Comments Add Comment

सप्तरीमा नक्कली नागरिकताका १५ उजुरी

६ पुस, सप्तरी । भारतीयले नेपाली नागरिकता लिएको भन्ने विषयमा पटक–पटक चर्चामा आउने जिल्ला हो सप्तरी । सप्तरीमा प्रहरीले नक्कली नागरिकता बनाउने र बनाउन सहयोग गर्ने कतिपय व्यक्ति र गिरोहलाई नै पक्राउ गरेर मुद्दा चलाइसकेको छ । यद्यपी अहिलेसम्म नक्कली नागरिकताको मुद्दा किनारा लाग्न सकेको छैन ।

पछिल्लो समयमा सप्तरीबाट नक्कली नागरिकता बनाउने भारतीय र बनाउन सहयोग गर्ने सरकारी कर्मचारीहरु पनि पक्राउ परी कीर्ते मुद्दामा जेलमा छन् । यद्यपी अहिले पनि जिल्ला प्रशासन कार्यालयमा १५ वटा नक्कली नागरिकताको उजुरी परेको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले ती उजुरीमाथि अनुसन्धान भइरहेको बताए । ‘उजुरी आएपछि हामी अनुसन्धान गरिरहेका छौं’ उनले भने, “अनुसन्धान भएर किर्ते नागरिकता लिएको ठहर भएपछि त्यस्ता व्यक्तिलाई पक्राउ गरी कानुन अनुसार कारबाही गरिनेछ ।’

प्रमुख जिल्ला अधिकारी पौडेलले परेका उजुरीमध्ये सबैभन्दा बढी २०५२ सालअघि बनाएका नागरिकतासम्बन्धी छ । ‘२०५२ सालअघि कीर्ते गरी नागरिकता बनाएको उजुरी धेरै छ’ उनले भने, ‘हामी दु्रत गतिमा अनुसन्धान गरिरहेका छौं ।’

नक्कली नागरिकता दुईथरीका

सप्तरीमा नक्कली नागरिकता दुई प्रकारले बनाउने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार एउटा प्रकृया पूरा गरेका र अर्काे प्रक्रियामा नै नछिरी बाहिरबाटै नक्कली नागरिकता बनाउने गरेको पाइएको छ ।

प्रक्रिया पूरा गरेको सन्दर्भमा प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘कानुनतः सम्पूर्ण कागजात मिलाएर नागरिकता लिन्छन् । तर आमाबुवा नक्कली बनाएर पेश गरेका हुन्छन् ।’

नक्कली नाता जोडेर भारतीयहरुलाई नागरिकता बनाइदिने गरेको पाइएको उनको भनाइ छ । यस्तै छाप र दस्तखत किर्ते गरी कार्ड पनि नक्कली नै बनाएर नागरिकता बाहिरबाटै प्रदान गरिएको पाइएको उनको भनाइ छ ।

‘कुनै तरिकाले नागरिकता कार्ड अपचलन गरी छाप र दस्तखत कीर्ते गरेको हुन सक्छ’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘या त आफैं कार्ड प्रिन्ट गरेर नागरिकता दिएको हुन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment