Comments Add Comment

वीरगञ्जमा भारुको प्रभावः नोटको साटो ‘एटीएम’ बोक्न सुझाव

६ पुस, वीरगञ्ज । सामाजिक सञ्जाल फेसबुक चलाउँदै गर्दा वीरगञ्ज-११ श्रीपुरका प्रेम घिमिरेले सरकारले भारतीय २००, ५०० र २००० दरको नोटमा प्रतिबन्ध लगाउने निर्णय गरेको जानकारी पाए । त्यसको भोलिपल्टै उनले आफू र परिवारसँग भएको २ सय दरका २ वटा नोट भेला पारे ।

सहकारी संस्थामा दैनिक बचत गर्दै आएका घिमिरेले बचत संकलन गर्न आउने सहकारीको प्रतिनिधिलाई ती नोट थमाइदिए ।

भारतीय नोट नचल्ने जानकारी पाउनेवित्तिकै आफूसँग भएको नोट तह लगाइसकेकोमा उनी ढुक्क छन् ।

‘फेसबुक चलाउँदै थिए, नोटमा प्रतिबन्ध लागेको समाचार थाहा पाएँ । मसँग दुईवटा नोट थिए, सहकारीलाई दिइसकेको छु ।’ घिमिरेले भने ‘सायद सहकारीकी बहिनीलाई थाहा थिएन, त्यसैले लिएर गइन् । अब भारुको लेनदेन गरेको छुइनँ, ढुक्क छु ।’

घिमिरे वीरगञ्जको घण्टाघरदेखि पश्चिम सिडियो कार्यालय जाने बाटोमा मःमः, चाउमिन बेच्ने खाजा पसल चलाउँछन् । आफू एकचोटिलाई भारुको झन्झटबाट मुक्त भए पनि ग्राहक आएर झगडै गर्न खोज्ने गरेको उनले सुनाए ।

‘हिजै मात्रको कुरा हो, एकजना ग्राहकका साथमा आईसी ५ सय र २ हजार दरका नोट रहेछन् । मलाई दिन खोजे । मैले लिन मानिनँ, अब चल्दैन भनें’ घिमिरे भन्छन् ‘भर्खरै मेडिकल कलेजबाट लिएर आएको हुँ, किन चल्दैन भनेर उल्टै हकारे ।’

पसलमा आफू दिनहुँ यस्तै झमेलामा परिरहेको घिमिरेको गुनासो छ ।

भारुले ल्याएको नयाँ तरंग

नेपाल र भारत दुई छुट्टाछुट्टै देश भए पनि खुल्ला सीमानाका कारण सीमावर्ती क्षेत्रमा त्यस्तो महशुस हुँदैन । नेपाली र भारतीय नागरिक एक अर्काको देशमा विनारोकतोक सहजरुपमा आवत-जावत गर्दै आएका छन् । देशको सीमा छुट्टएि पनि दुई देशका नागरिकबीचको सम्बन्धलाई यहाँको सीमाले खासै छेकेको छैन ।

यो पनि पढ्नुहोस लौ हेर्नुहोस् नेपालमा प्रतिन्धित भारु !

दुई देशका बीचमा रोटीबेटीको सम्बन्ध छ । उताकी छोरी विवाह गरेर यता ल्याइन्छ, यताकी छोरीलाई उता विदाई गरिन्छ । सीमावर्ती क्षेत्रमा दुबैतिरको भेषभुषा, भाषा, संस्कृति, परम्परा, रहनसहन र चालचलन मिल्छ । नोटले यो सम्बन्धमा रसायनको काम गरिरहेको प्रतीत हुन्छ ।

मानिसलाई मात्रै होइन, सवारी साधन आवागमनमा समेत कुनै रोकतोक छैन । भारतबाट नेपाल आउने सवारीले वीरगञ्ज भन्सारमा अनुमति लिएपछि विनारोकटोक दिनभर चल्न पाउँछन् ।

तर, पछिल्लो केही दिनदेखि नेपाली बजारमा नयाँ बहसमात्रै होइन, नयाँ समस्या पनि सिर्जना भएको छ । नेपाल सरकारले भारतीय नयाँ नोट २ सय, ५ सय र २ हजार दरको नोटमा प्रतिबन्ध लगाएको छ । भलै, नेपाल सरकारले भारतीय १ सय रुपैयाँ र त्यो भन्दा कम दरका नोटमा भने प्रतिबन्ध लगाएको छैन ।

सरकारी निर्णयाको प्रभावस्वरुप देशकै प्रमुख नाका आर्थिक नगरी वीरगञ्जमा विभिन्न खाले चर्चा सुरु भएका छन् । वीरगञ्ज सीमावर्ती शहर भएका कारण अधिकांशसँग नेपालीसँग भारतीय रुपैयाँ हुन्छ । भारतीयहरुसँग त हुने नै भयो ।

अहिले नेपाल सरकारको प्रतिबन्धका बारेमा जानकारी पाएकाहरुले आफूसँग भएको रकम अरुलाई सुम्पिरहेका छन् । जसलाई जानकारी छैन, उनीहरु प्रतिबन्धित रुपैयाँ बोकेरै हिँडिरहेका छन् ।

प्रतिबन्धले असर नपर्ने दाबी

बिराटनगरस्थित आँखा अस्पतालमा भारू नोट गन्दै एक व्यक्ति ।

भारतीय सीमावर्ती शहर रक्सौलमा भारु सटहीका लागि किराना पसलै थापेजसरी पैसा बोकेर लस्करै भारतीयहरु बसेका देखिन्छन् । उनीहरुले नेपाली रुपैयाँ साटे वापत ‘बट्टा’ लिने गर्छन् । भारतमा नोटबन्दीका बेला ‘बट्टा’ १० रुपैयाँसम्म पुगेको थियो । अहिले दुई रुपैयाँ छ ।

नेपालमा भारतीय रुपैयाँ सटही गर्ने ठाउँ पर्याप्त छैनन् । नेपालमा केही बैंकले भारतीय एटीएम कार्डबाट सीमित नेपाली रुपैयाँ निकाल्न सक्ने सुविधा दिएका छन् । वैधरुपले नोट साट्न नपाउँदा अवैधरुपमा नोट साट्ने र अवैध कारोबार बढ्ने कतिपयको चिन्ता छ ।

स्थानीय बजारमा तत्काल अलि-अलि समस्या देखिए पनि खासै असर नपर्ने वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मा बताउँछन् । ‘नेपालका बैंकहरुले पनि भारतीय कार्डबाट निश्चित रकम निकाल्ने सुविधा दिएकै छन्, स्थानीय बजारमा शुरुमा अलिअलि असर पर्छ, ठूलो व्यापारमा खासै असर पर्दैन’ शर्माले अनलाइनखबरसँग भने, ‘सीमावर्ती बजारमा चाहिँ चल्न दिएको भए राम्रै हुन्थ्यो ।

नाम उल्लेख नगर्ने शर्तमा वीरगञ्जको एक पेट्रोल पम्पमा काम गर्ने कर्मचारीले पेट्रोलपम्पमा भारु प्रतिबन्धले कुनै असर नपरेको बताए ।

‘पेट्रोल पम्पमा त भारतीय रुपैयाँको लेनदेन निर्वाध चलिरहेको छ । ट्याङ्करले ती नोट लिएर गइहाल्छ’ उनले भने ‘सीमावर्ती क्षेत्रभन्दा अलि टाढाको मानिसलाई समस्या होला, हामीलाई त यसले कुनै असर पर्दैन ।’

वीरगञ्जको घण्टाघरमा राज साईकल स्टोर्स सञ्चालन गर्दै आएका राज सर्राफले पनि भारतीय रुपैयाँ प्रतिबन्धले खासै असर नपर्ने बताए । ‘हामी त पहिलेदेखि नै बैंकमार्फत कारोबार गरिरहेका छौं । भारतीय रुपैयाँको जरुरी नै पर्दैन’ उनले भने ‘यसमा प्रतिबन्ध लागेर केही असर पर्दैन ।’

भारु प्रतिबन्धको पृष्ठभूमि

नेपाल इन्भेष्टमेन्ट बैंक वीरगंज शाखा प्रमुख रोशनभक्त श्रेष्ठ भारतबाट नेपाल आउँदा नोटको साटो एटीम कार्ड बोकेर आउन सुझाव दिन्छन्

नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ ईन्डिया (आरबीआई) बीच भएको सम्झौता अनुसार सन् १९५७ देखि नै भारतको एक रुपैयाँ बराबर नेपालको १ रुपैयाँ ६० पैसा सटही दर कायम छ ।

नेपालको सीमावर्ती बजारमा पारम्परिकरुपमा नै भारतीय नोटलाई स्वीकार गरिँदै आएको छ । नेपालका अन्य शहरमा भारतीय १ सय रुपैयाँभन्दा माथिको नोट नचल्दा पनि सीमावर्ती बजारमा सबै नोट चलन चल्तीमा रहने गरेको छ ।

नेपाली र भारतीय नागरिकलाई एक अर्काको देशमा आउन-जान मात्रै नभएर रोजगारी गर्ने समेत छुट छ । भारतको फेमा कानून अर्थात फोरन एक्सचेन्ज मेनेजेन्ट एक्ट अन्तरगत नेपाल आउँदा एक व्यक्तिले २५ हजार भारतीय रुपैयाँ बोकेर आउन सक्छ ।

भारत सरकारकै आग्रहमा नेपालमा मे २०१४ मा भारतीय ५ सय र १ हजार दरका नोटको लेनदेनमा रोक लगाइएको थियो । फेरि अगष्ट २०१५ बाट यो प्रतिबन्ध हटाइएको थियो । सन् २०१६ को नोभेम्बरमा जब भारतले ५ सय र १ हजार दरका नोटको प्रयोगमा प्रतिबन्ध लगायो, नेपालमा संकलन भएर बसेका पुुराना भारतीय नोटहरु बदल्नका लागि विभिन्न चरणमा कुराकानी भए पनि भारत सहमत देखिएको छैन ।

यसैकारण भारतीय नोटमाथि प्रतिबन्ध लगाउने निर्णय आएको हुन सक्ने अनुमान भारतीय पक्षले लगाएको छ । नेपाल सरकारले भने प्रतिबन्ध लगाउनुको स्पष्ट कारण खोलेको छैन ।

मंसिर २४ गते नेपाल सरकार, मन्त्रिपरिषदले गरेको निर्णयमा ‘भारतीय रुपैयाँ २००, ५०० र २००० का नोटहरु ल्याउन वा साथमा राख्न गैरकानूनी हुने भएकाले ती नोटहरु चलनचल्तीमा नल्याउन, नबोक्न र नराख्न सूचना प्रकाशन गर्ने निर्णय गरिएको छ’ उल्लेख छ ।

होटल व्यवसायीको चिन्ता

चलन चल्तीमा रहेका भारतीय नोटहरुमा प्रतिबन्धमा लागेपछि सीमावर्ती क्षेत्रको व्यापार व्यवसाय नै प्रभावित हुने कतिपय बताउँछन् । नेपाली मात्रै होइन, नेपाल आउने भारतीयले समेत नोटबन्दीबाट समस्याको सामना गर्नुपर्नेछ । नेपाली बजारमा समान किनमेल गर्दा भारतीय रुपैयाँबाट सहजै किनमेल गर्न सकिन्थ्यो, होटलमा बास बस्दा पनि भारतीय रुपैयाँमा नै भुक्तानी गर्दा होटल व्यवसायीले स्वीकार गर्थे ।

यो पनि पढ्नुहोस भारुमा बहसः अर्थविद भन्छन्- ठीक भो, व्यापारी भन्छन्- गलत !

त्यसैले यो निर्णयको सबैभन्दा बढी प्रभाव होटल व्यवसायमा पर्ने होटल व्यवसायीहरुको तर्क छ । भारतीय पर्यटक नेपालमा आउँदा भारतीय रुपैयाँ नै बोकेर आउँछन् । उनीहरुले होटलमा बास बसेको र खाना खाजा खाएको रकम भारुमा नै तिर्ने गरेका छन् ।

होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष बुद्धि बहादुर पन्त (हरि) सरकारको नोटबन्दीको निर्णयले होटल तथा पर्यटन व्यवसायमा नकारात्मक असर पर्ने बताउँछन् । ‘सीमावर्ती शहर रक्सौलमा नेपाली रुपैयाँ साट्ने सटही काउन्टर छैन, भारतीय ग्राहक नेपाल आउँदा भारु ५००, २००० दरका नोट नै बोकेर आउँछन् ।’ उनले भने ‘सबैलाई यसबारेमा जानकारी नहुँदा र नेपाली रुपैयाँ साट्ने व्यवस्था नगर्दा धेरै समस्या हुन्छ ।’

विगतमा भारुमाथि प्रतिबन्ध लगाउँदा प्रहरीले होटलमा आउने भारतीय ग्राहकहरु खोजी-खोजी छापा मारेर भारतीय नोट बरामद गरेको स्मरण गर्दै उनले त्यसो गरेको खण्डमा होटल तथा पर्यटन व्यवसायीहरु मारमा पर्ने चिन्ता जनाए ।

एउटा होटलमा दैनिक ७/८ वटा भारु २००० दरका नोट संकलन हुने गरेकोमा पछिल्लो केही दिनयता घट्दै गइरहेको उनले सुनाए । वीरगञ्जमा संघमा आवद्ध ३१ र आवद्ध नभएका गरी झण्डै ४ दर्जन हाराहारीमा होटलहरु छन् ।

विज्ञहरु के भन्छन् ?

नेपाल इन्भेष्टमेन्ट बैंक वीरगंज शाखा प्रमुख रोशनभक्त श्रेष्ठ भारतबाट नेपाल आउँदा नोटको साटो एटीम कार्ड बोकेर आउन सुझाव दिन्छन् ।

भारतीय नागरिकले भिसा कार्ड लिएर नेपाल आए केही समस्या नहुने श्रेष्ठले अनलाइनखबरलाई बताए । ‘नोटबन्दी छ भनेर जानकारी नहुँदा समस्या हुने हो, भिसा कार्ड लिएर आउँदा एकपटकमा २० हजार गरी दिनमा ५ पटक १ लाखसम्म निकाल्न सक्छन्’ उनले भने ‘भारतमा काम गर्ने नेपाली कामदारहरुले पनि बैंकिङ प्रणालीमार्फत रकम पठाउँदा भैहाल्छ ।’

ठाकुरराम बहुमुखी क्याम्पसमा अर्थशास्त्रका प्राध्यापक इन्दुशेखर मिश्र सरकारले भारुमाथिको प्रतिवन्ध कडाइका साथ कार्यान्वयनमा ल्याउँछ भने मात्रै समस्या हुने बताउँछन् ।

‘विगतमा भारतीय ५०० र १००० दरको नोटमा पनि प्रतिवन्ध लागेकै थियो, तर नेपालको सीमावर्ती बजारमा चलन चल्तीमा थियो’ मिश्रले अनलाइनखबरसँग भने ‘सरकारले कडाइका साथ रोक लगाउँछ भने केही समय समस्या आउन सक्छ । किनकि सटहीको सहज व्यवस्था छैन ।’

नेपाल सरकारको यो निर्णयलाई भारतीय नागरिकले नकारात्मकरुपमा लिने भएकाले यसले भारतसँग चिसिएको नेपालको सम्बन्धलाई भने थप मलजल पुग्ने मिश्रको विश्लेषण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment