Comments Add Comment

ओरालो लागेका शाहरुखलाई ‘जिरो’ले जोगाउला ?

शाहरुख खान स्टारर फिल्म ‘जीरो’ प्रदर्शनको संघारमा छ । बलिउडको बिग बजेट फिल्म एकपछि अर्को चिप्लिदै गएको पृष्टभूमीमा शाहरुखको यो फिल्मलाई केही दवाब र केही अवसर पनि छ । शाहरुख आफै अहिले अधोगतिमा छन् ।
बलिउड बादशाहको पछिल्लो फिल्मयात्रा नराम्ररी ओरालो लाग्यो । यो सिलसिला उनकै होम प्रोडक्सन र महत्वकांक्षी फिल्म ‘रा वन्’बाट सुरु भएको हो । त्यसपछि आएका कुनै पनि फिल्मले शाहरुखको शाख जोगाइदिएन । चाहे ‘दिलवाले’ को कुरा गरौं या त ‘फ्यान’को ।

निकै पैसा खर्चेर निर्माण गरेको ‘रा वन्’ ले बक्स अफिसमा लोप्पा खाएपछि शाहरुखले आफैसँग चित्त बुझाउनका लागि यसो भनेका थिए, ‘यो मैले आफ्नो छोरोको लागि बनाएको फिल्म हो ।’ उनको भनाईको आशय के थियो भने, छोरोले चित्त बुझाए पुग्यो । अरु बालमतलब ।

यसैगरी उनले फिल्म ‘फ्यान’ का लागि पनि राम्रै मेहनत र अपेक्षा गरेका थिए । भिएफएक्स प्रविधिको भरपुर प्रयोग गरेर आफ्नो स्वरुपलाई नै फरक ढंगमा ढालेका शाहरुख आफ्ना फ्यानलाई परम्परागतभन्दा फरक स्वाद पस्कन चाहन्थे । तर, ‘फ्यान’ ले उनका फ्यानलाई भड्काइदियो । फिल्म औसतभन्दा कमजोर रह्यो । उनको यो प्रयोगले पनि सही ठाउँमा निसाना लगाएन ।

दर्शकको कोणबाट हेर्ने हो भने, शाहरुखलाई लभरब्वाईको रुपमा बढी रुचाइएको छ । हुन त करिअरको सुरुवात उनले नेगेटिभ रोलबाट गरे । त्यस्तै ‘ब्याड ब्वाई’ को छवीमा उनी हिट पनि भए । तर, करिअरको उत्कर्षमा उनलाई लभर ब्वाईकै रुपमा रुचाइयो । यही आवरणमा उनले थुप्रै फिल्म खेले । फिल्म सुपरहिट भयो ।

अक्सर सिल्भर स्क्रिनमा शाहरुखसँग काजोलको जोडी फलिफापयुक्त भयो । उनीहरुको केमेस्ट्री गजब मिल्यो । अनस्क्रिनको के कुरा, अफस्क्रिन पनि काजोल र शाहरुख अफेयरमा छन् भन्ने कुराले गसिप बजारलाई लामो समय तताइरह्यो ।

अजय देवगनसँग विवाह गरेलगत्तै काजोल पारिवारिक जीवनमा बढी तल्लिन भइन् । यसबीचमा दुई सन्तान हुर्काउने, बढाउने काममा खटिइन् । शाहरुखसँग उनको अनस्क्रिन दुरी बढ्यो । काजोलको अनुपस्थितीमा शाहरुख कहिले दीपिका पादुकोण त कहिले अनुष्का शर्मासँग रोमान्स गर्न थाले ।

पछिल्लो समय शाहरुख र काजोलले स्क्रिन शेयर गरे, फिल्म ‘दिलवाले’ मार्फत । वैंशालु उमेरले नेटो काटिसकेको अवस्थामा उनीहरुको लभ–रोमान्स कति सुहाउँला ? धेरैलाई जिज्ञासा थियो । अन्ततः यी वयस्क जोडीलाई दर्शकले त्यती रुचाएनन्, जति विगतमा रुचाइएको थियो ।

यसरी अनेक प्रयास र प्रयोग गरिरहँदा पनि फिल्मले अपेक्षाकृत सफलता हासिल गर्न नसकिरहेको पृष्टभूमीमा शाहरुख नयाँ कोसेली लिएर पेश हुँदैछन् । फिल्म ‘जीरो’ । भनिन्छ, शाहरुखको करियरकै महंगो फिल्म हो यो । फिल्म निर्माणको लागि भारु २ सय करोड खर्चिएको छ ।

फिल्ममा उनको हुलिया नितान्त फरक छ । घतलाग्दो कुरा त के भने, यही फिल्मबाट शाहरुख र सलमानको पुरानो दुश्मनीले बिट मारेको छ । शाहरुखको फिल्ममा सलमानलाई पनि देख्न सकिन्छ । फिल्म प्रमोशनका क्रममा पनि एकाध पटक उनीहरु दुवै एकसाथ देखिएका छन् । यससँगै स्वर्गिय अभिनेत्री श्रीदेवीलाई पनि फिल्मको पर्दामा देख्न सकिनेछ । श्रीदेवीको निधन हुनुअघि उनले जीरोमा अभिनय गरेकी थिइन् ।

फिल्मको नाम ‘जीरो’ राख्नुअघि यसको केही संभावित नाम जुराइएको थियो । जस्तो कि, बउआ, बौना, बटका, बंधुवा, अबटाला र क्याटरिना मेरी जान । पछिल्लो नाम ‘क्याटरिना मेरी जान’ लगभग फाइनल भइसकेको थियो । तर, यो नामले क्याटरिनाको फिल्म हो भन्ने अर्थ दिन्छ भन्ने लागेर नाम परिवर्तन गरियो ।

अझ रमाइलो त के भने, यो फिल्मका लागि सलमान खानलाई अफर गरिएको थियो । तर, कथा सुनेपछि उनले रिजेक्ट गरे । आखिरमा शाहरुख खान यसका लागि राजी भए । जबकी क्याटरिनालाई यस फिल्ममा अनुबन्धित गराउनमा सलमानकै हात छ । फिल्ममा शाहरुखलाई भन्दा अघि क्याटरिनालाई छनौट गरिएको थियो ।

‘जीरो’ले शाहरुखलाई हिरो बनाउँछ कि जीरो ? जवाफको लागि आगमी सुक्रवारसम्म कुर्नुपर्नेछ । यस फिल्ममा शाहरुखले मेरठको बउआ सिंहको भूमिका निर्वाह गरेका छन् । उनी बामपुड्को कदको देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment