Comments Add Comment

प्रसाद चलचित्रः सुपाच्य छ कि अपाच्य ?

बजारमा मुडेको आलु बिक्छ कि, भकुण्डेबेंसीको मकै भनेर सोही बमोजिम दोकान थाप्ने रक्षात्मक मानसिकताले होइन, नयाँ खुराक पेश गर्नुपर्छ भन्ने चुनौती उठाएको चलचित्र हो, प्रसाद ।

यो चलचित्र हेरेर पेट मिचीमिची हाँस्नु हुनेछैन, धुरुधुरु रुनुहुने पनि छैन । कथा सरल छ, प्रस्तुती सरस छ । सामान्य पात्र छन्, स्वभाविक घटनाक्रम छन् । तर, प्रसाद हेरिरहँदा ‘फोकट’ वा ‘जोतको’ लाग्नेछैन । घत लाग्नेछ ।

घत यसकारण लाग्नेछ कि, सिनेमाभित्र पोखिने मानविय संवेग, करुणा, अत्यास, भय, आक्रोशले मनलाई स्थिर रहन दिनेछैन । त्यही अस्थिरताले दर्शकको आँखा दुईघण्टा १५ मिनेट अविचलित पर्दामा अडिनेछ ।

कस्तो छ कथा ?

चलचित्रको कथा नयाँ, नौलो, आश्चर्यलाग्दो, उदेगलाग्दो छैन । हाम्रो समाजसँग दिनहुँ ठोक्किने विषयमाथि कथा बुनिएको छ । कथा, निसन्तान दम्पतीको हो ।

तर, चलचित्र निसन्तान हुनुको पीडा–व्यथामाथि बिलौना गर्दैन । समाजसँग गुनासो पनि गर्दैन । जैविक त्रुटीले उत्पन्न गराउने भावनात्मक द्वन्द्वमा कथानक मोडहरु आउँछन् । त्यही मोडहरुमा ठोक्किदै यसका तीन केन्द्रीय पात्र नारायणी कार्की (नम्रता श्रेष्ठ), बाबुराम परियार (विपीन कार्की) र रमेश (निश्चल बस्नेत)को जीवन–चक्र घुमिरहन्छ ।

अन्र्तजातिय विवाहपछि ग्रामीण समाजबाट लखेटिएका नारायणी कार्की र बाबुराम परियार काठमाडौंको कुनै अनाम गल्लीमा कोचिएका छन् । एउटै कोठामा भान्सा, एउटै कोठामा ओछ्यान ।

बाबुराम आफ्नो पेशागत सीप अर्थात कपडा सिलाउने काम गरेर शहरमा दुई ज्यान पाल्ने यत्नमा छन् । नारायणी एक निजी विद्यालयमा सहयोगीको काम गर्छिन् ।

नारायणी सुन्दर छिन्, सुशील छिन्, पतिभक्त छिन् ।

औसत रुपरंगका श्रीमानसँग उनको कुनै अपेक्षा छैन । अभाव जरुर छ । तर, त्यसप्रति पनि उनमा पीडावोध छैन । बरु भौतिक दुःख–अभावलाई छिचोल्ने चोट उनीभित्र छ । उनको हृदयभित्र छ । त्यही आलो चोटले नारायणीको रंगीन जीवन क्रमस फिका र उजाड बनाउँदै लान्छ ।

त्यो अदृश्य चोटले कसरी एउटा प्रेमिल दम्पतीको जीवनमा आँधीबेहेरी ल्याउँछ ? यस्तै उत्सुकता मेट्दै २ घण्टा लामो चलचित्रले विट मार्छ ।

किन हेर्ने ?

यस चलचित्रले नविन, अग्र्यानिक, मौलिक कथा पस्किएको छ भनेर भनिरहनु भन्दा पनि बिना तडकभडक दर्शकको मनोवेगसँग कसरी अन्र्तक्रिया गर्छ भन्ने कुरा हो ।

धेरै पात्र छैनन्, धमकेदार संवाद छैन, न कामुक नृत्य छ, न धुमधडक फाइट । भव्य सेट, लोभलाग्दो लोकेसन, चकित तुल्याउने तामझाम केही छैन । यति हुँदाहुँदै पनि ‘प्रसाद’ एकोहोरो एवं पट्यारलाग्दो छैन । बरु स–सना तत्वले यसलाई सुरुचिपूर्ण बनाएको छ ।

६ दशक लामो इतिहास बोकेको नेपाली चलचित्रसँग अझैपनि एउटा प्रश्न ज्यूँको त्यूँ छ । कति चलचित्र प्रयोग गरिरहेको, कति चलचित्र अन्तर्राष्ट्रियकरण भइरहेको, कति चलचित्रले व्यवसायिक उत्कर्ष हासिल गरिरहेको वर्तमान सन्दर्भमा त्यो प्रश्न थप पेचिलो बनेको छ । प्रश्न हो, सिनेमा कस्तो हुनुपर्छ ?

प्रश्नको जवाफ प्रसादमा खोज्न सकिन्छ, आशिंक भएपनि । चलचित्र चलाउनका खातिर कुनै कलाकारको स्टारडमलाई दाउमा राख्नुपर्दैन, अनगिन्ती कलाकारको टेको लगाइरहनुपर्दैन, आइटम गीत राख्नुपर्दैन, ड्रोन उडाएर आश्चर्यलाग्दो दृश्यांकन गरिरहनुपर्दैन । सामान्य कथामा, सरल ढंगले पनि रहरलाग्दो दृश्यभाषा निर्माण गर्न सकिन्छ । प्रसादले यसै भन्छ ।

यसमा निर्देशकको उपस्थिति एवं नियन्त्रण पनि अनुभव गर्न सकिन्छ । उनले सबै पात्र र दृश्यमाथि लगाम खिचेका छन् । कतिपय दृश्य प्रतिकात्मक छन् । जस्तो कि, नारायणीमाथि बलात्कार भइरहँदा पानी दर्केको, बाबुरामको उल्टो जुत्ता आदि ।

चलचित्रमा विपीन कार्की, नम्रता श्रेष्ठले नारायणी र बाबुरामको आवरणमा आफुलाई जसरी रुपान्तरण गरेका छन्, त्यो शक्तिशाली पक्ष हो । त्यही शक्तिले बाग्लुङ क्षेत्रका एक निरिह दम्पतीसँग दर्शकले सोझो मनोवाद गर्न सक्छन् । उनीहरुको कथा–व्यथामा एकाकार हुन सक्छन् ।

हेपिएका, पेलिएका, खेदिएका र आफैभित्रको अन्र्तद्वन्द्वले थलिदै गएको विवाहित पुरुषको रुपमा विपिनको चरित्र निर्माण गरिएको छ । उनको हाउभाउ, बोलीचाली, मनोविज्ञान कति पनि विचलित छैन । यो पात्र कम्ता घतलाग्दो छैन । बाबुरामको निरिह, विवश र अवोधपनले दर्शकलाई कहिले हसाउँछ, कहिले भावुक बनाउँछ ।

नम्रताले पनि आफ्नो चरित्रलाई प्राण दिएकी छिन् । निश्चलको अभिनय औसत छ । बरु मासु पसले एवं बाबुरामकै सहयोगीको रुपमा प्रकाश गन्धर्वले सम्झन लायक अभिनय गरेका छन् । सामान्य भूमिका सही, जब–जब उनको आगमन हुन्छ दर्शकले बेग्लै रोमाञ्चकता अनुभूत गर्छन् ।

फिल्मको पाश्र्व संगीत जोडदार छ । यसले कथालाई थप बेगवान बनाएको छ । कथाको मर्म अनुसार दुईवटा गीतलाई स्थान दिइएको छ ।

के छ कमजोर पक्ष

चलचित्र जति छरितो हुनुपथ्र्यो, त्यो छैन । निश्चल बस्नेतलाई ‘स्पेश’ दिनकै लागि कतिपय दृश्य तन्काइएको जस्तो भान हुन्छ, जो छाँट्न सकिन्थ्यो । निश्चल र उनकी श्रीमतीसँगका दृश्य, संवाद झर्को लाग्न सक्छ ।

निश्चल अर्थात रमेशको द्वैध चरित्र सुरुदेखि नै छर्लङ छ, जसलाई रहस्यमा राख्न सकेको भए दर्शकको मन बढी उथलपुथल हुने थियो ।

केन्द्रिय पात्र बाबुराम र नारायणीलाई बढी केन्द्रित गरिरहँदा फ्रेममा समेटिने साहयक पात्रको हाउभाउ, बोलीचालीमा ध्यान दिइएको छैन । जस्तो, नारायणीले काम गर्ने विद्यालयमा एक पुरुष अभिभावकले बोल्ने संवाद, आफ्नो बच्चालाई चोट लागेको आवेगमा महिला अभिभावकले पोखेको धाराप्रवाह गाली सुहाउँदिलो छैन ।

कथालाई जुन ढंगबाट बिट मारिएको छ, त्यो पुरातन शैली हो । यसमा केही नयाँपन दिने जोखिम उठाइएको छैन ।

यद्यपि समग्रमा प्रसाद हेर्नलायक, मनन गर्नलायक चलचित्र हो । विपीन कार्की, नम्रता श्रेष्ठका प्रशंसकका लागि त यो सुपाच्य र स्वादिलो खुराक नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment