Comments Add Comment

खुला बहसमा यसरी पोखिए महिलाहरुका पीडा

२४ मंसिर , डोटी  । दिपायल सिलगढी नगरपालिका-७ की एक महिलाले आफुलाई श्रीमान्ले घरभित्र प्रवेश गर्नसमेत नदिने गरेको बताइन् । करिब ६० वर्ष उमेरकी उनले भनिन् ‘मलाई देख्ने बित्तिकै कुट्न थाल्छन्, एक पटक प्रहरीमा उजुरी पनि गरेँ, प्रहरीले मिलापत्र गरेर पठायो तर फेरी उस्तै गर्दैछ ।’

उनले आफू अर्काको घरमा बस्न गएपछि उनलाई पनि श्रीमान्ले गाली गर्ने गरेको बताइन् । आफू रुखमुनी रात बिताउन वाध्य भएको उनले पीडा सुनाइन् ।

जवाफमा जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक बिद्यानन्द माझीले ति महिलालाई प्रहरीमा उजुरी दिन आग्रह गरे । उनले भने, ‘तपाई प्रहरीमा आएर उजुरी दिनुहोस्, हामी उनीबिरुद्ध मुद्धा चलाउँछौं ।’

दिपायल सिलगढी नगरपालिका-८ कि ६१ वर्षीया बासु महराले प्रश्न गरिन्, ‘मेरो श्रीमान्को उहिल्लै मृत्यु भयो, उहाँको पनि नागरिकता बनेको थिएन, मेरो न बिहे दर्ता छ न नागरिकता छ, न श्रीमान्को नागरिकता छ । नागरिकता बनाउन जाँदा हुँदैन भनेर फर्काइदिए । नागरिकता नभएका कारण मैले सरकारबाट पाउने भत्ता पनि पाएको छैन, अव मैले नागरिकता नपाउने हो त ?’

जवाफमा डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदी भन्छन् ‘हरेक नेपाली नागरिकले नागरिकता पाउँछ, तपाईले पनि पाउनु हुन्छ । त्यसका लागि वडा कार्यालयमा जानुहोस्, यस्ता व्यक्तिहरुले कसरी नागरिकता पाउने भन्ने नीतिगत पाटो छ, तपाई नागरिकता पाउनु हुन्छ ।’

दिपायल सिलगढी नगरपालिका-४ कि सुनिता रिजालको गुनासो थियो ‘म एक वहालवाला सैनिक जवानसंग प्रेम विवाह गरेर आएँ, तर उनको परिवारले अस्वीकार गरेपछि उनले पनि मलाई छोडिदिए । म गर्भवती छु भन्दा उल्टो अर्कोको पेट बोकेर मेरो पछि लागेकी भन्ने आरोप लगाए ।

मैले नाता कायमका लागि अदालतमा मुद्धा लडेँ, डिएनए परीक्षण भयो र सकारात्मक पनि देखियो । अदालतले नाता कायम भएको फैसला समेत गर्‍यो, तर त्यो फैसला कार्यान्वयन भएको छैन । अव मैले कुन अग्नी परीक्षा दिनु पर्ने हो न्याय पाउनका लागि ?’

जवाफमा जिल्ला न्यायाधिवक्ता पूर्णवहादुर केसीले भने ‘यदि फैसला कार्यान्वयन भएको छैन भने अदालतमा तहसिल शाखा छ, त्यो शाखामा गएर तपाईले निवेदन दिनु होला, फैसला कार्यान्वयन हुन्छ । अदालतको फैसला कार्यान्वयन हुँदैन भन्ने छैन ।

सुरक्षित अल्पकालीन जिल्ला सेवा केन्द्रकी संयोजक देवकी बोहराले आफ्नो पीडा यसरी सुनाइन्, ‘महिलामाथि हिंसा भएको भने पीडित महिलाले लिखत वा मौखिक रुपमा प्रहरीसमक्ष उजुरी दिन सक्ने व्यवस्था छ, तर प्रहरीले पीडितलाई वकिलबाट लेखाएर ल्याउनु भन्दै थप पीडा दिइरहेको छ, यसमा सुधार कहिलेसम्म हुन्छ ?’

जवाफमा प्रहरी उपरीक्षक माझीले भने, ‘पीडितले मौखिक रुपमै पनि उजुरी दिन सक्छन तर कहिलेकाँही प्रहरीमा भनेको कुरा अदालतमा गएर मैले भनेको होईन भन्ने गरेको पनि पाईएको हुँदा हामीले भरसक वकिलबाटै लेखाएर ल्याउनुहोस् भनेका हौं । हामी मौखिकै उजुरी पनि लिन्छौं, पीडितले दिन सक्छन् ।’

लैङ्गकि हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा दिपायल सिलगढी नगरपालिकाद्वारा आयोजना गरिएको “महिला हिंसाका सवालमा खुला वहस” मा सहभागि महिलाहरुले सरोकारवाला व्यक्तिहरुलाई आफ्ना पीडा पोखेका छन् ।

पीडा पोख्ने महिलाहरु अधिकांशले आफ्नो समस्यासंगै रक्सीका कारण आफुहरु घर परिवार र समाजमा असुरक्षित भएको सुनाइन् । गाउँमा हुने विकास निर्माणका कामहरुमा महिलाहरुको न्यून सहभागिता गराउने गरेको गुनासोको साथसाथै रक्सी वन्द गर्नु पर्ने माग राख्छिन् दिपायल सिलगढी नगरपालिका-५ कि सुनिता परियार । उनले प्रश्न गरिन् ‘रक्सी वन्द गर्नका लागि हामीले कुन बाटो जानु पर्छ ?’

सुनिताको जस्तै पीडा थियो वडा नं. १ कि बिष्ना साउँदको पनि । ‘मेलापात जान पनि डर लाग्छ, बाटोमा मदिरा सेवन गरेका मान्छे भेटिन्छन्, के पो गर्छन भन्ने डर लाग्छ । उनले रक्सी बन्द गर्नका लागि ठोस् पहल गर्न नगर प्रमुखलाई आग्रह समेत गरिन् ।

जवाफमा नगर प्रमुख मञ्जु मलासीले महिलाहरुलाई एकजुट भएर मदिरा बिरोधी अभियानमा लाग्न आग्रह गरिन् । ‘मदिरा बेच्ने इजाजत पत्र दिएर नगरपालिकाले धनी बन्नु छैन’ मलासीले भनिन् ‘म नगर प्रमुख भएदेखि नै मदिरा नियन्त्रणका लागि पहल गरिरहेकी छु, केही ठाउँमा सुधारमा पनि भएको छ ।’

उनले महिला दिदिवहिनीहरुलाई घरेलु हिंसाको प्रतिवाद गर्न समेत आग्रह गरिन् । उनले थपिन् ‘म पनि महिला हुँ, तपाईहरुले जिताउनु भयो र म आज नगर प्रमुख भएकी छु, तपाईहरु पनि म जस्तै साहस गर्नुहोस, म तपाईहरुको साथमा छु ।’

दिपायल सिलगढी नगरपालिकाले लैङ्गकि हिंसा बिरुद्धको १६ दिने अभियानका क्रममा बिविध कार्यक्रमहरु आयोजना गरेको छ । लैङ्गकि हिंसा न्यूनिकरणका लागि बिभिन्न सरोकारवाला निकायहरुसंग समन्वय बैठक, वडा-वडामा महिलाहरुसंग अन्तरक्रिया कार्यक्रम, बिद्यालयस्तरमा चेतनामुलक कार्यक्रम लगायतका कार्यक्रमहरु नगरपालिकाले सञ्चालन गरेको नगरपालिकाकी महिला तथा बालबालिका इकाई प्रमुख सोहना जोशीले जानकारी दिइन् ।

अभियानका क्रममा बालविवाहका घटनाहरुमा बढ्दै गएको, महिलाहरुको सम्पत्तिमाथी पहुँच नभएको, उपभोक्ता समितिमा महिलाहरुलाई नाममात्रको सहभागिता गराउने गरेको महिलाहरुका गुनासा आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment