Comments Add Comment

भारतीय गभर्नर उर्जित पटेलले दिए राजीनामा

२४ मंसिर, काठमाडौं । भारतको केन्द्रीय बैंकका (रिजर्भ बैंक अफ इण्डिया) का गभर्नर उर्जित पटेलले पदबाट राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारणले पद त्याग गरेको उल्लेख गरेका छन् ।

रिजर्भ बैंकको वेबसाइटमा प्रकाशित उर्जितको वक्तव्यमा भनिएको छ, ‘व्यक्तिगत कारणले पदबाट राजीनामा दिने निर्णयमा पुगेको छु, पछिल्ला कयौं वर्षदेखि बैंकको विभिन्न पदमा रहेर काम गर्ने मौका पाउनु मेरो लागि सम्मानको विषय हो ।’

पछिल्लो केही समयदेखि मोदी सरकार र गभर्नर उर्जित पटेलबीच मदभेद देखिएको खबरहरु बाहिरिएका थिए ।

केन्द्र सरकारले केन्द्रीय बैंक ऐनको दफा ७ मा रहेको आफ्नो विशेष अधिकार लागू गरिदिएको थियो । जसले रिजर्भ बैंकको स्वायत्ततामा हस्तक्षेप गरेको अधिकारीहरु बताउँछन् ।

अर्थ मन्त्रालयले रिजर्भ बैंक ऐनको दफा ७ लागू गर्ने तयारी गरिरहेको बेला गभर्नर पटेलले पदत्याग गरेका हुन् ।

उक्त धाराले सरकारलाई जनहितको मुद्दामा रिजर्भ बैंकका गभर्नरलाई निर्देशित गर्ने अधिकार दिन्छ ।

सरकारले रिजर्भ बैंकसँग ३ लाख ६० हजार करोड भारु माग गरेकोमा गभर्नर पटेलले फरक मत राखेपछि केन्द्र सरकार उनीसँग रुष्ट बनेको थियो ।

मतभेदका बीच गभर्नर पटेलले ९ नोभेम्बरमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका थिए ।

गत महिना बैंकको वेबसाइटमा उपलब्ध प्रोफाइलका अनुसार बैंकका डेपुटी गभर्नर नियुक्त हुनुभन्दा अघि पटेल रिलायन्स इण्डस्टि्रजमा बिजनेस डेभलपमेन्ट प्रेसिडेण्ट र आईडीएफसीमा कार्यकारी निर्देशक थिए ।

रिजर्भ बैंकका डेपुटी गभर्नर विरल आचार्यले केन्द्र सरकार र बैंकबीच कार्यसम्पादनमा मतभेद देखिएको बताउने गरेका थिए ।

तरलता, केन्द्र सरकारको नियन्त्रण जस्ता विषय उठाउँदै उनले मोदी सरकारको आलोचना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment