Comments Add Comment

नेकपाका यी नेतालाई पार्टीभन्दा अमेरिका ठूलो !

९ पुस, काठमाडौं । पाँच महिनापछि बसेको नेकपाको स्थायी कमिटीको बैठकमा गरमा-गरम बहस चलिरहेका बेला दुईजना प्रभावशाली नेता भने अमेरिकामा घुमफिर गरिरहेका छन् । पार्टी नेतृत्वले बैठक नबोलाएको भनेर स्थायी कमिटी बैठकका लागि हस्ताक्षर अभियान समेत चल्न लागेपछि मंसिर अन्तिम साताबाट बैठक जारी छ ।

निकै महत्वपूर्ण मानिएको स्थायी कमिटी बैठकमा सदस्यहरुले बोल्ने क्रममा आइतबार अन्तिम दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि बोलेका थिए । उनी पनि बैठक शुरु हुँदा अमेरिकामा थिए । तर, घुमफिरका लागि होइन, अमेरिकी विदेशमन्त्रीको औपचारिक निम्तोमा वार्ता गर्न ।

नेकपाको स्थायी कमिटी बैठक चलिरहँदा स्थायी कमिटीका प्रभावशाली सदस्य जनार्दन शर्मा प्रभाकर र देवेन्द्र पौडेल भने अहिले अमेरिकामै छन् । उनीहरु राज्य र पार्टीको कामले भन्दा पनि निजी पारिवारिक कामका सिलसिलामा अमेरिका पुगेको नेकपा स्रोतले जनाएको छ ।

कर्णाली प्रदेशका इञ्चार्ज समेत रहेका शर्मा छोरीको बिहेका लागि अमेरिका पुगेका हुन् । उनकी छोरी कविताको बिहे आलोकप्रताप राणासँग तय भएको छ । अमेरिकामै आयोजना हुने वैवाहिक समारोहमा सहभागी हुन नेकपा नेता शर्मा सपरिवार न्युयोर्क पुगेका छन् ।

शर्मा इञ्चार्ज रहेको कर्णाली प्रदेशको रिपोर्टिङ उनको अनुपस्थितिका कारण स्थायी कमिटीमा हुन सकेन । अमेरिका जानुअघि उनले प्रदेश कमिटीको पहिलो बैठक सुर्खेतमा राखेका थिए । तर, सो बैठक सहइन्चार्ज यमलाल कँडेलसहित करीव दुई दर्जन प्रदेश कमिटी सदस्यहरुले अघोषित बहिस्कार गरेका थिए ।

माओवादी जनयुद्धकालका केही घाइते लडाकूहरु उपचार र राहत माग गरेर माइतीघरमा अनसन बस्नेक्रममा गम्भीर बिरामी परेर अस्पताल भर्ना भएका छन् । तर, जयुद्धकालका सैन्य कमाण्डरसमेत रहेका शर्मा आफ्ना पूर्वसहयोद्धाको माग सम्बोधन नगरी पार्टीको महत्वपूर्ण बैठकसमेत छाडेर अमेरिका सयरमा रहेको भन्दै नेकपाभित्र उनको आलोचना भइरहेको छ ।

‘जनताका छोराछोरीलाई युद्धमा लडाएर बलिदान गर्न उक्साए । सयौं जनताका छोराछोरी घाइते र अपांग छन् । तर, नेताका छोराछोरी अमेरिकामा पढ्दछैन् । अब त विहे समारोह पनि नेपालमा होइन, अमेरिकामै हुन थाल्यो’ वीर अस्पतालमा उपचाररत एक अपांग लडाकूहरुले भने ‘हामीले आधारभूत अधिकार पनि पाएनौं’ ।

पौडेल पनि अमेरिकामै

स्थायी कमिटीका अर्का सदस्य देवेन्द्र पौडेल छोरी गरिमाको दीक्षान्त समारोहमा भाग लिन अमेरिका पुगेका छन् । गरिमाको दीक्षान्तका लागि पौडेल दम्पत्तीनै अमेरिका पुगेको नेकपा स्रोतले जनाएका छन् ।

पौडेलले आफ्नो अमेरिका भ्रमणको कार्यक्रम तय भएपछि स्थायी कमिटी बैठकको मिति तय भएको भन्दै बैठकमा भाग लिन नपाएकोमा फेसबुकबाटै दुःख व्यक्त गरेका छन् ।

पूर्वमाओवादी नेता एवं वन मन्त्री शक्ति बस्नेतकी छोरी पनि अमेरिकामै अध्ययनरत छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment