२१ मंसिर, काठमाडौं । डकैती गरेर भागेको आरोप लागेका राजन लिम्बुलाई पक्राउ गर्ने क्रममा प्रहरीले रातो पुलमा गोली चलाएको छ ।
इटहरीमा डकौती गरेर भागेका लिम्बुलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गोली प्रहार गरेर पक्राउ गरेको हो । उनको खुट्टामा गोली लागेको छ । वीर हस्पिटलको ट्रमा सेन्टरमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उनको साथबाट एउटा चाइनिज पेस्तोल र चार राउण्ड गोली समेत बरामद भएको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले अनलाइनखबरलाई बताए ।
गोली चलेको स्थानमा सडक छेउ एउटा पेस्तोल अझै देखिन्छ । त्यहाँ मुचुल्का उठाउने काम भइरहेको घटनास्थलमा रहेको अधिकारीहरुले बताएका छन् ।