Comments Add Comment

सरकार समृद्धि ल्याउन होइन प्रचारमा मस्त छः पूर्व अर्थमन्त्री महत

२६ मंसिर, काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले समृद्धिको नारा लिएर काम चाहिँ आफ्नो प्रचारतर्फ मात्रै केन्द्रीत गरेको आरोप लगाएका छन् ।

बुधबार मिडिया इन्टरनेशलले आयोजना गरेको ‘समृद्धिका लागि सरकारको नौ महिना’ विषय अन्तरक्रियामा बोल्दै पूवृमन्त्री महतले काम भन्दा पनि धेरै सरकार प्रचारमा केन्द्रीत भएको आरोप लगाएका हुन् ।

केपी ओली नेतृत्वको सरकारले गुणस्तरको कुनै काम नगरेको उनकाे अाराेप छ । सरकार कति प्रचारमूखी छ भन्ने विषयको पछिल्लो ज्वलन्त उदाहरण सामाजिक सुरक्षा कार्यक्रम सार्वजनिक भएको बताए ।

उनले भने, ‘सरकार यति प्रचारमूखी छ कि १२ वर्ष अघि नै छलफल भइसकेको सामाजिक सुरक्षा कार्यक्रमको बारेमा प्रधानमन्त्री र श्रममन्त्री फोटो छापेर राज्यको ढुकटीबाट करोडौ रकम सकाएको छ ।’

सरकारद्धारा ठूलठूला कुरा गरेर आशा देखाइए तापनि वास्तविक समस्या बुझेर समाधान गर्नेतर्फ ध्यान नजाँदा संरचनागत परिवर्तनका वावजुद पनि मुलुकको आर्थिक अवस्थामा परिवर्तन आउन नसकेको उनले बताए ।

अर्थविद् डा. चन्द्रमणी अधिकारीले एकअर्कालाई दोषारोपण गर्ने प्रवृत्ति हटाउनुपर्ने बताए । अहिले उपभोगको मात्रै अन्तरराष्ट्रियीकरण भएको भन्दै उनले अब उत्पादनको पनि अन्तरराष्ट्रियीकरण गर्नुपर्नेमा जोड दिए ।

अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ९० प्रतिशत नपुर्याएसम्म वास्तविक निजीकरण नहुने उनको भनाइ छ । ऐन नियमको उचित ब्याख्या गरिनुपर्ने, राजनीतिक दलहरु आन्तरिक विषयमा मात्रै नअल्झेर राष्ट्रिय मुद्धाहरुतर्फ बढी अग्रसर हुनुपर्ने र विदेशी लगानी बढीभन्दा बढी भित्र्याउनका लागि विश्वासिलो आधार तय गरिनुपर्नेतर्फ उनको जोड थियो ।

कार्यक्रममा सेयर बजार विज्ञ डा. गोपाल भट्टले नीतिगत व्यवस्थामै भएको कमजोरीका कारण बैंकिङ क्षेत्र एवम् पुँजी बजारमा समस्या देखिएको बताए । नेपाल राष्ट्र बैंकका पूर्व कामु कार्यकारी निर्देशक समेत रहेका भट्टले बैंकिङ क्षेत्रमा तरलता छ भने सुरक्षित क्षेत्र हेरेर लगानी गर्न पाउने नीति तयार गरिनुपर्ने उनले बताए ।

अहिलेको अवस्थामा सीसीडी रेसियोमा रिल्याक्सेसनको आवश्यकता रहेको उनले औँल्याए । अन्तर्राष्ट्रिय स्तरको क्रेडिट रेटिङ नभएका कारण नेपालमा विदेशी पुँजी ल्याउनका लागि समस्या रहेको भन्दै उनले अहिले बजारमा रहेको ७२ अर्ब तरलतालाई उचित क्षेत्रमा लगानी गर्न दिइनुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment