Comments Add Comment

नोटबन्दीमा जन्मेका खजाञ्चीको मार्मिक कथा !

खजाञ्ची नाथको जन्म धमाकादार रुपमा भयो । नोटबन्दीका बेला बैंकको लाइनमा उभिएका बेला जन्मिएपछि उनी विश्वभर समाचार बने । तर, दुई वर्षका खजाञ्ची नाथ अहिले परिवारका दुई पक्ष र दुई गाउँको प्रतिष्ठाको विषय बनेका छन् । आफ्नो लोकप्रियताका कारण उनी तिक्ततापूर्ण लडाईंको केन्द्र बनेका छन् ।

खजाञ्ची नाथको जन्म भारतको उत्तर प्रदेश राज्यमा सन् २०१६ डिसेम्बर २ मा भएको थियो । भारत सरकारले एक हजार रुपैयाँको नोटमा रातारात प्रतिबन्ध लगाएको करिब एक महिनापछि उनी जन्मिएका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नोटबन्दी गर्ने उक्त निर्णयले भारतमा रुपैयाँको संकट आयो । धेरै सातासम्म करोडाैं भारतीयहरु बैंकका अगाडि नयाँ मुद्रा साट्न लाइन लागेर बस्न थाले । सरदारपुर गाउँबाट झिँझक बजारसम्म पैदलै हिँडेर गर्भवती सर्वेशा देवी पनि लाइन बस्न पुगेकी थिइन् । साथमा उनकी सासू शशीदेवी र ठूली छोरी १० वर्षीया प्रिती पनि थिए ।

जब आमा प्रशव पीडामा थिइन्, त्यतिखेर त्यहाँ सयौं मानिसहरु बैंकमा नोट साट्न लामबद्ध थिए ।

बैंकको लाइनमै बच्चा जन्माएको खबर लामो समयसम्म भारतका मिडियामा छाइरहृयो र बच्चाको नाम खजाञ्ची नाथ राखियो । सानो खजाञ्ची विधानसभा निर्वाचनमा सत्तारुढ भाजपाविरुद्धको निर्वाचन अभियानमा पोस्टर ब्वाइ बने ।

म गाउँको धुले बाटो हुँदै उनलाई भेट्न पहिलोपटक जाँदा उनी दुई महिनाका मात्रै थिए । उनी जन्मिनुभन्दा चार महिनाअघि नै क्षयरोगका कारण उनका पिताको मृत्यु भएको थियो’ बैंकको लाइनमै छोरा जन्माउँदाको पीडाबारे उनकी आमाले त्यतिखेर भनेकी थिइन्, ‘सासू त्यहीँ नभएको भए म मर्ने थिएँ ।

तर, अघिल्लो साता जब म खजाञ्चीलाई भेट्न फेरि जाँदा अर्को गाउँ अनन्तपुर धौकल जानुपर्‍याे । उनकी आमा सर्वेशा देवी सासूहरुसँग झगडा भएपछि अघिल्लो वर्ष माइती आएर बस्न थालेकी छिन् । यो सर्वेशा देवीको माइती गाउँ हो, जहाँ उनी आमा र तीन दाजुभाइहरुका परिवारसँग बसिरहेकी छिन् ।

गाजल लगाएको टाठो आँखाले खजाञ्चीले मलाई हेरिरहे । आमाले भनेपछि उनले मसँग हात मिलाए । मैले उनका औंलामा कसले गुलावी पालिस लगाइदिएको भनेर सोध्दा मुस्कुराउँदै उनले दिदी प्रितीतर्फ औंला सोझ्याए ।

आफ्ना लागि भएको लडाईंका बारेमा खजाञ्चीलाई केही थाहा छैन । मात्रै उनलाई मेरो चश्मामा ध्यान छ । र, तस्वीर लिन खोज्दा उनी मेरो फोन खोस्न खोज्छन् ।

सर्वेशा देवीले छिमेकीको घरबाट प्लास्टिकको कुर्सी ल्याइन् । हामी आमने-सामने बसेर कुरा गर्न थाल्यौं । केहीबेरमै खजाञ्ची रुन थाले । ‘उ भोकाएको छ’ भन्दै आमाले खजाञ्चीलाई स्तनपान गराइन् ।

त्यतिञ्जेलसम्म गाउँमा म आएको खबर फैलिसकेको थियो । उनकी आमा, दाजुभाइ र केही छिमेकीहरु आए ।

खजाञ्ची रुन छाडेपछि मैले सर्वेशा देवीलाई सासूसँगको उनको सम्बन्धबारे सोधेँ ।

यसपटक आफ्नी सासू शशी देवीका बारेमा उनको मुखबाट प्रशंसाको कुनै शब्द निस्किएन । सम्बन्ध यति बिगि्रसकेको थियो कि उनले उनीहरुबाट आफ्नो र खजाञ्चीको जीवन असुरक्षित भएको बताइन् ।

बैंकमा लाइन बसेका बेला छोरा जन्माएपछि सर्वेशा देवीलाई सरकारले राहतस्वरुप दुईलाख भारतीय रुपैंया दियो । गरिबीसँग जुधिरहेको परिवारका लागि यो ठूलो रकम थियो । र, यसैका कारणले झगडा सुरु भयो ।

पहिले जीवन रक्षा गरेकी सासूलाई अहिले उनले छुच्ची सासूका रुपमा ब्याख्या गर्दै आफूलाई राहतस्वरुप आएको आधा रकम माग्दै कुटपिट गरेको आरोप लगाइन् ।

आखिर के कुराले परिवारलाई यसरी तहस-नहस पार्‍यो त ?

यो प्रश्न मैले सर्वेशा देवीलाई मात्रै होइन, मैले सरदारपुर पुगेर उनकी सासू शशी देवीलाई पनि सोधेँ । उनीहरुका परिवार र छिमेकीहरुलाई पनि सोधेँ ।

आरोप र प्रत्यारोपको श्रृंखलामा सत्य के हो र झुट के हो, पत्ता लगाउनै गाह्रो भयो । कसले सही बोलिरहेको छ र कसले बढाइचढाइ कुरा गरिरहेको छ पत्याउनै मुस्किल ।

बाइगा जातिका खजाञ्चीको परिवार भारतकै सबैभन्दा गरिब र पिछडिएको समुदायमा पर्छ । अशिक्षित मात्रै होइन, उनीहरुसँग जग्गा जमीनसमेत छैन । धेरैजसोले मागेर गुजारा गर्छन् ।

परम्परागत रुपमा बाइगाहरु सर्प समातेर त्यसलाई नचाउँदै हिँड्ने जाति हुन् । उनीहरुले मलाई पनि आफूसँग भएका सर्पहरु देखाए ।

सरदारपुर र अनन्तपुर धौकल गाउँ रहेको उत्तर प्रदेश भारतको सबैभन्दा धेरै जनसंख्या भएको राज्य हो । यहाँ २० करोड भन्दा धेरै जनसंख्या छ । यहाँ दैनिक १५ हजार बच्चाहरुको जन्म हुन्छ । यहाँ एक बच्चाको जन्मले यति धेरै उत्साह जगाउने कुरा कल्पना पनि गर्न सकिँदैन ।

बैंकको लाइनमा खजाञ्ची जन्मिएपछि धेरै मिडियाले यसलाई समाचार बनाए । उनको जन्मले गाउँमा धेरै उत्साह जगायो । त्यसपछि विधानसभा निर्वाचन ताका तत्कालीन मुख्यमन्त्री अखिलेश यादवले बैंकको लाइनमा जन्मिएका खजाञ्चीलाई नोटबन्दीको असरको रुपमा व्याख्या गरे ।

उनले हरेक सभाहरुमा बच्चाको उदाहरण दिँदै प्रधानमन्त्री मोदीको नोटबन्दीले खजाञ्चीको जस्तो गरिब परिवारलाई धेरै मार परेको बताए । त्यसको केही समयपछि यादवले खजाञ्चीको परिवारलाई राहत रकम पनि उपलब्ध गराए ।

सर्वेशा देवीका अनुसार उनले उक्त रकम आफ्नो श्रीमानको उपचारुमा लागेको ऋण तिर्न र क्षयरोगबाट ग्रसित आफ्नो ठूलो छोराको उपचारका लागि खर्च गरिन् । बाँकी रहेको रकम उनले बैंकमा राखेकी छिन् ।

त्यसपछि सासूले पनि उक्त रकमको आधा हिस्सा दाबी गरेको सर्वेशा देवीले बताइन् । ‘पैसा आनाकानी गरेपछि उनीहरुले मलाई कुटपिट गरेर निकालिदिए र म माइत आएर बस्न थालेँ’ उनी भन्छिन् ।

पाँच सन्तानकी आमा ३७ वर्षीय सर्वेशा देवी भन्छिन्, ‘मेरो श्रीमानको मृत्यु भइसकेको छ । मैले आफ्नो बच्चाको भविष्यका लागि भनेर सासूलाई पैसा दिइनँ ।’

उनी माइत आएपछि सम्बन्ध झनै बिगि्रयो । उनका दाजु मल्खन नाथ भन्छन्, ‘त्यहाँको समाजले उनलाई फिर्ता पठाउन दबाव दियो ।’

‘हामीले त्यो तिम्रो परिवार हो, तिम्रो घर हो, त्यसैले जाउ भन्दा पनि उनी मानिनन् । किनभने उनीहरुले उनलाई पिटेका थिए र दुव्र्यवहार गरेका थिए । उनी हाम्री चेली हुन्, त्यसैले कसरी उनले नचाँहदा नचाँहदै पठाउन सक्छौं ?’ मल्खन प्रतिप्रश्न गर्छन् ।

परिवारको झगडा विस्तारै दुई गाउँको प्रतिष्ठाको विषय भयो र गाउँमा कचहरी बस्यो । बाइगाका अगुवा वृद्धहरु सहभागी हुने कचहरीको निर्णय कानूनी नभए पनि नमानेमा सामाजिक बहिष्कार हुन्छ र जरिवाना तिर्नुपर्छ ।

मल्खन नाथका अनुसार अघिल्लो वर्षमात्रै उनी तीनपटक कचहरीमा जानुपर्यो । एकपटक बहिनी र खजाञ्चीलाई लिएर नगएवापत ६५० रुपैयाँ जरिवाना तिर्नुपर्यो ।

खजाञ्चीको जन्मदिनको अघिल्लो राति दुईवटा गाडीमा केही मानिसहरु उनको घरमा आए । सर्वेशा खाना खाँदै थिइन् । खजाञ्ची सुतिरहेका थिए ।

‘उनीहरुले खजाञ्चीको जन्मदिनको उत्सव मनाउन सरदारपुर जान भने । मैले मानिनँ । त्यसपछि उनीहरुले खजाञ्चीलाई समातेर गाडीमा हालेर लगे, सर्वेशा देवीले भनिन्, ‘हामीले उनीहरुलाई लखेट्यौं र छिमेकीहरुको सहयोगमा खजाञ्चीलाई उद्धार गर्यौं । उनीहरुले अपहरण गर्ने प्रयास गरेका थिए ।’

विधानसभामा यादवको पार्टीले नजिते पनि उनी खजाञ्चीसँगको सम्पर्कमै थिए । स्थानीय पत्रकारहरुका अनुसार उनले बच्चालाई आउँदो आम निर्वाचनका लागि आफ्नो मन्त्र बनाउन चाहेका थिए र उनको जन्मदिनमा उनलाई दुईवटा घर दिने घोषणा गरेका थिए । एउटा सरदारपुरमा र अर्को अनन्तपुर धौकलमा ।

पूर्वमुख्यमन्त्रीले सरदारपुर गएर खजाञ्चीलाई जन्मदिनको उपहारस्वरुप घरको साँचो हस्तान्तरण गर्ने कार्यक्रम थियो । उनले स्थानीय पत्रकारहरुलाई पनि बोलाएका थिए । तर, जब यादव सरदारपुर आइपुगे, खजाञ्ची त्यहाँ थिएनन् । त्यसैले उनले घरको साँचो शशी देवीलाई सुम्पिए ।

यादवलाई उनको घर र मावली पक्षको झगडाका बारेमा थाहा थिएन । सेलीब्रेटी बच्चाको अनुपस्थितिका कारण रिसाएका उनले आफूलाई दुःखी बनाएको भन्दै पार्टी दुई कार्यकर्ताहरुलाई पनि बर्खास्त गरिदिए ।


केही दिनपछि सरदारपुर जाँदा मैले सडकछेउमा नयाँ चिटिक्कको घर देखेँ । शशी देवी बजार गएकी थिइन् त्यसैले मैले उनका आफन्तहरुसँग कुराकानी गरेँ र उनी र्फकने समय कुरिरहेँ । घरमा सजाइएको सयपत्री फूल भने ओइलाइसकेको थियो ।

‘धेरै मानिसहरु खजाञ्चीलाई हेर्न जम्मा भएका थिए । तर, उनकी आमा उतै बसिन्’ उनका ठूला काका अश्राफी नाथले भने, ‘यादव उपहारहरु सहित आएका थिए । तर, उनले सबै फिर्ता लगे । उत्सवमा आउन नमानेर उनले यादवको अपमान गरिन् ।’

गाउँलेहरुका अनुसार खजाञ्ची जन्मिँदासम्म उनी ठीक थिइन् । र, त्यसपछि उनको माइतीका कारण स्थिति खराब भएको हो । खजाञ्ची त्यहाँ बसे आफ्नो गाउँको विकास हुने भएकाले सर्वेशाका माइतीले त्यसो गरेको गाउँलेहरुको आरोप थियो ।

गाउँलेहरुले अर्को राजनीतिक लडाईंको पनि संकेत गरे ।

सरदारपुरले यादवको समाजवादी पार्टीलाई समर्थन गर्छन् । तर, अनन्तपुर धौकलका माथिल्लो जातिका ठाकुरहरुले भाजपालाई समर्थन गर्छन् ।
एक स्थानीय मुलायम नाथका अनुसार यदि सर्वेशा देवी र्फकन चाहन्नन् भने उनी आफ्नो माइतमै बस्न सक्छिन् । तर, उनले खजाञ्चीलाई सरदारपुर पठाउनुपर्छ । उनी भन्छन्, ‘उ हाम्रो बच्चा हो, उ हाम्रो गाउँको बच्चा भएकाले सरकारको तर्फबाट दिइने फाइदा हामीले पाउनुपर्छ ।’

शशी देवी आउँदासम्म रात परिसकेको थियो । उनी भर्खरै बनाइएको नयाँ घरको अगाडि बसिन् र मैले उनीमाथि लागेको आरोपबारे कुरा गरें ।
‘त्यो सबै झुटो हो’, उनले भनिन्, ‘मैले बुहारीसँग कहिल्यै पनि पैसा मागिनँ । अरुले जे सिकायो, त्यो भनिरहेकी छिन् ।’

शशी देवीका अनुसार जब उनीका छोरा बिरामी भएर काममा जान सकेका थिएनन्, त्यतिखेर बुहारी सर्वेशा देवी र उनका पाँच बच्चाहरुलाई परिवारले नै पालेको थियो । उनको मृत्युपछि शशी देवीका श्रीमान र अरु छोराहरुले कमाएको पैसा सबैलाई भाग लगाइएको थियो ।

उनले आफूहरुले बुहारीमाथि हातपात गरेको आरोपको पनि खण्डन गरिन् । उनले त उल्टै आफूमाथि नै हातपात र दुव्र्यवहार भएको कथा सुनाइन् ।

‘म उनीहरुलाई फर्काउन दुईपटक उनको माइत गएँ । तर, उनीहरुले खजान्चीलाई लुकाए र त्यहाँका महिलाहरुले मलाई हातपात गरे’ शशी देवी भन्छिन् ।

शशी देवीले आफूहरुले सर्वेशा र नातिको ज्यान लिने धम्की दिएको आरोपको खण्डन गर्दै भनिन्, ‘कसरी हामी आफ्नी बुहारी र नातिको ज्यान लिन्छौं ?’

फर्कने बेलामा के अब फेरि सबैजना मिल्ने सम्भावना छ ? भनेर मैले सोधेँ ।

उनी त्यति आशावादी देखिइनन्, ‘मैले उनलाई तीनपटक भेटेर घर फर्किएर आउन र नयाँ घरमा बस्न भनेँ, तर उनी मानिनन् ।’

आफ्नो साडीको फेरले आँशुपुछ्दै शशी देवीले भनिन्, ‘पहिले मैले मेरो छोरा गुमाएँ । अहिले मैले मेरो नाति पनि गुमाएँ ।’

( गीता पाण्डेले तयार गरेको यो सामाग्री हामीले बीबीसीबाट अनुवाद गरेका हौं ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment