९ पुस, काठमाडौं । राष्ट्रिय गौरवको आयोजना मेलम्चीको मुख्य ठेकेदार इटालियन कम्पनी सिएमसीले ठेक्का सम्झौता रद्द गरेपछि उपठेकेदार कम्पनीहरू संगठित भएका छन् ।
सिएमसीबाट एक अर्ब ४० करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको भन्दै उनहरूले मेलम्ची खानेपानी आयोजना अन्तर्गत ठेकेदार सिएमसी पीडित समूह गठन गरेका हुन् ।
राजधानीमा सोमबार भएको ४४ वटा उपठेकेदारहरूको भेलाले इन्जिनियर श्रीराम न्यौपानेको संयोजकत्वमा सात सदस्यीय पीडित समूह गठन गरेका हुन । समूहको सदस्य सचिव विष्णुमणि आचार्य र सदस्यहरूमा दिनेश श्रेष्ठ, विशाल तातेड, किरण थापा, सुरेन्द्र सिग्देल र सतिश केडिया छन् ।
आफूहरूको सिएमसीबाट लिन बाँकी रकमका लागि सरकारले सहजकर्ताको भूमिका खेल्नुपर्ने समूहका संयोजक न्यौपाने बताउँछन् । सिएमसीसँगको सम्झौता नवीकरण नभएको अवस्थामा सरकारले धरौटीबाट भुक्तानी पाउने व्यवस्था गर्नुपर्ने उनीहरूको भाग छ ।
आयोजना छोडेर भाग्न लागेको भन्दै १ पुसमा प्रहरीले सिएमसीका प्रोजेक्ट म्यानेजर क्रिश्चियाने ग्रेचोसहित आठ जनालाई ठमेलबाट पक्राउ गरेका थिए । यद्यपि उनीहरूले पुनः नेपाल आउने शर्तमा स्वदेश फर्किसकेका छन् ।
प्रतिक्रिया 4