११ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा आज यस वर्षको अहिलेसम्मकै धेरै जाडो महसुस गरिएको छ । मौसम विज्ञान विभागले बुधबार विहान ८ः४५ बजे गरेको मापनअनुसार काठमाडौं उपत्यकाको तापक्रम १.५ डिग्री सेल्सियस छ । १.५ डिग्री तापक्रम यस वर्षको अहिलेसम्मकै कम हो ।
मौसमविद मिनकुमार अर्यालका अनुसार बिहान ६ बजे २ डिग्री सेल्सियस मापन गरिएको तापक्रम ८ः४५ बजे झन् घटेर १.५ मा पुगेको हो । उनले भने, ‘कहिलेकाहिँ क्लियर डे (आकाश सफा देखिएको बेला) र हल्का हावा चलेको बेलामा बिहानैभन्दा केही घण्टापछि तापक्रम झन् घट्छ र चिसो महसुस हुन्छ । आज त्यस्तै भएको हो ।’
जुम्लामा भने सबैभन्दा चिसो छ । त्यहाँको तापक्रम माइनस ८ डिग्री सेल्सियस छ । डडेलधुराको ०.७ र दिपायलको १.८ डिग्री सेल्सियस तापक्रम छ ।
अर्याल भन्छन्– तापक्रम माइनसमा नजाला भन्न सकिँदैन
हिउँदे वर्षा भयो भने काठमाडौं उपत्यकाको तापक्रम अझै घट्न सक्ने अनुमान गरिएको छ । मौसमविद अर्यालले अनलाइनखबरसँग भने, ‘हामी क्लाइमेक्समा छौं । हिउँदे वर्षा भइदियो भने तापक्रम शून्यसम्म झर्न सक्छ ।’ तर हिउँदे वर्षा नभएमा भने शून्य र एकको बीचमै तापक्रम रहनसक्छ ।
यसअघि सन् १९७८ मा काठमाडौं उपत्यकाको तापक्रम माइनसमा झरेको थियो । त्यसपछि काठमाडौंमा शून्यभन्दा तल झरेको रेकर्ड छैन ।
‘पानी पर्दियो भने माइनस, जिरोमा नजाला भन्न पनि सकिँदैन,’ उनले भने ।
हिउँदे वर्षाको सम्भावना कति ?
हिउँदे वर्षाको सम्भावना भने तत्काल नदेखिएको मौसमविद अर्याल बताउँछन् । देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ । अन्य स्थानहरुमा मौसम सामान्यतया सफा छ । देशको पश्चिमी तथा मध्य उच्च हिमाली क्षेत्रका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।
बिहीबार दिउँसो भने पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहि पश्चिमी पहाडी भूभागका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद अर्यालले जानकारी दिए । अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने देखिन्छ ।
प्रतिक्रिया 4