूनमन्त्री हरिबहादुर चुमान २० वटा जति विधेयक पुगेपछि संसद सुरु गर्ने बताउँछन् । उनका अनुसार, एक दर्जन विधेयक ल्याउन मन्त्रिपरिषद बैठकले सैद्धान्तिक सहमति दिइसकेको छ । तर, विधायन समितिमा पहिल्यै पुगेकाबाहेक अहिलेसम्म संसद सचिवालयमा अरु विधेयक दर्ता भएको छैन । विधायन समितिमा बर्खे अधिवेशन स्थगित हुनुअगाडि कै सहकारी, सचिवालय व्यवस्थापन र वरपीपल संरक्षण सम्बन्धी ३ विधेयक छन् ।

प्रदेश सरकारले निर्णय गरेर चिठी पठाएपछि संसद सुरु हुने सभामुख नेत्रनाथ अधिकारीले बताए । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रसका प्रमुख सचेतक मणिभद्र कडेंलले एउटा अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन बोलाउनु पर्ने प्रावधान भए पनि बिजनेस बढाएर संसद सुरु गर्नु उचित हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?