Comments Add Comment

प्रदेश ५ मा भूमि व्यवस्था आयोग गठन गर्न माग

८ पुस, बुटवल । प्रदेशसभा ५ मा प्रदेश भूमि व्यवस्था आयोग तत्काल गठन गर्न गरिनुपर्ने माग उठेको छ ।

आइतबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै सत्तारुढ दल नेकपाका सांसद भोजप्रसाद श्रेष्ठले पार्टीले चुनावमा पनि सुकुम्बासीलगायत भूमिसंग सम्बन्धित समस्या यथाशीघ्र समाधान गर्ने वाचा गरेकाले आयोग गठनमा ढिला नगर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

उनले वैज्ञानिक ढंगले भूमि व्यवस्था गर्दै भूमिहीनलाई जग्गाको स्वामित्व नदिंदासम्म उत्पादन बढाउन नसकिने स्पष्ट पारे । चर्को बैंक ब्याजदर, विकास वजेट खर्च हुन नसक्नु र सुशासनको अभावमा उत्पादनमूलक क्षेत्रमा लगानी संकुचन भएकाले सुशासन कायम गर्न प्रदेश सरकारको ध्यान जानुपर्ने औंल्याए ।

संसद श्रेष्ठले भौतिक पूर्वाधार निर्माणमा पनि प्रदेश सरकार गम्भीर नदेखिएको गुनासो गरे । वैठकमा विशेष समय लिएर सत्तारुढ दल नेकपाकै सांसद उत्तरकुमार वलीले राप्ती अस्पतालको उपचार सेवा प्रभावकारी नभएको टिप्पणी गर्दै सुधार गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

प्रभावकारी उपचार सेवा र दक्ष जनशक्ति पनि नभएकाले दाङमा २ दिन अघि भएको बस दुर्घटनामा घाइते भएकाले राम्रो उपचार सेवा पाउन नसकी ठूलो मानवीय क्षति हुन पुगेको सांसद वलीले बताए ।

गम्भीर घाइतेहरुलाई अघिल्लो दिन नै हेलिकोप्टरबाट काठमाडौं लगेको भए ज्यान बचाउन सकिने तर एक दिन ढिला हुँदा घाइतेको ज्यान गएको वलीको भनाइ थियो ।

बैठकमा प्रदेश ५ जाँचबुझ आयोगको गठन र संघ–संस्थाहरुको दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश भएको छ । पेश भएका विधेयकबारे सांसदहरुले धारणा राख्ने र मन्त्रीले जवाफ दिएपछि निर्णयार्थ सभामा पेश हुने छ ।

अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा व्यवस्था तथा प्रदेश प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि बैठकमा पेश हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment