 
																			१८ पुस, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले आगामी वर्षदेखि वर्षातको समयमा पनि मेलम्चीको पानी बन्द नहुने गरी काम भइरहेको बताएका छन् ।
बिहीबार मन्त्रालयमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा मन्त्री यादवले प्रत्येक वर्ष वर्षातको समयमा मेलम्चीको पानी बन्द गरिँदै आएको भए पनि आगामी वर्षदेखि बन्द नगरी काठमाडौं उपत्यकाका नागरिकलाई बाह्रै महिना शुद्ध पानी खुवाउने गरी काम भइरहेको जानकारी दिए ।
विगतका वर्षमा वर्षा सुरु हुने बित्तिकै मेलम्चीबाट आउने पानी बन्द हुने गर्थ्यो, अब हामीले वर्षातको समयभरि नै मेलम्चीको पानी सुचारु गर्ने गरी काम भइरहेको छ,’ उनले भने, ‘आउँदो वर्षबाट बाह्रै महिना नै मेलम्चीको पानी वितरण गर्ने प्रणालीको विकास गर्ने काम अन्तिम चरणमा पुगेको छ । अब वर्षातको समयमा मेलम्चीको पानी बन्द गरिने छैन ।”
मन्त्री यादवले अहिले पनि नेपालका विभिन्न जिल्लाका नागरिकले डोकोमा पानी बोक्नु पर्ने अवस्था कायमै रहेकाले नागरिकले खानेपानी डोकोमा बोकेर जोहो गर्नु पर्ने अवस्थाको अन्त गर्नका लागि मन्त्रालयले ठोस कदम चालिरहेको बताए ।
उनले भने, “म नेपालका तराई, पहाड र हिमाली जिल्लाका विकट गाउँ बस्तीमा पुगिसकेको छु । कतिपय गाउँ त पानीका लागि बसाइँसराइ गर्नु पर्ने अवस्थामा छन् । ती क्षेत्रका नागरिकका लागि शुद्ध खानेपानीको व्यवस्था गर्न म ठोस कदम चाल्दै छु ।”
काठमाडौं उपत्यका सहित देशभरीका नागरिकलाई शुद्ध पानी वितरण गर्नका लागि मन्त्रालयले पछिल्लो समय खानेपानीका थुप्रै आयोजना अघि सारेको बताउनु हुँदै मन्त्री यादवले भने, ‘नागरिकलाई शुद्ध पानी खुवाउन मन्त्रालयले थुप्रै खानेपानीका आयोजनाहरु अघि सारेको छ ।
मेलम्ची नजिकै रहेको अर्को खोलाको पानी काठमाडौँ ल्याउने विषयमा पनि अध्यन सुरु भएको छ । सबैको पहुँचमा शुद्ध पानी पुर्याउँछु ।’
सोही क्रममा मन्त्री यादवले हाल मेलम्चीबाट आइरहेको खानेपानी कुनै कारणबस बन्द भएमा अथावा बन्द गर्नु पर्ने अवस्था आइपरे मकवानपुरको सिस्नेरी खोलाबाट १४ करोड लिटर पानी ललितपुरमा ल्याएर नागरिकलाई वितरण गर्नका लागि पनि गृहकार्य भइरहेको बताए ।
उनले भने, ‘हाल सम्म मेलम्चीको विकल्प मेलम्ची नै हो तर केही कारणवश मेलम्चीको पानी बन्द भएमा सिस्नेरी खोलाबाट १४ करोड लिटर पानी ललितपुरमा ल्याएर पनि नागरिकलाई वितरण गर्ने गरी काम गर्दैछौं ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4